काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन २८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। सोमध्ये १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपाली नागरिकका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद भदौ १ गतेसम्म रहनेछ भने सो अवधिमा आवेदन पर्याप्त नपरेमा भदौ ११ गतेसम्म निष्काशन अवधि लम्बिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन सिंगल बी प्लस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्छ।
यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
Comments are closed.