सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने म्याद असोज ५ गतेसम्म

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद असोज ५ गतेसम्म थप गरेको छ ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

अब भने सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई “आईआरएन सिंगल बी प्लस” इश्युअर रेटिङ्ग दिएको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.