सुधारको बाटोमा सहकारी, बैंक नबन्न सुझाव

- दीपा रेग्मी

दीपा रेग्मी

काठमाडौं – सहकारी क्षेत्र सुधारको बाटोमा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । सहकारीमा समस्या देखिएको तर विस्तारै समाधानतर्फ गइरहेको उनीहरूले बताएका हुन् । बुधवार काठमाडौंमा आयोजित ‘सहकारीको विद्यमान समस्या चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा समस्या रहेको र समस्या भएकै कारण मन्त्रालयले समाधानको प्रयास गरिरहेको बताए । उनले भने, ‘समस्या सबै क्षेत्रमा आउँछ तर त्यसलाई समाधान गर्ने प्रतिवद्ध कति छौं भन्ने कुरा महत्वपूर्ण हो ।’ उनले सहकारी क्षेत्रले पुर्नजीवन पाउने कुरामा निश्चिन्त रहेको भन्दै भने, ‘तर साझा प्रतिबद्धताको जरुरी छ ।’

उनले कानूनले परिकल्पना गरेका सबै खालका दस्तावेज ल्याउन मन्त्रालय तयार रहेको भन्दै उनले सहकारीको आन्तरिक सुशासनमा ध्यान दिन आग्रह गरे । ‘सहकारी क्षेत्रमा समस्या आउनुको कारण सहकारी भित्रको विकृति पनि हो, हामीले नियमन गरेर मात्र पुग्दैन, सहकारीसँग सम्बन्धित संघसंस्थाले पनि गलत नियत भएका सहकारीको पहिचानमा सघाउनुपर्छ, ’ सचिव रेग्मीले भने ।

सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले सहकारीले आफ्नो मूल्य, मान्यता र उद्देश्य बिर्सदा सहकारीमा समस्या देखिएको बताए । ‘सहकारीले सात खर्बको विक्तीय कारोबार गर्दै आएकाछन्, ऐनले यति ठूलो कारोबारको परिकल्पना गरेका छैन, ’ उनले भने, ‘ केही सहकारीले मूल्य, मान्यता र उद्देश्य बन्न खोजेर बैंक बन्न खोज्दा सहकारीमा समस्या देखिएको हो ।’

उनले सहकारीको नियमन प्रकृयालाई संघीय संरचना अनुसार गर्ने प्रयत्न गरिएको भएपनि त्यसको कार्यान्वयन कमजोर रहेको बताए । ‘सहकारीको कामको बाडफाँट हुनुपर्ने थियो तर यहाँ त सहकारीको बाडफाँट भयो,’ उनले भने, ‘२३ हजार सहकारी स्थानीय तहले हेर्छ, ७ हजार प्रदेश र १२५ विभाग माताहतमा छन्, यसले नियमनमा असर पुर्यायो ।’ उनले दर्ता, नियमन र खारेजीको अधिकार सबै तहलाई दिँदा व्यवस्थित हुन नसकेको बताए । ‘सहकारी लथालिंग भताभुंग अवस्थामा छ, सहकारी सबैको हो, कसैको होइन भन्ने अवस्थामा पुगेको छ, यसलाई व्यवस्थापन गर्न सबैको प्रतिबद्धता जरुरी छ, ’ उनले भने ।

उनले सहकारी भित्र विद्यमान विकृतिका कारण सहकारी यो अवस्थामा पुग्ने पहिले नै निश्चित भएको भन्दै यसलाई अवसरको रुपमा लिएर समाधान तर्फ अगाडि बढ्नुपर्ने बताए । ‘कोभिड बाहनामात्र हो,सहकारीमा समस्या आउँथ्यो नै केही चाँडो आएको मात्र हो, ’ रजिस्ट्रार घिमिरेले भने, ‘बचतकर्ताले बचत फिर्ता हुन्न कि भनेर चिन्ता गर्नुपर्दैन, छिटो फिर्ता गर्ने वातावरण बनाउन सहकारीलाई काम गर्न दिनुपर्छ ।’ उनले विभागले राम्रालाई काम गर्न दिने, नराम्रालाई कारवाही गर्ने र मध्यम समस्या देखिकाको कार्य प्रगति हेर्ने बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले एकाध सहकारीमा देखिएको समस्यालाई एउटै डालोमा समर्ग सहकारीलाई राखेर हेर्नु दुखद भएको बताए । ‘ देशभर ३२ हजार सहकारी छन्, बढीमा एक डेढ प्रतिशतमा समस्या छ, ’ उनले भने । उनले गलत काम गर्ने सहकारीलाई महासंघले काखी नच्याप्ने उनको भनाइ थियो । नेप्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नियामक निकायले अभिभावकीय भुमिका निर्वाह गर्नुपर्ने तथा सहकारी चलायमान रही सुशासनको दायरामा आउनुपर्ने बताए ।

नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको आयोजना भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी समस्या र समाधानका उपाय विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।क

You might also like

Comments are closed.