समानुपातिक सूचीबाट सचिन ढकालले फिर्ता लिए नाम, स्वदेशमै उद्यमशीलता गर्ने अठोट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचनको बन्दसूचीमा समावेश भएका युवा उद्यमी एवं एफसी चितवनका अध्यक्ष सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै उनले व्यक्तिगत कारणवश यस पटक उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिनले आफ्नो शिक्षा र ज्ञानलाई स्वदेशमै उद्यमशीलतामा रुपान्तरण गर्ने अठोटका साथ यो निर्णय लिएको बताएका छन् ।

स्वदेशमै सम्भावना खोज्दै सचिन

ढकाल विदेशमा अध्ययन पूरा गरेपछि त्यहाँका आकर्षक अवसरहरू त्यागेर स्वदेश फर्किएका युवा हुन् । ‘आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ भन्ने मेरा पिताजीको प्रेरणाबाट म उद्यमशीलतामा लागेको हुँ,’ उनले भनेका छन् ।

नेपाली अर्थतन्त्र, खेलकुद र पर्यटन क्षेत्रमा सक्रिय ढकालले वार्षिक ५ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई चिर्न स्वदेशमै अवसरहरू सिर्जना गर्नु आवश्यक रहेको उनले औंल्याए । युवा उद्यमशीलता प्रवद्र्धनका लागि नवीन सोच र प्रतिबद्धताका साथ अघि बढ्ने उनले बताए ।

पारिवारिक विरासतभन्दा नवीनतामा जोड

आफ्नो पारिवारिक पृष्ठभूमि व्यावसायिक भए पनि आफू परम्परागत व्यवसायको निरन्तरतामा मात्र सीमित नहुने उनले बताएका छन् । ‘कुनै व्यावसायिक घरानाको सन्तान हुनु र देश विकासमा योगदान गर्छु भन्नु नराम्रो होइन,’ उनले भनेका छन्, ‘‘मैले पारिवारिक अवसर लिएर मात्र होइन, आफैले हासिल गरेको शिक्षालाई व्यवहारमा उतार्दै चुनौतीपूर्ण र नवीन काममा आफूलाई खार्ने प्रयत्न गरिरहेको छु ।’

सुशासन र समुन्नत नेपाल निर्माणको अभियानमा साथ

तत्कालका लागि समानुपातिक सूचीबाट नाम फिर्ता लिएपनि सुशासन र समुन्नत नेपाल निर्माणको अभियानमा आफ्नो साथ र सहयोग सदैव रहने ढकालले स्पष्ट पारेका छन् । आगामी दिनहरूमा राष्ट्र र समाजको हितका लागि राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे । ढकाल हाल एफसी चितवनको अध्यक्ष हुन् । नेपाली खेलकुद र हस्पिटालिटी क्षेत्रको विकासमा उनी सक्रिय छन् ।

यस्तो छ उनको विज्ञप्तिः

विदेशमा अध्ययनपश्चात उतै कैयौँ अबसरहरु प्राप्त भए पनि स्देशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ । आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी समृद्ध नेपाल निर्माणमा इमान्दार रुपले लाग्नुपर्छ भन्ने मेरा पिताजी श्री चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै म उद्यमशीलताको विकासमा लागिपरिरहेको छु ।
नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा म हाल सक्रिय रहँदै आएको पनि छु । स्वदेशमा युवा उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर प्राप्त नहुँदा हाल वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको नमिठो तथ्यांक हामीसँग छ । तर, विदेशमा अध्ययन सकेर उतै उपलब्ध हुने आकर्षक अवसरलाई त्याग्दै स्वदेशमै केही गर्ने योजना, सोच र आँट लिएर कैयौँ युवा आफ्नै मातृभूमि फर्किएर आउने गरेका पनि छन् । स्वदेशमै सम्भावनाका ढोकाहरु ढक्ढक्याउन आउने यिनै कैयौँ युवाका प्रयासहरुमा साथ र सहयोग दिने मेरो अठोट छ । सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ ।
उद्यमशीलताको प्रवर्धन मार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।
युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति म निरन्तर प्रतिबद्ध रहनेछु । साथै, आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत् व्यक्त गर्दछु ।
अन्त्यमा, मलाई लाग्छ कुनै व्यावसायिक घरानाको सन्तान हुनु, उसले उद्यमशीलतामार्फत नयाँ सोच अघि सार्नु र देशको विकासमा केही योगदान गर्छु भनेर लागिपर्नु नराम्रो होइन । मेरा पिताजीको जस्तै स्वदेशमै उद्यमशीलता विकास गरेर, उद्यम व्यवसाय सञ्चालन गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोच हो । मैले मेरो पारिवारिक पृष्ठभूमिबाट प्राप्त हुने अवसर लिएर नभई आफैले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्दै उद्यमशीलताको विकास गर्ने प्रयत्नमा छु । त्यसैले मैले कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नविनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई यसरी खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस् ।
धन्यवाद
सचिन ढकाल
अध्यक्ष, एफसी चितवन
You might also like

Comments are closed.