‘वित्तीय सुशासनमा विशेष ध्यान दिएका छौं’ (अन्तर्वार्ता)

सविना वाग्ले, प्रवन्ध निर्देशक, आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि.

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ मूल मन्त्रका साथ चैत २० गते देशभर ६५औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । सहकारी दिवसको पूर्व सन्ध्यामा आधारभूत बहुउद्देश्यीय सहकारी संस्था काठमाडौंका प्रवन्ध निर्देशक सविना वाग्लेसँग सहकारीका विषयमा केन्द्रित कुराकानी गरेका छौंः

आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाको वित्तीय अवस्था कस्तो छ ?

२०७४ असार २५ गते स्थापना भएपश्चात चार वर्षको अन्तरालमा नै संस्थाले आफ्नो कारोबार निरन्तर बिस्तार गर्न सफल छ । सदस्यहरुको सुबिधाको लागि ३ वटा सेवा कार्यालयमार्फत वित्तीय सेवा उपलब्ध गराउदै आएका छौं । हाल संस्थाको कारोबार करिब ५० करोड छ । सदस्यहरुको व्यावसायिक उत्थानमा हातेमालो गर्दै करिब ३५ करोड कर्जा प्रबाह गरेका छौं । संस्था मजबुत हुनको लागि आन्तरिक कोष बलियो हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै वित्तीय सुशासनमा विशेष ध्यान  दिएका छांै । यसरी समग्रमा भन्नुपर्दा छोटो समयमा संस्थाले गरेको वित्तीय प्रगति सन्तोषजनक छ ।

सहकारीले कुन–कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आइरहेको छ ?

हामी बहुउद्देश्यीय सहकारी संस्था भएको नाताले ‘आधारभूत बहुउद्देश्यीय कृषि फर्म’  मार्फत कृषिको उत्पादनमुखी कार्यमा अग्रसर भएका छौं । यसबाट उत्पादन भएका सामग्रीहरु सुपथ मूल्यमा हाम्रा सदस्यहरु र बजारमा उपलब्ध गराउने प्रयत्न गरेका छौं । ‘आधारभूत इन्भेष्टमेन्ट कम्पनी’ द्वारा समेत अन्य क्षेत्रतर्फ विभिन्न संस्थासंग साझेदारी एवं एकल लगानीको लागि गृहकार्य भएको हुँदा यी सबै विषयबाट संस्थाको विनियम, बहुउद्देश्यीय सहकारीको लक्ष्यलाइ सार्थक बनाउन हाम्रो योगदान रहने गरी बचत र ऋणसंगै उत्पादनसंग जोडिन विभिन्न कामहरु गर्ने योजना बनाएका छौं ।  संस्थाले आधारभूत पतंजली पसलको नाममा पतंजलीका विभिन्न सामान एवं खाद्यान्न सामग्रीहरु सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएका छौं । साथै सदस्यहरुको व्यवसाय प्रबद्र्धनका लागि उचित ब्याजदरमा व्यावसायिक क्षेत्रमा कर्जा लगानी गरिरहेका छौं ।

सहकारीमा आबद्ध सेयर सदस्यहरुको हकहितका क्षेत्रमा के-कस्ता कार्यक्रम ल्याउनुभएको छ ?

