पूँजी बजार सुधारमुखी बजेटले नयाँ युगको सुरुवात गरेको छ  : अध्यक्ष सागर ढकाल

काठमाडौं । नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति नेपाल स्टक ब्रोकर एसोसिएसनले सकारात्मक प्रतिक्रिया जनाएको छ । विशेषगरी पूँजी बजार सुधार, प्रविधिमैत्री कारोबार प्रणाली, गैरआवासीय नेपाली लगानी आकर्षण तथा आधुनिक वित्तीय उपकरणको सुरुवातसम्बन्धी घोषणालाई ब्रोकर समुदायले ऐतिहासिक तथा दूरदर्शी कदमका रूपमा व्याख्या गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्य तथा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटले नेपालको पूँजी बजार सुधार तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने बताएका छन् ।

‘प्रस्तुत बजेटले नेपालको पूँजी बजारलाई केवल शेयर कारोबारको माध्यमका रूपमा होइन, राष्ट्रिय अर्थतन्त्रको विकास साझेदारका रूपमा स्वीकार गरेको देखिन्छ । सरकारले पूँजी बजार सुधारलाई प्राथमिकतामा राख्दै आधुनिक वित्तीय उपकरण, लगानीकर्ता संरक्षण तथा बजार विस्तारलाई जोड दिनु अत्यन्त सकारात्मक विषय हो’ उनले भने । बजेटमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना, इन्ट्राडे कारोबार, सर्ट सेलिङ तथा डेरिभेटिभ उपकरण चरणबद्ध रूपमा लागू गर्ने घोषणा गरिएको छ ।

अध्यक्ष सागर ढकालले यी व्यवस्थाले नेपाली पूँजी बजारलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

‘इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता अन्तर्राष्ट्रिय अभ्यासमा आधारित उपकरणको सुरुवातले बजारमा तरलता बढाउनुका साथै संस्थागत लगानी र बजारको प्रभावकारिता समेत वृद्धि गर्नेछ । यसले नेपाली पूँजी बजारलाई थप परिपक्व, विश्वसनीय र प्रतिस्पर्धी बनाउने अपेक्षा गरेका छौँ ।’ उनले भने ।

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने कानुनी व्यवस्था परिमार्जन गर्ने घोषणा गरिएको विषयलाई पनि अध्यक्ष ढकालले अत्यन्त महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।

‘विश्वभर रहेका नेपालीहरूको पूँजी, अनुभव र विश्वासलाई नेपालको पूँजी बजारमा आकर्षित गर्न सके बजारको आकार, गहिराइ र स्थायित्व उल्लेखनीय रूपमा बढ्नेछ । गैरआवासीय नेपालीको सहभागिताले दीर्घकालीन लगानी संस्कृतिलाई मजबुत बनाउनेछ,’ उनले भने ।

त्यसैगरी सूचीकृत कम्पनीको शेयर बिक्रीमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने निर्णयले लगानीकर्तामा रहेको करसम्बन्धी अन्योल हट्ने अध्यक्ष ढकालको भनाइ छ ।

उनले सरकारद्वारा इनसाइडर ट्रेडिङ तथा शेयर कर्नरिङविरुद्ध लिइएको शून्य सहनशीलताको नीतिलाई पनि स्वागत गरे ।

उनले भने, ‘बजारको विश्वसनीयता कायम राख्न पारदर्शिता, सुशासन र नियामकीय क्षमता अत्यन्त आवश्यक हुन्छ । सरकारले अनियमित गतिविधिविरुद्ध कडा नीति लिएको विषयले वास्तविक लगानीकर्तामा विश्वास अझ बढाउनेछ ।’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का कार्यकारिणी समिति सदस्यसमेत रहेका ढकालले निजी क्षेत्र, सरकार र नियामक निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

‘अबको मुख्य आवश्यकता भनेको बजेट घोषणाको प्रभावकारी कार्यान्वयन हो । पूँजी बजार, बैंकिङ क्षेत्र, निजी क्षेत्र र सरकारबीच समन्वयात्मक सहकार्य भयो भने नेपालको अर्थतन्त्रलाई नयाँ गति दिन पूँजी बजारले निर्णायक भूमिका खेल्न सक्छ,’ उनले भने ।

स्टक ब्रोकर समुदायले बजेटले नेपालको पूँजी बजारलाई आधुनिक, डिजिटल, पारदर्शी तथा लगानीमैत्री दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरेको छ ।

You might also like

Comments are closed.