आयोडिनमा साल्ट ट्रेडिङ कर्पोरेशनको योगदान र यसको महत्व

उर्मिला श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, साल्ट ट्रेडिङ कर्पोरेशन

उर्मिला श्रेष्ठ
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपाल सरकारको सार्वजनिक निजी साझेदारी विकासशील देशको लागि सार्वजनिक निजी साझेदारी (पीपीपी) को उपयोगिताको प्रयोगको रूपमा स्थापित नेपालको सबैभन्दा ठूलो व्यावसायिक संस्थाहरु मध्ये एक हो । ६३ वर्ष पहिले १९६३ मा स्थापित यो निगम देशभरका सबै नागरिकलाई आयोडिनयुक्त सामान्य नुन उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको थियो ।
कर्पोरेशनले आवश्यक दैनिक उपभोग्य बस्तुको उचित आपूर्ति र वितरण सुनिश्चित गर्न, कालोबजारी हटाउन र नेपालमा औद्योगिक विकासमा ठूलो योगदान पु¥याएको छ ।

निजी सार्वजनिकबाट ७९ः२१ लगानीको अनुपातमा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड राज्य र निजीको संयुक्त प्रयासद्वारा व्यवस्थित गरिएको छ । ९३ कार्यालय (२२ कार्यालय र ७१ सम्पर्क कार्यालय) मार्फत आफ्नो सेवाहरु प्रदान गर्दछ । देशको लगभग सम्पूर्ण जनसंख्या ग्राहकको रुपमा समावेश छ । कर्पोरेशनका ४०० भन्दा बढी कर्मचारीहरु छन् भने १ हजार भन्दा बढी कामदार र मजदुरलाई काम गर्ने अवसर प्रदान गरिएको छ । नेपालका सबै प्रमुख शहरमा शाखाहरु छन् । कर्पोरेशनका ५ उत्पादनमुखी कारखानाहरु छन् । शहरी मानिसलाई आफ्नो सेवाहरु प्रदान गर्नमा मात्र ध्यान केन्द्रित गरिरहेको छैन, यो नेपालका दुर्गम जिल्लाका गरिब र कुनामा बसेका, पछाडी परेका मानिससम्म पनि पुग्छ । नेपाल सरकारको नीति पालना गर्दै देशभर गुणस्तरीय उत्पादनको आवश्यकता महसुस गरेर नयाँ उत्पादन र नयाँ बजार खोजेर व्यापार विविधीकरणतर्फ अघि बढिरहेको छ । यो संस्थाले व्यापार, आयात, निर्यात, निर्माण (उत्पादन), प्रशोधन, आपूर्ति र वितरण जस्ता कर्पोरेट गतिविधिमा आफूलाई संलग्न ग¥यो ।

खाद्य उत्पादन, कृषि उत्पादन, निर्माण सामग्री, मेसिनरी र औजार, कागज र अन्य सामान व्यापार र व्यवसायका लागि मुख्य वस्तुहरु हुन् । केन्द्रीय कर्पोरेट कार्यालय कालीमाटीमा अवस्थित छ । क्षेत्रीय, शाखा, उपशाखा र डिपो कार्यालय देशका विभिन्न भागमा छन् । राज्य र निजीको संयुक्त प्रयासद्वारा व्यवस्थित गरिएको व्यावसायिक यात्रामा साल्ट कर्पोरशन सफलताको एक उज्ज्वल उदाहरण हो ।

आयोडिनको महत्व र फाइदा
आयोडिन भएको दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन मात्र खाऔँ भनेर हामीले आह्वान गर्दै आइरहेका छौं । दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाएको हुन्छ । यसलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खाद्य गुणस्तर निर्धारण विभागले सही मात्रामा आयोडिन भएको नुन भनि प्रमाणित गरेको छ ।

नुन हाम्रो शरिरका लागि अत्यावश्यक पोषक तत्व भएको खानेकुरा हो । शरीरमा पानीको मात्रा नियन्त्रित राख्न तथा रक्तचाप सन्तुलन गर्नका लागि सोडियमको जरुरत हुन्छ, जसको प्रमुख स्रोत नुन हो । शरीरमा नुनको मात्रा कमी हुनु र बढी हुनु दुवै घातक हुन्छ । नुनको मात्रा कमी हुँदा स्वास्थ्यमा विभिन्न समस्याहरु जस्तै चक्कर लाग्ने, मांसपेशि बटारिने, रक्तचाप घट्ने जस्ता समस्या देखिन्छ भने बढि हुँदा उच्च रक्तचाप जस्ता घातक रोगको खतरा हुन्छ ।

