एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

काठमाडौँ, नेपाल, ३ बैशाख २०८३ — एफवानसफ्ट (F1Soft) इन्टरनेशनलले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

उनि सह–संस्थापक तथा निर्देशक सुबास शर्मा पछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हाल्ने छन्। शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सम्हालेका थिए। सुबास शर्माले F1Soft Group को दृष्टिकोणलाई व्यवहारमा उतार्दै eSewa, Fonepay लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका छन्। यी पहलहरूले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घरपरिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन्।

हाल FoneNxt Pvt. Ltd. का सीईओ रहेका  पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन् । F1Soft Group मा आवद्ध हुनुअघि उनले Nabil Bank मा एक दशकभन्दा बढी समय कार्य गर्दै Payment Technology Management तथा Digital Transformation Program को नेतृत्व गरेका थिए ।

“पछिल्ला २२ वर्षमा हामीले निर्माण गरेको आधारप्रति म अत्यन्त गर्वान्वित छु। F1Soft को वृद्धि हाम्रो सम्पूर्ण टोलीको साझा प्रयासको परिणाम हो, जसले नेपालको डिजिटल परिदृश्यलाई नयाँ उचाइमा पुर्‍याएको छ। यस ऐतिहासिक अवसरमा, आगामी यात्रामा सनतको नेतृत्वप्रति मलाई पूर्ण विश्वास छ।” आफ्नो कार्यकाल सम्झँदै निवर्तमान सीईओ सुबास शर्माले भने।

नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको F1Soft ले नगदमा आधारित बजारमा प्रारम्भिक मोबाइल भुक्तानी समाधानहरू सुरु गर्दै आजको दिनसम्म आइपुग्दा देशका प्रमुख डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्महरूलाई सक्षम बनाउने व्यापक इकोसिस्टम निर्माण गरेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै नेपाली नागरिकहरूको वित्तीय पहुँचलाई सहज बनाउनुका साथै ‘cashless economy’ तर्फको यात्रालाई तीव्र बनाएको छ।

आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै नव नियुक्त सीईओ सनत कुमार पौडेलले भने, “F1Soft को २२ वर्षे यात्राको यस महत्वपूर्ण मोडमा नेतृत्व गर्ने अवसर पाउनु मेरा लागि गर्वको विषय हो। हामीले निर्माण गरेको बलियो आधारलाई अझ सुदृढ बनाउँदै प्रविधि नेतृत्वलाई मजबुत पार्ने सेवा विस्तारलाई तीव्र बनाउने हाम्रो लक्ष्य रहनेछ। साथै, दीर्घकालीन मूल्य सिर्जना गर्दै नेपालको fintech दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।”

यो नेतृत्व हस्तान्तरणले F1Soft को सुदृढ नेतृत्व विकास, सुशासन तथा निरन्तरताको संस्कृतिलाई झल्काउँछ। तेस्रो दशकमा प्रवेश गर्दै कम्पनीले आफ्नो संस्थागत क्षमतालाई अझ मजबुत बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र fintech क्षमतालाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ।

F1Soft Group of Companies अन्तर्गत F1Soft International Pvt. Ltd., Fonepay Payment Service Ltd., eSewa Ltd., eSewa Money Transfer Pvt. Ltd., FoneNxt Pvt. Ltd., ExtensoData Pvt. Ltd., Foneloan Pvt. Ltd. तथा Fonepoints Pvt. Ltd. जस्ता fintech, paytech तथा प्रविधि कम्पनीहरू आवद्ध छन्। समूहले नवीन ICT समाधानमार्फत डिजिटल रूपान्तरणलाई अगाडि बढाउँदै वित्तीय सेवामा पहुँच विस्तार गर्ने र आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

You might also like

Comments are closed.