सरकारका नीति साना उद्यमीमैत्री बन्न सकेनन् : शान्ता बाँस्कोटा कोइराला

नेपालको अर्थतन्त्र सुधारको लागि साना तथा मझौला उद्योगको आफ्नै योगदान छ । बहुसंख्यक व्यवसायी यीनै व्यवसायमा आवद्ध पनि छन् तर तिनै व्यवसायी राज्यका नीतिका कारण समस्यामा परेको गुनासो सुन्नमा पाइन्छ । साना तथा मझौला व्यवसायीको व्यवसायिक अवस्था कस्तो छ ? महिला उद्यमीको अवस्था र समस्या के के छन् ? राज्यले अख्तियार गरेका नीति कति प्रभावकारी छन् ? यी र यस्तै विषयमा घरेलु तथा साना उद्योग महासंघकी एशोसियट उपाध्यक्ष तथा नेपाल अर्गानिक एशोसियसनकी महासचिव,नेपालको पहिलो अर्गानिक चिया उत्पादक कम्पनी कञ्चजंगा टि स्टेट रिर्सच सेन्टरकी प्रवन्ध निर्देशक सांग्रिला एग्रो वल्र्ड नेपाल टि आदि कम्पनीको संचालक  शान्ता बाँस्कोटा कोईरालासँग आर्थिक आवाजकर्मी  दीपा रेग्मीले गरेको कुराकानी  :

साना तथा घरेलु उद्योगहरु जति माथि आउनुपर्ने हो त्यति आएको देखिदैन । के के छन् समस्या र यसलाई कसरी सहजिकरण गर्दै आउनु भएको छ ?

नेपाल घरेलु तथा साना उद्योग महासंघ साना उद्योगी सेक्टरको छाता संगठन हो । यसको काम व्यवसायीको हकहितमा सरकारसँग समन्वय गर्ने हो । उद्योगी व्यवसायीका समस्या सरकारले कसरी समाधान गर्नुपर्छ ? के–के कामहरु गर्नुपर्छ ? नीतिगत सुधार के के गर्नुपर्छ ? भनेर हामीले आवाज उठाउँदै आएका छौं । सरकारले ल्याउने साना उद्योगीमैत्री छैनन् । सरकारले दिने सुविधा पनि टाठा बाठा र पहुँचवालाहरुले मात्रै पाइरहेका छन् । हाम्रो मूख्य माग भनेकै सरकारले नीति नियम बनाउँदा ठूला सानालाई एउटै ल्याउनुभएन र एउटै बास्केटमा राख्नु भएन भन्ने नै हो ।

धेरै उत्पादनमुलक उद्योगी व्यवसायीहरु यसमा आवद्ध छन् । उत्पादन क्षेत्रलाई कसरी बिस्तार गर्ने, उत्पादन कसरी बढाउने, गुणस्तर कसरी कायम गर्ने ,उनिहरुलाई कसरी सहयोग गरेर लघुबाट घरेलु, घरेलुबाट मझौला हुँदै माथि लिन कसरी सकिन्छ भन्ने कुराको सरकारले छुट्टै एउटा पोलिसी लिएर आउनुपर्यो ।

सरकारका महिला उद्यमी लक्षित प्रावधान कति प्रभावकारी छन् ?

हामी घरेलु तथा साना उद्योग महासंघले पनि लविङ गरेर महिला उद्यमीलाई ५ लाखसम्म बिना धितो कर्र्जा दिने योजना लिएर आयौं । त्यसले महिला उद्यमीहरु प्नि उत्साहित थिए । धेरै राम्रा राम्रा व्यवसायहरु पनि चलाउनुभएको थियो । ऋणहरु पनि तिरिरहनुभएको थियो तर, बीचमा आएर त्यसलाई छायाँमा पारेर १५ लाखसम्मको कर्जा लिने तर सामूहिक धरौटी बस्नुपर्ने व्यवस्था गरियो । महिलाहरु यति इनोसेन्ट हुन्छन्, उनहरुले आफ्नो कर्जा कसरी तिर्न सकिन्छ भनेर अर्को नजानेकोसँग समूह बनाएर ग्यारेन्टी बस्न चाहँदैन । त्यसले गर्दा १५ लाखको कर्जा घरेलु तथा साना उद्योगका महिलाहरुले त्यति सहज मानेका पनि छैनन् । र, त्यसको अनुपात आज पनि सरकारको रेकर्डमा हेर्ने हो भने एकदमै न्यून छ ।

धेरै साना तथा घरेलु उद्योगहरुमा महिलाहरु आवद्ध हुनुहुन्छ । तर, महिलाहरुले जति मात्रामा आफ्नो उत्पादनलाई अगाडि बढाउनु पर्ने हो त्यति आउन सकिरहेको अवस्था छैन । किन ?

