एफसी चितवनका अध्यक्ष युवा उद्यमी सचिन रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । फुटबल क्लब चितवन (एफसी चितवन) का अध्यक्ष सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएका छन् । खेलकुद, पर्यटन र हस्पिटालिटी व्यवसायमा सक्रिय ढकाललाई रास्वपाले खस आर्य क्लस्टरको दोस्रो नम्बरमा राखेको हो । उनी आगामी प्रतिनिधिसभा निर्वाचत पछि सांसद बन्ने पक्का जस्तै भएको छ ।

युवा व्यवसायी ढकाल पछिल्लो समय पर्यटन र हस्पिटालिटी क्षेत्रमा आक्रामक रूपमा विस्तार भइरहेको ‘इला कम्फर्ट’ होटल शृंखलाका सञ्चालक समेत हुन् । युवाहरूका माझ लोकप्रिय ढकाललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको ‘कोटा’बाट रास्वपाको सूचीमा समेटिएको बताइएको छ ।

एफसी चितवनमार्फत फुटबलको विकास र व्यावसायिक प्रवद्र्धनमा सक्रिय ढकाल हस्पिटालिटी क्षेत्रमा सफल व्यवस्थापनको पहिचान समेत बनाएका छन् । युवा परिचालन र सामाजिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका उनी रास्वपाको समानुपातिक सूचीको खस आर्यतर्फ दोस्रो स्थानमा परेसँगै अब राजनीतिमा पनि सक्रिय भएका छन् ।

पर्यटन र खेलकुदलाई व्यावसायिक रूपमा जोड्न सफल ढकालको राजनीतिक यात्रालाई अर्थ–राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । विशेष गरी युवा उद्यमीहरू नीति निर्माण तहमा पुग्नुपर्ने बहस भइरहेका बेला ढकालको उम्मेदवारीलाई अर्थपूर्ण मानिएको हो ।

You might also like

Comments are closed.