बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गरिँदैछ ।
“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने नारासहित सञ्चालन हुने यो प्रदर्शनी स्वदेशी उत्पादन, कृषि, पर्यटन तथा नयाँ प्रविधिको प्रवर्द्धनमा केन्द्रित हुनेछ । संघले २०४५ सालमा नेपालमै पहिलोपटक औद्योगिक प्रदर्शनी आयोजना गरेको र २०५३ सालदेखि निरन्तरता दिएर १६औं संस्करणसम्म आइपुगेको जनाएको छ ।
भर्खर निर्माण सम्पन्न आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा १० वटा अलग–अलग पेभिलियन रहनेछन्, जसमा उद्योग, कृषि, हस्तकला, पर्यटन तथा सूचना प्रविधिलगायतका स्वदेशी उत्पादन र नवीन प्रविधिहरू प्रदर्शन गरिनेछ । महोत्सवको मुख्य उद्देश्य स्वदेशी उत्पादनको प्रदर्शन तथा बजार विस्तार, मेक इन नेपाल स्वदेशी अभियानलाई सुदृढ बनाउने, युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने, र नयाँ औद्योगिक अवसरहरूको खोजी गर्ने रहेको छ ।
प्रदर्शनीमार्फत उत्पादक, उपभोक्ता, विज्ञ तथा सरकारी निकायबीच अन्तरसम्वादको वातावरण निर्माण गरिनेछ भने निर्यातमुखी उद्योग पहिचान र प्रवर्द्धनमा पनि यसले टेवा पुर्याउने आयोजकले जनाएको छ। करिब ५०० स्टल समेटिने अनुमान गरिएको यस प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोवार हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीलाई आकर्षक बनाउन लोकदोहोरी, आधुनिक गीत–सङ्गीत, हास्य प्रस्तुति, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय वक्तृत्व प्रतियोगिता, लोकभजन प्रतियोगिता, प्रदर्शनी आइडललगायतका कार्यक्रममा आयोजना गरिनेछ । प्रदर्शनी सफल सञ्चालनका लागि १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, विशेष मूल्यांकन समिति तथा ३० उपसमितिहरू गठन गरिएको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सञ्चार माध्यमबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास संघले व्यक्त गरेको छ र महोत्सवको सफलताका लागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको जनाएको छ ।




Comments are closed.