यसमा एउटा तालमेल नमिलेको पनि हो । किनभने, हाम्रो भूगोल नै त्यस्तै छ । हामीले कर्णालीको कुरा गर्दा धेरै फरक छ । त्यहाँ शिक्षाको कुरा हुन सक्छ, ढुवानीको कुरा हुन सक्छ, उद्योग व्यवसाय संचालनको कुरा पनि हुन सक्छ, बाटोघाटोको कुराले, मौसमको कारण पनि उद्योग व्यवसाय नहुन सक्छ । कुनै पनि उद्योग व्यवसाय गर्नका लागि सीप तथा ज्ञान आवश्यक हुन्छ । व्यवसाय संचालन गर्दा भोलि हामीलाई कसैले नझुक्याओस् भन्नका लागि पनि हामी शिक्षित हुन जरुरी छ । कति भौगोलिक कारण र शिक्षाको कारणले महिला दिदी बहिनीहरु अगाडि बढ्न नसकिरहेको अवस्था छ । अर्को कुरा हाम्रो समाजको हेर्ने दृष्टिकोण, बुझाइलगायतका कारणले महिलाहरुले अवसर पक्कै पनि नपाएकै हो । तर, पहिलोको तुलनामा अहिले धेरै फड्को मारेको छ । महिलाहरु पनि धेरै बुझ्ने हुनुहुन्छ, शिक्षाको स्तर पनि अलि माथि उठेको छ ।

अहिलेको पुस्ता जागिर खाने भन्दा पनि व्यवसाय गर्न रुची राख्छ । तर, हाम्रो देशमा वातावरण त्यो छैन । राम्रो अवसरको खोजीमा विदेश जान खोज्छ । ती विदेश जानेहरुलाई कसरी नेपालमै स्वरोजगार बनाउन सकिन्छ भन्ने कुरा सरकारले एकदमै महत्वपूर्ण पोलिसी ल्याउन र भूमिका खेल्न जरुरी छ । अहिलेको पुस्तालाई स्वदेशमै व्यवसायी बनाउने वातावरणको सिर्जना गर्ने हो भने महिला र पुरुष समान हिसाबले गर्न सक्ने क्षमता भइसकेको छ ।

यहाँ आफै पनि विभिन्न व्यवसायमा आवद्ध हुनुहुन्छ । कोभिड संक्रमणले पारेका असरका कारण अहिले बजारमा आर्थिक मन्दीको अवस्था छ । यो समयमा व्यवसाय संचालन गर्न कस्ता प्रकारका समस्या आइरहेका छन् ?

कोभिडले ठूला साना सबै व्यवसायीलाई असर पारेकै छ । त्यसमा पनि एक्पोर्ट गर्नेलाई र स्वदेशी बजारमा पनि त्यत्तिकै समस्या छ । एक्पोर्टको क्षेत्रमा ग्राहकहरुले अर्डर घटाए पनि मूल्य घटाएको छैनन् । संसारमै यस्तो असर पारिरहेको समयमा उहाँहरुले हामीलाई सहयोग गर्ने र हामीले पनि उहाँहरुको बारेमा सोच्नुको विकल्प छैन । हाम्रा जति ग्राहकहरु छन् उहाँहरु सन् २००२ देखि अहिलेसम्म निरन्तर त्यही हुनुहुन्छ । तर, ट्रासपोर्टेशन, हवाई भाडा एकदमै उच्च भएका कारण कोभिडका कारण उहाँहरुले जोखिम मोलेर पनि लिनुभयो । पहिला हामीले एक डलरमा पाउने सामान अहिले ३ डलर छ । कोभिड नियन्त्रण भइसक्दा पनि हवाइ भाडा ३  नै छ । त्यसले गर्दा एक्पोर्टको मार्केट पनि हवाइ भाडाको कारणले एकदमै कम भइरहेको छ । स्थानीय क्षेत्रमा व्यवसायीहरुले धेरै बन्द गर्ने अवस्था छ । कोभिडको कारणले धेरै उद्योगी व्यवसायीहरु एकदमै मारमा पर्नुभएको छ । त्यसमा चिया क्षेत्र पनि अछुतो छैन । कोभिडको समयमा सरकारले ल्याएको रिफाइनान्सको कुरा एकदमै राम्रो हो । तर त्यो निरन्तर भएन । त्यसैलाई निरन्तरता दिएको भए उद्योग व्यवसायहरु यसरी बन्द गर्नुपर्ने अवस्था आउने थिएन । बैंकिङ तरलता, राष्ट्र बैंकको नीति नियम परिवर्तन भइरहने, सरकारका नीति नियमहरु आएपनि कार्यविधीहरु बनाउँदा कार्यान्वयन हनु नसक्ने खालका कार्यविधीले प्रोत्साहन पाएका कारण ठुला साना सबै उद्योगी व्यवसायी कोभिड सँगसँगै अरु समयमा पनि एकदमै मारमा परेको देखिन्छ ।

व्यवसाय संगसंगै तपाईं समाज सेवामा पनि सक्रिय हुनुहुन्छ । कञ्चनजंघा टि रिसर्च सेन्टरले बालबालिकाहरुलाई छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । कस्ता बालबालिकालाई तपाईहरुले छात्रवृत्ति प्रदान गर्नुहुन्छ ?

