मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्नेमा उनीहरूले जोड दिए ।

सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजी पीडितलाई न्याय दिन यसअघि भएको व्यवस्था कार्यान्वयन नहुँदा न्याय प्रदान गर्न ढिलाइ भएको बताए । सांसद तेजुलाल चौधरीले मिटरब्याजीसँग भएको सहमति कार्यान्वयन गर्न र वित्तीय संस्थामा सर्वसाधारणको पहँच बढाउनका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । सांसद दामोदर पौडेल बैरागीले स्थगित भएको स्ववियु निर्वाचन सम्पन्न गर्ने क्रममा भएको झडपप्रति सरकारको ध्यानाकर्षण गराउँदै निर्धारित समय मै निर्वाचन सम्पन्न गराउन माग गरे ।

सांसद दिक्पालकुमार शाहीले दैलेखमा बाढीपहिरो पीडित जनताको अझै पुनःस्थापना हुन नसकेको जानकारी गराउँदै समस्या दिगोरूपमा समाधान गराउन माग गरे । सांसद दिनेशकुमार यादवले कोशी पश्चिम नहरको मर्मत भारतको भए पनि त्यहाँको बाटो जीर्ण भएकाले स्थानीय जनताले दैनिक कष्टकररूपमा यात्रा गर्नुपरेको छ भन्दै मर्मतका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।

jutta mela

सांसद दीपकबहादुर सिंहले किसानले मल र बीउ समयमै पाउन नसकेको गुनासो गर्दै त्यस विषयमा सरकारले अभियान नै बनाएर काम गर्नुपर्ने सुझाव दिए । सांसद दीलेन्द्रप्रसाद बडूले मिटरब्याजी पीडितको समस्या समाधानका लागि कानून छिटो तर्जुमा गर्न माग गरे । सांसद दुर्गा राईले किराती समुदायले आफ्नो संस्कारअनुसार काठमाडौं उपत्यकामा जमिनमा समाधि गर्न नपाएकाले विगतमा भएको सहमति कार्यान्वयन गराउन आग्रह गरे ।

सांसद देवेन्द्र पौडेलले आर्थिक सुधार हुनेगरी जनतालाई भरोसा दिन साझा स्वेतपत्र जारी गर्न माग गरे ।सांसद धनराज गुरुङले सिदार्थ राजमार्गको महत्व मनन गरी स्तरोन्नति गर्न माग गरे । सांसद ध्रुवबहादुर प्रधानले सुस्तावासीले सधैँ नारायणी नदीको जोखिम लिएर बस्नुपरेकाले चाँडै जनताको आवास निर्माण गर्न आग्रह गरे ।

सांसद नागिना यादवले विकासका योजना बनाएर लगानी गर्दा र जनगणनाका विविध आयामलाई समेटिए कार्यान्वयनमा सहजता हुने बताए ।  सांसद निशा राईले मुलुकमा आयात बढ्दै गएकाले आन्तरिक उत्पादन बढउन सरकारको के नीति छ भनी प्रश्न गरे । सांसद नैनकला थापाले महिलाको सहभागिता सुनिश्चित गर्न कानूनमा स्पष्ट व्यवस्था हुनुपर्ने माग गरे ।

सांसद पद्म गिरीले सडक स्तरोन्नतिका लागि योजनाबद्धरूपमा आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पुष्पबहादुर शाहले तत्कालीन माओवादीसंगको द्वन्द्वमा ठूलो क्षति भएको मङ्गलसेनको दरबार १५ वर्षसम्म पनि निर्माण हुन सकेन भन्दै तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद प्रदीप पौडेलले हवाई क्षेत्रमा त्रुटी बढेकाले उच्च प्राथमिकतामा राखी यस क्षेत्रमा काम गर्न सुझाव दिए । सांसद प्रेम सुवालले गृहमन्त्री र सचिवले सुराकी खर्चका नाममा लिँदै आएको रकम पारदर्शी गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद बद्री पाण्डेले विपत्ति र दुर्घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न समयमै सचेत भएर काम गर्न आग्रह गरे । सांसद वासुदेव घिमिरेले भूमि आयोगले भूमिहीनलाई प्रदान गर्ने लालपुर्जा सहज गराउन माग गरे ।

You might also like

Comments are closed.