बन्द सडक फास्ट ट्रयाकबाट खुलाउन अर्थ तथा विकास समितिको निर्देशन

बजेट छैन भनेर नपन्छिन सरकारलाई सदस्यहरुको सुझाव

 

पोखरा ।

गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिले बाढी, पहिरोबाट क्षती भई अबरुद्ध सडक तत्काल खुलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको तर्फबाट सभापति दीपक कोइरालाले सडक बन्द हुँदा जनजीवन कष्टकर भएकाले फाष्ट ट्रयाकबाट काम गरेर अबरुद्ध सडक खुलाउन निर्देशन दिएका हुन् । उनले बाढी र पहिरोका कारण अत्यावश्यक सेवाका रुपमा रहेको खानेपानी र उत्पादनमूलक क्षेत्रमा असर पार्ने सिंचाई सञ्चालनका लागिपनि फाष्ट ट्रयाकबाट काम गरेर सेवा दिन निर्देशन दिए । साथै उनले जथाभावी अनियन्त्रित रुपमा सडक निर्माण गर्दा धेरै क्षेति पुगेको भन्दै आगामी दिनमा मापदण्ड तयार गरेर सो मापदण्ड पूरा गरेर मात्रै काम गर्न निर्देशन दिए । सडक निर्माण गर्दा नाली खन्ने र अधुरै छाड्ने गर्दा झन् धेरै क्षेति पुगेकाले त्यस्ता कार्यपनि तत्काल रोक्न आग्रह गरे ।

 

jutta mela

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले बिपद ब्यबस्थापनका लागि मन्त्रालयमा बजेट नभएको बताएका छन् । प्रदेश सभा अर्थ तथा विकास समितिले विहीबार गरेको छलफलमा मन्त्री बस्नेतले बिपद ब्यबस्थापनका लागि भनेर छुट्टै कोष नहुँदा बिपद ब्यबस्थापनमा बजेटको अभाव भएको बताए । बजेट अभावका बाबजुद प्रदेश सरकारले बिपद ब्यबस्थापनको काम भने गरिरहेको बताए । मन्त्रालयमा बिपद ब्यबस्थापनका लागि बजेट छैन,‘उनले भने,‘त्यसैले बाढी पहिरोले जुन सडकमा क्षेति पु¥याएको छ त्यहाँ सोहि सडकका लागि छुट्याएको बजेटबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको काम गर्ने गरेका छौं ।’ उनले बिपद कोषमा बजेट थपेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

मन्त्री बस्नेतले बजेट अभावमा कामै गर्न भने नसकिने स्थिति भने नरहेको बताए । बिपद ब्यबस्थापनका लागि छुट्टै बजेट छैन भन्यो भन्दैमा सरकारले केहि नगरेको भनेर नबुझ्नुहोला,‘उनले भने,‘बजेट अभावमा काम रोकिदैन, सडक, खानेपानीलगायतका सबै योजनामा धेरथोर बजेट छुट्टिएको छ, उक्त बजेटबाटै काम गरिरहेका छौं ।’

मन्त्री बस्नेतले अर्थ मन्त्रालयको अर्थ विविध भन्ने शीर्षकमा ठूलो बजेट भएकाले त्यसलाई बिपद ब्यबस्थापन कोषमा ल्याएर खर्च गर्नुपर्ने बताए । सो शीर्षकमा भएको बजेट सदूपयोग पनि हुने र जनताले सुविधापनि पाउने स्थिति बन्ने भएकाले त्यसतर्फ सबैले जोड गर्नुपर्ने उनको भनाई थियो । मन्त्री बस्नेतले बर्खामा सडक, कुलोलगायत चलाउँदा थप क्षेति हुने डरले मर्मतसम्भार केहि ढिलो हुने बताए । अहिले नै सडक, कुलो चलाउँदा जोखिम निम्तिन सक्छ,‘उनले भने,‘त्यसैले पुर्ननिर्माण कार्य बर्खा सकिएपछि मात्रै हुन्छ ।’ यद्वपी आकस्मिक सडक, खानेपानीलगायतका योजनाहरुको मर्मत सम्भार भने आवश्यक्ता र औचित्यका आधारमा गरिरहेका छौं ।

मन्त्री बस्नेतले बिपद कोषमा बजेट नभएकाले काम गर्न अप्ठेरो भएको बताएपछि समितिका सदस्यहरुले बजेट छैन भनेर सरकार बिपद ब्यबस्थापन गर्नबाट पन्छिन नमिल्ने बताए । उनीहरुले वैकल्पिक उपायबाट बजेट ब्यबस्थापन गरेर बिपद ब्यबस्थापन गर्न सुझाव दिए ।

समिति सदस्य हरिशरण आचार्यले बिपद ब्यबस्थापन गृहले गरिहाल्छ नि भन्ने परम्परागत ढंगको बुझाई परिवर्तन गर्न आग्रह गरे । बजेट छैन भनेर प्रदेश सरकार बिपद ब्यबस्थापन गर्नबाट पन्छिन मिल्दैन, उनले भने,‘सडक मर्मत कोष, मुख्यमन्त्रीको कार्यालयको बजेट वा कोरोनालाई छुट्याएको बजेटसमेत बिपदका लागि प्रयोग गर्न सकिन्छ ।’

अर्का सदस्य मिनप्रसाद गुरुङले जनतालाई समस्या पर्दा बजेट नभएको भनेर जिम्मेबारीबाट भाग्न नमिल्ने बताए । उनलेपनि वैकल्पिक ब्यबस्था गरेर भएपनि सडक, खानेपानी, सिंचाई मर्मतसम्भार गर्न सुझाव दिए ।

समिति सदस्य चन्द्रमोहन गौचनले बजेट छैन भनेर जिम्मेबारीबाट भाग्ने हो भने सरकार र मन्त्रालय हुनुको औचित्य नहुने टिप्पणी गरे । ईच्छा भए जतिपनि उपाय निस्किने भन्दै सरकार हुनुको आभास जनतालाई दिलाउन आग्रह गरे ।

सदस्य डोबाटे विश्वकर्मा र सरिता गुरुङले जिम्मेबारीबाट पन्छिएर जनताको सेवा गर्न नसकिने भन्दै तत्काल बजेट ब्यबस्थापन गरेर बिपद ब्यबस्थापनमा लाग्न आग्रह गरे ।

You might also like

Comments are closed.