‘नुन खाऔं तर, सही मात्रामा आयोडिन भएको दुई बालबालिका चिह्न भएको प्याकेटको नुन मात्र खाऔं’ भन्ने मूल नाराका साथ हरेक वर्षको फ्रेब्रुअरी महिनामा सरकारले देशभर ‘आयोडिन महिना’ मनाउने गर्दछ । अझैपनि ढिके नुनको प्रयोग भने हट्न सकेको छैन । ढिके नुनको प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असरहरू देखापर्ने गरेको छ । आयोडिनयुक्त नुनभन्दा ढिके नुुन सस्तो पर्ने भएकाले ग्रामीण मात्र होइन सहर बजारमै खुलेयाम मानिसले ढिके नुनकै प्रयोग गरिरहेको पाइन्छ ।

नेपाल–भारत खुला सीमा भएकाले सजिलै सस्तो मूल्यमा न्युन गुणस्तरको नुन भारतबाट ल्याएर प्रयोग गर्ने क्रम अझै रोकिएको छैन । यो मानव स्वास्थ्यका लागि घातक हो । आयोडिनको कमी भएर शारिरीक वा मानसिक रुपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन ।

आयोडिनयुक्त नुन किन ?

आयोडिन एक खनिज तत्व हो । शरिरमा आयोडिन भएमा मात्र थाइरोइड ग्रन्थिले थाइरोक्सिन हर्मोन उत्पादन गर्ने काम गर्दछ । थाइरोइड ग्रन्थिले ठिक तरिकाले हर्मोन उत्पादन गर्न नसकेमा शरिरले राम्रोसँग काम गर्न सक्दैन । थाइरोइड ग्रन्थिलाइ सही तरिकाले काम गर्न र शारीरिक तथा मानसिक विकासका लागि आयोडिन अत्यन्त आवश्यक पर्ने शुक्ष्म पौष्टिक तत्व हो । दिनहुँ ठिक मात्रामा आयोडिनको सेवन गरेमा आयोडिनको कमिबाट हुने स्वास्थ्य समस्या आउदैन ।

गर्भवती, शिशु साथै बढ्दो उमेरका बालबालिकाको शारीरिक तथा मानसिक वृृद्धि विकासका लागि आयोडिनको उचित मात्रामा उपभोगले धेरै ठुलो महत्व राख्दछ । आयोडिनको कमि भयो भने गलगाड आउने, मानसिक विकलांक लगायतका समस्या हुन सक्छन् । आयोडिन नुनमा मिसाउँदा नुनको रङ, स्वाद, गन्ध, तौलमा पनि फरक नपर्ने । नुनमा कम खर्चमा सजिलै आयोडिन मिसाउन सकिने र नुन दैनिक रुपमा खाँदा आयोडिन शरीरले निरन्तर पाइरहने भएकोले संसारभर धेरै मुलुकमा नुनमा आयेडिन मिसाएर आयोडिनको आवश्यकता पूरा गर्ने गरिएको छ ।

नुनमा आयोडिन कति मात्रामा हाल्ने भन्ने मापदण्ड देश अनुसार फरक छ । नेपालमा बिक्री गरिने नुनमा आयोडिनको मात्रा उत्पादन स्थलमा ५० पिपिएम राखिएको हुन्छ भने उपभोग स्थलमा कम्तिमा १५ पिपिएम हुनुपर्ने भनिएको छ । खुल्ला भाडाँमा राख्दा तथा खाना धेरै बेरसम्म पकाउदा आयोडिन उडेर जाने भएकाले नुनलाई सधै हावा नछिर्ने भाँडामा राख्नुपर्छ । मानव जातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पुर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई विभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अति आवश्यक पर्दछ । यी आवश्यक तत्वमध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो । जुन सबै उमेरका मानिस तथा जीवजन्तुलाई दैनिक रुपमा आवश्यक पर्दछ ।

