सुरेन्द्र पौडेल, पोखरा । कास्कीको रुपाकोट रिसोर्टले अबको पाँच वर्षभित्र एक हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । रिसोर्टको छैटौं वार्षिकोत्सवको अवसरमा बोल्दै सञ्चालक पुष्पराज अधिकारीले पाँच वर्षभित्र रुपाकोटमा एक हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको बताए ।
‘रुपाकोट अथाह सम्भावना भएको स्थल हो,’ उनले भने, ‘एक हजार जनालाई रोजगारी सिर्जना गर्नेगरी हामीले विभिन्न प्रोजेक्टहरुको काम अगाडि बढाइरहेका छौं ।’ अधिकारीको नेतृत्वमा अहिले रुपाकोट रिसोर्ट सञ्चालन भइरहेको छ । स्विइङ पार्क, होटल म्यानेजमेन्ट कलेज, तोरीबारी वेलनेस रिसोर्ट, रुपाकोट टुर्स एण्ड ट्राभल्स लगायतका प्रोजेक्ट पाइपलाइनमा रहेको उनले जानकारी दिए । रिसोर्टले अहिले करिब सय जनालाई रोजगारी दिइरहेको छ ।
रिसोर्टको वार्षिकोत्सवको अवसरमा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपाकोटमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । ‘लगानीको सुरक्षा गर्ने काम गाउँपालिकाले गर्छ,’ उनले भने । रुपाकोटको विकासमा रुपाकोट रिसोर्टको योगदान महत्वपूर्ण रहेको उनले बताए ।
रुपा र बेगनास तालको दृश्यावलोकनका लागि मात्रै होइन खोला, गाउँ, वन र हिमालयको मनोरम दृश्य अवलोकनका लागि पनि कास्कीको रुपाकोट रिसोर्ट पर्यटकको आकर्षक गन्तव्य बनेको छ । रिसोर्टले पर्यटकलाई आकर्षित गरेसँगै निरन्तर लगानी विस्तारसमेत गरिरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सञ्चालित रुपाकोट रिसोर्टले २५ वटा कोठा थप गर्दैछ । यस अगाडि रिसोर्टमा ४२ वटा कोठा थिए । अब रिसोर्टले ६७ वटा कोठाबाट पर्यटकलाई सेवा प्रदान गर्ने सञ्चालक अधिकारीले बताए ।
रिसोर्टमा लवी र रिसेप्सनलाई फराकिलो बनाउने काम भइरहेको छ । ‘करिव ५० हजार स्क्वायर फिट थप संरचना निर्माण भइरहेको छ,’ उनले भने । २ वटा रेष्टुरेन्ट, स्पा, साउना, मेडिटेसन हल, योगा हल, जिम हल, स्विमिङ पुलसहित पाँच तारे होटलमा चाहिने सम्पूर्ण सेवा पर्यटकलाई प्रदान गरिने अधिकारीले जानकारी दिए । थप संरचना निर्माण भइसक्दासम्म रिसोर्टमा एक अर्ब १० करोड रुपैयाँ भन्दा बढी लगानी हुने बताइएको छ ।
‘रुपाकोट पोखराबाट धेरै टाढा छैन,’ सञ्चालक अधिकारी भन्छन्, ‘शान्त वातावरणमा सुन्दर दृश्यहरु अवलोकन गर्दै रमाउन चाहने पर्यटकका लागि रुपाकोट रिसोर्ट आकर्षक गन्तव्य बनेको छ ।’ रिसोर्ट २ सय रोपनी जग्गामा फैलिएको छ । रुपाकोटमा जन्मिएका अधिकारीले आफ्नो जन्मथलोमा केही गर्ने सोचका साथ रिसोर्टमा लगानी गरेको बताउँछन् । रिसोर्ट रोयल ट्रेकको रुटमा पर्छ ।
Comments are closed.