सीमित श्रोत, साधन, पुँजी र सदस्य लिएर सुरुवात भएको सहकारीले छोटो समयमा नै काठमाडौं महानगर क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल हुनु सम्पूर्ण शेयर सदस्यको लागि गौरव गर्न लायक विषय हो । ‘मेम्बर फस्ट’ तथा ‘सदस्य सेवा आधारभूत प्राथमिकता’ संस्थाको मूल मन्त्र नै हो ।  सदस्यहरुको आवश्यकता अनुसार संस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने विषयलाई मनबाट नै कार्यान्वयन गर्नेतर्फ संस्था  लागिपरेको छ । संस्थालाई व्यवस्थित रुपमा अगाडि बढाउन नयाँ–नयाँ प्रविधिको प्रयोग, उद्यमशीलता विकास कार्यक्रम एवं बालबालिका, युवा र महिला केन्द्रित विभिन्न कार्यक्रमहरु तर्जुमा गरिरहेका छौं । संस्थाको चौतर्फी विकासको लागि नीति, विधि र प्रविधिमा जोड दिई जगेडा कोषमा आधारित संस्था बनाउन अगाडि बढिरहेका छौं । संस्थाले संचालन गरेको आधारभूत पतंजली पसलबाट विभिन्न सामान एवं खाद्यान्न सामग्रीहरु खरिद गर्दा विशेष छुटको व्यवस्था गरेका छौं । विभिन्न पोलि क्लिनिकसंग सहकार्य गर्दै त्यहाँबाट प्राप्त हुने सेवाहरुमा समेत सदस्यलाई छुटको व्यवस्था मिलाउन लागेका छौं । ऋणी सदस्यलाई कर्जाको बिमा गराउने योजना समेत अघि बढाएका छौं ।

कोभिड महामारी पछि सहकारीले भोग्नुपरेका समस्याहरु के-के छन ?

हाल नेपालमा करिब ३० हजार भन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा छन् । करिब ७५ लाख जनसंख्या सहकारीमा आवद्ध छन् । १ लाख जनशक्तिले सहकारीमा रोजगारीको अवसर पाएका छन् । नेपालको कूल ग्राहस्थ उत्पादनमा करिब ५ प्रतिशत र १७ प्रतिशत वित्तीय क्षेत्रमा सहकारी क्षेत्रको योगदान  देखिन्छ । कोभिडको समयमा राज्यले गरेको बन्दाबन्दीमा बैंक तथा वित्तीय क्षेत्र ढोका बन्द गरेर बस्दै गर्दा सहकारी संघ संस्थाहरुले जोखिम मोलेर कार्यालय खोली आफ्ना सदस्यहरुलाई सेवा प्रबाह गरेका थिए । हामी पनि सेवामा खटियौं । त्यसैले सबै वर्गको लागि सहकारी आत्मीय बनेर झन् दरिलो हुँदै गएको मैले महसुस गरेको छ । तर, राज्यको सहकारीलाई हेर्ने दृष्टिकोण भने परिवर्तन हुन सकेको छैन । जसले गर्दा सहकारीको महत्व झन् बढेर जानुपर्नेमा उपेक्षित बनिरहेको आभास भएको छ । कोभिड–१९ पछि सहकारी क्षेत्रमा ठूलो प्रभाव परेको छ । देशको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । बजार अस्त व्यस्त भएको छ । सरकारको परिबर्तित नीतिको कारण व्यवसायीहरु मारमा परेकाछन् । जसको प्रत्यक्ष अप्रत्यक्ष असर सहकारी क्षेत्रमा पर्न गएको छ । सहकारी ऐन तथा नियमावली र भर्खरै मात्र जारी भएको ८८ बुँदे निर्देशनको कारण पनि सहकारीको मर्म अनुसार काम गर्ने अवस्था छैन । झन् सन्दर्भ व्याजदरको कारणले त सम्पूर्ण सहकारी क्षेत्र, सहकारी अभियान, सहकारी आन्दोलनलाई नै चुनौती थपिरहेको छ । हाल देशको अर्थतन्त्र नै धरापमा परेको अवस्था र तरलता अभाब त छदैछ बैंक तथा वित्तीय संस्थाले निरन्तर रुपमा गरेको ब्याजदर बृद्धि र सहकारीप्रति सरकारको नीतिले गर्दा धेरै सहकारीका सदस्यहरुले संस्थाको बचत निकाली बैंकमा जम्मा गर्नुले सहकारीहरु थप मारमा परेका छन् । यसर्थ कतै यहि अवस्था विद्यमान रहेमा सहकारी आन्दोलन नै धरापमा पर्ने त होइन भन्ने प्रश्न चिन्ह खडा भएको छ । हालको लागि  मुख्य रुपमा धेरै सहकारी संस्थाहरुलाई तरलता अभाब र व्यवस्थापन चुनौतीको विषय बनिरहेको छ ।

सहकारीको आगामी योजनाहरु के-के छन् ?