गर्भावस्थादेखि दुई वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भइसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमि भएमा मानसिक तथा शारीरिक विकासमा समेतमा अवरोध आउँछ । नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ । त्यसैले हामी नेपालीहरुले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो ।
साथै आयोडिन भएको नुन खाने गरेमा सम्पूर्ण व्यक्तिको दिमागको विकास तीव्र गतिमा हुने र शरीरलाई आवश्यक पर्ने आयोडिन तत्वको समेत पूर्ति हुने भएकाले हरेक बारको खानामा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य मानिन्छ । दैनिक खानामा साधारण स्वस्थ व्यक्तिको लागि १५० माईक्रो ग्राम र गर्भवती महिलाको लागि दैनिक खानामा २५० माइक्रो ग्राम आयोडिन तत्वको मात्राको आवश्यकता पर्दछ । सही मात्रामा आयोडिन पाउन दुई बालबालिकाको चिह्न भएको पाकेटको धुलो नुन प्रयोग गर्ने बानी बसालौं ।

आयोडिनका फाइदाहरु

गर्भवती महिलाले दैनिक रुपमा आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्ने हो भने गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा महत्वपूर्ण फाइदा गर्दछ । साथै आयोडिनको कमीबाट हुनसक्ने असर जस्तैः गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याबाट सजिलै बच्न सकिन्छ ।

बाल्यवस्थामा पनि आयोडिन तत्वको सही मात्राको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भुमिका खेल्दछ । बालबालिका फुर्तीला र तन्दुरुस्त हुनुको साथै दिमागीय रुपमा अब्बल देखिन्छन् । किशोरावस्थामा पनि आयोडिन तत्वको सही र आवश्यक मात्राको प्रयोगले किशोरकिशोरीको मानसिक तथा शारीरिक क्षमतामा बृद्धि हुन्छ । जसले गर्दा पढाइलेखाइका साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव प्रदछ ।

किशोरकिशोरीको बौद्धिक स्तर बढाउनको लागि दैनिक खानामा आयोडिन तत्वको मात्राको आवश्यकता देखिन्छ ।आयोडिन तत्वको सही मात्राको प्रयोगले सबै उमेर समूहका मानिसको मानसिक तथा शारीरिक विकास हुन्छ । जसले गर्दा गलगाँड र हाइपोथाइरोडिजम जस्ता घातक रोगहरु हुनबाट बच्न सकिन्छ । त्यसकारणले पनि आयोडिन तत्वको सही मात्रामा प्रयोग गर्नु आवश्यक छ ।

आयोडिनले के–के गर्दछ ?

१.गलगाँड (कण्ठरोग) नियन्त्रण गर्दछ ।
२.मानसिक र बौद्विक क्षमताको विकास गर्दछ ।
३.लाटो लठेब्रोपनको नियन्त्रण गर्दछ ।
४.बालमृत्युदर घटाउन मद्दत गर्दछ ।

जान्नैपर्ने केही महत्वपूर्ण कुरा

१.ढिके तथा खुल्ला नुनमा मानिसको शरीरलाई दैनिक रुपमा आवश्यक पर्ने आयोडिनको मात्रा पूर्ण रुपमा नहुन सक्दछ । यस्तो ढिके तथा खुल्ला नुन सफा पनि नहुने हुनाले खानको लागि उपयुक्त हुँदैन ।
२. दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन शुद्व र सफा हुनुको साथै यसमा सहि मात्रामा आयोडिन तत्व मिसाइएको हुन्छ । त्यसैले दैनिक प्रयोगमा दुई बालबालिकाको चिह्न नै भएको आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्नु बुद्धिमानी मानिन्छ ।
३. दुई बालबालिकाको चिह्न नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सही मात्रामा आयोडिनको तत्व भएको नुनलाई दिने प्रमाणित चिह्न हो । यसको दैनिक प्रयोगमा कुनै सङ्कोच लिनु पर्दैन ।
४. प्याकेटको आयो नुन खोलेर बिर्को भएको सफा डिब्बामा राखौँ ।
५. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने बानी बसालौँ ।
६.नुन राखिसकेपछि तरकारी छोपेर मात्र राख्ने गरौँ ।
(साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

You might also like

Comments are closed.