किएभ । रूस र युक्रेन बीच जारी युद्ध अब केवल सैनिकहरूको प्रत्यक्ष भिडन्तमा सीमित नभई उच्च प्रविधियुक्त ‘हाइटेक’ द्वन्द्वमा परिणत हुँदै गएको छ ।
आकाशमा जासुसी तथा आत्मघाती ड्रोनको प्रयोग बढेसँगै युक्रेनले अब युद्धमैदानमा सशस्त्र रोबोट (अनक्रुड ग्राउन्ड भेहिकल्स–UGVs) को प्रयोग तीव्र बनाउने तयारी गरेको जनाएको छ ।
युक्रेनी सेनाको के–२ ब्रिगेडका अनुसार यस्ता मानवरहित रोबोटहरूले रुसी आक्रमण विफल पार्ने, विस्फोटक पदार्थ बोकेर शत्रुका संरचना ध्वस्त पार्ने तथा केही अवस्थामा शत्रु सैनिकलाई नियन्त्रणमा लिनेसम्मका कार्य गरिरहेका छन् । के–२ ब्रिगेडका अधिकारी ओलेक्सान्द्र अफनास्येभ का अनुसार संसारमै पहिलो पटक युक्रेनले रोबोटहरूको छुट्टै गणसमेत गठन गरेको छ ।
यी रोबोटहरूमा कलाश्निकोभ मेसिनगन जडान गरिएको हुन्छ र मानिस पुग्न जोखिमपूर्ण स्थानमा पुगेर आक्रमण गर्न सक्षम छन् । ब्याट्रीबाट चल्ने भएकाले जमिनमा चल्दा आवाज कम आउने हुँदा शत्रुलाई आक्रमणको पूर्व संकेत पाउन कठिन हुने बताइएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार केही स्थानमा त मानव सैनिकको प्रत्यक्ष सहभागिता बिना नै रुसी र युक्रेनी रोबोटहरूबीच भिडन्तसमेत भएको दाबी गरिएको छ ।
यद्यपि रोबोटबाट हुने आक्रमणको अन्तिम निर्णय भने सुरक्षित स्थानमा रहेका अपरेटरहरूले नै लिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय मानवीय कानुनका कारण रोबोटलाई स्वतन्त्र रूपमा गोली चलाउने पूर्ण अधिकार दिइएको छै न।
पूर्व युक्रेनी सेनाप्रमुख भ्यालेरी जालुज्नी का अनुसार हाल यी रोबोटहरू सामग्री ढुवानी तथा घाइते सैनिकको उद्धारमा बढी प्रयोग भइरहेका छन्, तर आगामी दिनमा युद्धमैदानमा यसको भूमिका अझै बढ्ने अनुमान गरिएको छ ।
युक्रेनले जनशक्ति अभाव झेलिरहेका बेला सैनिकको ज्यान जोगाउन रोबोटिक प्रविधि उपयोगी सावित भएको बताइएको छ । उता रूसले पनि ‘कुरियर’ र ‘लिगुस्का’ नामका आफ्नै रोबोट प्रणाली विकास गरी प्रयोग गरिरहेको जनाइएको छ ।
विश्लेषकहरूका अनुसार युद्धमैदानमा मानवरहित रोबोटको बढ्दो प्रयोगले भविष्यमा युद्धको स्वरूप नै परिवर्तन हुन सक्ने संकेत गरेको छ ।






Comments are closed.