सहिदलखनको सर्वोत्कृष्ट वडा नं ७: लगातार दोस्रो पटक पुरस्कृत, थप ५ लाख बजेट पक्का !

काठमाडौं । सहिदलखन गाउँपालिकाले आफ्नो वडा नम्बर ७ लाई लगातार दोस्रो पटक सर्वोत्कृष्ट वडा घोषणा गरेको छ। चालु आर्थिक वर्ष २०८१/ ८२ का लागि तय गरिएका विकास निर्माणका योजनाहरु निर्धारित समयभन्दा निकै अगाडि, गत माघ महिनाभित्रै सम्पन्न गरेपछि वडा नं ७ यो सम्मानको हकदार बनेको हो।

गाउँपालिकाले गत आर्थिक वर्षदेखि विभिन्न सूचक र मापदण्डका आधारमा वडाहरुको कार्यसम्पादन मूल्यांकन गर्ने प्रणाली सुरु गरेको थियो। योजना छनोट प्रक्रिया, सम्झौता, कार्यान्वयनको गति, रकमान्तर व्यवस्थापन, भुक्तानीको अवस्था, सेवा प्रवाहको चुस्तता, राजस्व संकलनमा प्रगति, बेरुजु फर्स्योट र समग्र सुशासन जस्ता महत्वपूर्ण पक्षहरुको आन्तरिक मूल्यांकनका आधारमा वडा नं ७ पुनः उत्कृष्ट ठहरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिए ।

जसरी स्थानीय तहको कार्यसम्पादन मूल्यांकन लिजाको आधारमा हुन्छ, हामीले पनि वडाहरुको मूल्यांकनका लागि त्यस्तै मापदण्ड बनाएका छौं, अध्यक्ष मगरले भने, गत वर्ष वैशाखदेखि चैत्र मसान्तसम्मको कार्यसम्पादनको आधारमा वडा नं ७ ले उच्चतम अंक प्राप्त गरी उत्कृष्ट बनेको हो।

यो सफलतासँगै वडा नं ७ ले गत वर्ष जस्तै यसवर्ष पनि प्रोत्साहन स्वरूप थप पाँच लाख रुपैयाँ बजेट प्राप्त गरेको छ। यो रकम वडाले भौतिक पूर्वाधार निर्माणमै खर्च गर्नुपर्ने प्रावधान रहेको अध्यक्ष मगरले बताए । पुरस्कार रकम ठूलो नभए पनि यसले प्रदान गर्ने हौसला र प्रोत्साहन महत्वपूर्ण छ। वडाहरुमा काम गर्ने जोश जाँगर बढाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु हाम्रो उद्देश्य हो, उनले थपे। उनले यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने र आवश्यक परे मूल्यांकनका सूचकहरुलाई परिमार्जन गर्न सकिने बताए ।

लगातार दोस्रो पटक उत्कृष्ट वडा घोषित भएपछि वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले यो सफलता सम्पूर्ण वडाबासी, जनप्रतिनिधि र कर्मचारीहरुको साझा मिहिनेत र इमान्दारिताको प्रतिफल भएको बताए । हामी जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीबीचको बलियो समन्वय, पालिकाको मार्गदर्शन, टोल समिति, राजनीतिक दल र संघसंस्थाहरुसँगको सहकार्यले नै यो उपलब्धि सम्भव भएको हो, वडाअध्यक्ष श्रेष्ठले भने, पालिकाले तोकेको मापदण्ड अनुसार जिम्मेवारीपूर्वक काम गर्दा सफलता मिलेको छ।

वडा नं ७ ले चालु आर्थिक वर्ष २०८१र८२ का लागि वडास्तरमा छुट्याइएका सम्पूर्ण भौतिक पूर्वाधार निर्माणका योजनाहरु दोस्रो चौमासिक नसकिँदै, गत माघ महिनामै सम्पन्न गरिसकेको थियो। यो कार्यसम्पादनले नै वडालाई उत्कृष्ट बन्न महत्वपूर्ण भूमिका खेलेको हो।

You might also like

Comments are closed.