आधारभूत बहुउदेश्यीय सहकारी संस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने हाम्रो लक्ष्य  छ । निकट भविष्यमा एटिएम, मोबाइल बैंकिङ लगायतका सुविधाहरु थप गरी सदस्यहरु माझ उपलब्ध गराउनेतर्फ नीतिगत कार्य गरिरहेका छौं । उत्पादनसंग जोडिनको लागि संस्थाले कृषि फार्म स्थापना गरेको र अन्य प्रकृया अगाडि बढिरहेको छ । दुग्ध डेरी स्थापनाको लागि आवश्यक गृहकार्य गर्दै सहकारीको अर्थ बचत तथा ऋण मात्र नभई अन्य उत्पादन मुलक कार्य समेत गर्ने हो भन्ने उदाहरणको रुपमा आफूलाई परिचित गराउने अभियानमा छौं । देश भित्रका विभिन्न संघ-संस्थाहरुको अध्ययन अवलोकनका साथै राष्ट्रियस्तरमा सञ्चालित गोष्ठीहरु, रास्ट्रिय स्तरमै पनि विभिन्न फोरमहरुमा भाग लिने र त्यहाँको सिकाइहरुलाई आत्मसात गर्दै संस्थामा व्यवहारिक हिसाबले प्रयोग गर्नेछौं । आगामी दिनमा हाम्रा ध्येय (मिसन) ‘सदस्य सेवा आधारभूत प्राथमिकता’, ‘मेम्बर फस्ट’ नारालाई सार्थक बनाउन उत्कृष्ट र गुणस्तरीय वित्तीय सेवामार्फत सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तरमा सुधार ल्याउने रहेको छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण छ । यो क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ । सहकारीलाई हेर्ने राज्यको दृष्टिकोणमा परिवर्तन आवश्यक छ । अहिले हात खुट्टा बाधेर दौड भन्ने खालको राज्यले गरेको व्यवस्था सहकारीले पालना गर्न सक्ने अबस्था छैन । त्यसैले ऐन कानुनमा आवश्यकता अनुसार संसोधन गरी नीतिगत सुधारमा तत्काल राज्यको ध्यान पुग्नुपर्यो । सहकारीमैत्री ऐन नियम लागु हुनुपर्ने देखिन्छ । विशेष गरी बहुउद्देश्यीय प्रकृतिका सहकारी र बचत तथा ऋण सहकारीको बिचमा जुन खालको विभेद र कार्यान्वयन नै गर्न नसकिने प्राबधानहरु राखिएका छन् तत्काल ती विषयमा सम्बोधन हुन जरुरी छ । हाल विद्यमान तरलता अभावको समस्या समाधानको लागि राज्य, सहकारी अभियान र संस्थाका सदस्य स्वयम पनि जिम्मेवार बनेर अगाडि बढ्ने र थप योजना निर्माण गर्न सकेमा यो बिकराल समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ । यो वर्षको सहकारी दिवसको नाराले सहकारी व्यवसायलाई पनि मर्यादित र प्रविधिमैत्री बनाई  दीगो विकास र समृद्धिका लागि सम्भावना तथा चुनौतीको पहिचान गरी सहकारी क्षेत्रलाई उत्पादनसंग जोड्दै समुन्नत देश निर्माणमा सम्पूर्ण सहकारी अभियान अगाडि  बढ्नेछ भन्ने आशा लिएको छु । अन्त्यमा ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर मेरो व्यक्तिगत र संस्थाको तर्फबाट सम्पूर्ण सहकारी अभियन्ता र संस्थाका सदस्यहरुलाई शुभकामना व्यक्त गर्दछु ।

lcci
You might also like

Comments are closed.