इक्यान कोषाध्यक्षमा साधना पुडासैनीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को कोषाध्यक्षमा साधना पुडासैनीले उम्मेदवारी घोषणा गरेकी छन् । बर्तमान कार्यसमिति सदस्यसमेत रहेकी उनी यूके डिपार्टमेन्ट हेड पनि हुन् ।

लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय पुडासैनीले संस्थाको आर्थिक मेरुदण्डलाई बलियो बनाउने र सदस्यहरूको व्यावसायिक सुरक्षा सुनिश्चित गर्ने योजनासहित चुनावी मैदानमा उत्रिएको बताएकी छन् ।

उम्मेदवारी घोषणा गर्दै पुडासैनीले कोषाध्यक्ष पद केवल हिसाब–किताब राख्ने ठाउँ मात्र नभई संस्थाको दीर्घकालीन स्थायित्व र सदस्यहरूको हितका लागि नीतिगत नेतृत्व लिने विभागीय जिम्मेवारी भएको धारणा राखेकी छन् । ‘मैले यूके डिपार्टमेन्ट हेडका रूपमा काम गर्दा केवल कार्यक्रम मात्र गरिनँ, ज्ञानमा आधारित सहयोग र तालिममार्फत सदस्यहरूलाई सशक्त बनाएँ । अब यही अनुभवलाई इक्यानको कोष व्यवस्थापन र नीतिगत सुधारमा लगाउने मेरो प्रतिबद्धता छ, उनले भनेकी छन् ।

उनले संस्थाको आर्थिक गतिविधिमा पूर्ण पारदर्शिता ल्याउन डिजिटल एकाउन्टिङ र रियल-टाइम रिपोर्टिङ प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएकी छन् । इक्यान अब सदस्यता शुल्क र कार्यक्रम शुल्कमा मात्र निर्भर रहन नहुने उनको तर्क छ । यसका लागि गन्तव्य मुलुकमा आधारित नलेज एण्ड ट्रेनिङ प्रोग्राम सञ्चालन गर्ने, पार्टनर संस्थाहरूसँग मिलेर एकेडेमिक एण्ड कम्प्लायन्स इभेन्टहरू गर्ने, सरकारी मान्यता प्राप्त तालिम र सर्टिफिकेसन कोर्षहरू मार्फत संस्थागत आम्दानी बढाउने लगायतका योजना उनको छ ।

हाल परामर्श व्यवसायीहरूले भोग्दै आएको ट्याक्स, भ्याट र नियामक अस्पष्टतालाई समाधान गर्न इक्यान लेभल ट्याक्स पोजिसन पेपर तयार गर्ने उनको योजना छ । आन्तरिक राजस्व विभाग र सम्बन्धित मन्त्रालयसँग संस्थागत संवाद गरी सदस्यहरूलाई प्रिभेन्टिभ ट्याक्स गाइडन्स दिने उनले प्रतिबद्धता जनाइन् ।

विद्यार्थीको नाममा उठ्ने ३ प्रतिशत शिक्षा शुल्कलाई विद्यार्थीकै हित, कानुनी सहायता र कल्याणकारी कार्यमा पारदर्शी रूपमा खर्च गराउन सरकारसँग आधिकारिक पहल गर्ने पुडासैनीको एजेन्डा छ । व्यक्तिगत प्रयासभन्दा पनि संस्थागत तवरबाट वैदेशिक शिक्षण संस्था र सरकारसँग नेगोसिएसन गरी रिफण्ड र कमिसनका समस्या हल गर्ने उनको संकल्प छ ।

नेपाली शैक्षिक परामर्श क्षेत्रमा निस्सस इन्टरनेशनलमार्फत सक्रिय पुडासैनीले आफ्नो नेतृत्वमा इक्यानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वासिलो र आर्थिक रूपमा सबल संस्था बनाउने विश्वास दिलाएकी छन् । ‘सुरक्षित सदस्य, स्पष्ट कर नीति र बलियो कोष’ नै आफ्नो जीतको मुख्य आधार भएको उनको दावी छ ।

You might also like

Comments are closed.