चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक मेघौलीमा सफारी मार्टको औपचारिक सुरुवात गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो वाइल्ड नेपाल सफारी मार्ट २०२६ को शुक्रबार चितवनको मेघौलीमा उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले यस कार्यक्रमलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे ।
उनले भने, “नेपाल केवल हिमालका लागि मात्र होइन, यसको समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि पनि चिनिन्छ । यो सफारी मार्टले बिटुबी नेटवर्किङ र साझेदारी निर्माणका लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गरेको छ ।“ उनले यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवर्द्धनका नयाँ अवसरहरू खोल्ने पनि बताएका छन् । चितवनलाई संरक्षण सफलताको नमुना क्षेत्रका रूपमा उल्लेख गर्दै सचिव निरौलाले संरक्षण, समुदाय र पर्यटनबीचको सन्तुलन नेपालले उदाहरणीय रूपमा स्थापित गरेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले यस कार्यक्रमलाई नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुंगाको रुपमा उल्लेख गर्दै विशिष्ट र जिम्मेवार पर्यटन अवधारणा भएको बताए । “आज हामी गन्तव्यको प्रवर्द्धन मात्र होइन, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा हातेमालो गर्दै अघि बढ्ने दृष्टिकोणका साथ यो मार्ट सुरुवात गरिरहेका छौं,” उनले थपे, “विश्वको ०।१ प्रतिशतभन्दा कम भूभागमा नेपालले बेंगल टाइगर, एकसिङ्गे गैँडा, हिउँ चितुवा र रेड पाण्डाजस्ता अद्वितीय वन्यजन्तु र जैविक विविधता संरक्षण गरेको छ ।” सीईओ जोशीले भविष्यको पर्यटन केवल आगन्तुक संख्या र आम्दानीमा सीमित नभई वातावरणीय जिम्मेवारीसँग जोडिनुपर्ने बताए । उनका भने, “जिम्मेवार पर्यटन भनेको पारिस्थितिक प्रणालीको संरक्षण, समुदायको सशक्तीकरण र जलवायु–सचेतना, समावेशी तथा नैतिक पर्यटन प्रणाली हो ।” उनले नेपाललाई उच्च मूल्य र प्रकृतिमैत्री पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि मार्टलाई केवल व्यावसायिक कार्यक्रम नभई एक साझा प्लेटफर्मका रूपमा चित्रण गरेका छन् । उनले भने, “यो प्लेटफर्मले विश्वव्यापी खरिदकर्ता, संरक्षण सरोकारवाला र स्थानीय समुदायलाई जोड्छ । बिटुबी बैठक र गन्तव्य भ्रमणमार्फत अन्तर्राष्ट्रिय प्रतिनिधिहरू नेपालका पर्यटन अनुभवका विश्वव्यापी दूत बन्ने अपेक्षा गरिएको छ ।”
त्यसैगरी भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताए । उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे । अन्तर्राष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले जिम्मेवार पर्यटन यात्राको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको बताए । उनले भने, “विश्व अब त्यस्ता गन्तव्य खोजिरहेको छ, जहाँ पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुन्छ र मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित हुन्छ।” उनले थपे, “यस सन्दर्भमा ‘एनिमल डिप्लोमेसी’ ९वन्यजन्तु कूटनीति० एक शक्तिशाली पुलका रूपमा उदाउँदैछ, जहाँ वन्यजन्तु सहअस्तित्व, साझा जिम्मेवारी र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक बन्छ ।”
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाले यो मार्ट रणनीतिक प्लेटफर्म भएको बताए । उनले भने, “यो कार्यक्रम नेपालका अद्वितीय वन्यजन्तु अनुभवलाई विश्व बजारसँग जोड्ने मात्र होइन, दीर्घकालीन साझेदारी निर्माण गर्दै नेपाललाई वर्षभरि सञ्चालन हुने प्रतिस्पर्धी वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिक प्रयास हो ।”
कार्यक्रममा चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे डा। विश्वराज सुवेदीले प्रस्तुति दिए भने चितवन राष्ट्रिय निकुञ्जका वार्डेन गणेश पन्तले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराएका हुन् । कार्यक्रममा यसका साथै आगन्तुकहरुको स्वागतका लागि प्रतिनिधिहरूलाई थारु र कुमाल समुदायका सांस्कृतिक नृत्यसहित स्थानीय संस्कृति झल्काउने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । शुक्रबारदेखि सुरु भएको यस मार्टमा नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षका प्रमुख तथा प्रतिनिधिहरु, पर्यटन व्यवसायीहरु, प्रकृती संरक्षणविद्हरुले चितवनका विभिन्न पर्यटकीय गन्तव्यको अवलकोन भ्रमणसमेत गर्नेछन् । यसका साथै व्यापारिक भेटघाट, गन्तव्य अवलोकन र सांस्कृतिक अनुभवको संयोजन रहेको यस सफारी मार्टले नेपाललाई दिगो वन्यजन्तु पर्यटनको अग्रणी गन्तव्यका रूपमा अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।






Comments are closed.