कञ्चनजंघा टि रिसर्च सेन्टर प्रदेश १ को पचथरमा छ । यो १९८४ मा मेरो बुवा दिपकप्रकाश बास्कोटाले सुरु गर्नु भएको हो । बुवालाई नर्सरीमा सहयोग गर्ने दुई जना हुनुहुन्छ । बुवा सामाजिक, राजनीतिक व्यक्तित्व पनि हो । छात्रवृत्तिका लागि पहिलो प्राथमिकता हाम्रो गार्डेन फ्याक्ट्रीमा काम गर्नेहरुका छोराछोरीहरुलाई बढाइ दियो भने उहाँहरु काममा आउन पाउनु हुन्छ । उहाँहरुले त पढ्न पाउनु भएन उहाँहरुका छोराछोरीहरुले पनि गार्डेनमा काम गर्नुका अलावा विद्यालय पनि जान सक्नुहुन्छ । उनिहरु विद्यालय गयो भने अझै यो भन्दा राम्रो उनिहरुका छोराछोरीहरुले गर्न सक्नुहुन्छ भन्ने उद्देश्यका साथ हामीले प्राथमिकता आफ्ना गार्डन र फ्याक्ट्रीमा काम गर्ने स्टापका छोराछोरीहरुलाई पढायौं । हामीसँग वार्षिक १७५ जना विद्यार्थीहरु हुनुहुन्छ, कक्षा एकदेखि १० सम्मका । आजको दिनसम्म आइपुग्दा कञ्चनजंघाबाट कक्षा १ देखि एसईईसम्म पास आउट भएका ३५ सय विद्यार्थीको रेकर्ड हामीसँग छ । प्लस टु को पनि हाम्रो अर्को प्रोग्राम छ । प्लस टु मा कोही भेटनेरी डक्टर, आयुर्वेदिक डक्टर, वभर्सियर, इन्जिनियर, गभर्नमेन्ट अफिसको अफिसर यस्ता धेरै भइसक्नुभएको छ । कोही विदेश जानु भएको छ । कोही शिक्षक बन्नु भएको छ । त्यो देख्दा त आफ्नो एउटा सुन्दर परिवार जस्तो लाग्छ । अहिलेसम्मको रेकर्ड अनुसार यहाँबाट ३५ सय बढी सक्षम नागरिक जन्माउन सफल भएका छौं । यसका साथै हामी अर्गानिक मेभमेन्टमा लागेको भएर किसानहरुको आर्थिक अवस्था समृद्ध पार्न हाम्रो काउ बैंक प्रोजेक्ट छ । यसमा हामीले गाईहरु किसानलाई दिन्छौं । गाई वस्तुको गोबर कञ्चनजंघाले किनी दिन्छ । त्यसले हामी अर्गानिक मल बनाउँछौं भने दूध, दही, मोही खाने जति खाएर बाँकी बजारमा उहाँहरुले बेच्नुु हुन्छ । त्यो उहाँहरुको सर्पोटिभ इनकम हो । त्यस्तै टाढाबाट आएर कम्पनीमा काम गर्नेहरु जसको बस्ने वासस्थान छैन उहाँहरुलाई पनि हामी बासस्थानको व्यवस्थापन पनि गरिदिने गरेका छौं । त्यसलाई हामीले इको फ्रि हाउजिङ भन्छौं ।

तपाईहरुले लामो समयदेखि बाहिरी देशहरुमा चिया निर्यात गर्दै आउनु भएको छ । कस्तो चियाको माग बाहिरी बजारमा ?
एक्सपाेर्ट मार्केट एकदमै राम्रो छ । हाम्रो सबै एडभान्स पेमेन्ट आएर अनि मात्रै गर्ने हो । त्यहाँ पैसा हराउने डर हुँदैन पहिलो कुरा । एक्सपाेर्ट एकमुष्ट पैसा आउँछ । त्यसले केही काम गर्न पनि सहज हुन्छ । निया कफि भनेको नेपालको हाइ अल्टिच्युटको त्यसमाथि अर्गानिक भनेपछि नेपालीले जति बुझेको त्यति नै धेरै विदेशीहरुले बुझेको छ । नेपालको रैछ भनेर बुरु बरु हामी खाँदैनौं । तर, उहाँहरुले नेपालको चिया रुचाउनु हुन्छ । युरोपतिर त झन नेपाल भन्दा पनि हिमालको देश भनेर चिन्छन् । उहाँहरु हिमालको हावा पनि हामीले लिन पाउँछौं भनेर एकदमै रुचाउनुहुन्छ ।
नेपालको चिया बढी कहाँ खपत हुन्छ ?
हाम्रो मेन त युरोप नै जान्छ । फ्रान्स, इटाली पनि जान्छ । संगसंगै युएसए, जापान, हंकङ, चिन पनि जान्छ ।

विदेशमा हाम्रो देशको चियाको यत्रो माग छ । तर, नेपालमा हाम्रै चियाको खपत भइरहेको छैन । अहिले पनि हामी आफ्नै देशको नखाएर बाहिरबाट आएको चिया खाइरहेका छौं । यस्तो किन ? हामीले बुझाउन नसकेको हो?

नेपालमा बनेको हो भन्ने बित्तिकै यो त महंगो हुन्छ भन्ने हाम्रो बुझाइ छ । तर, ८-१० वर्ष यता भने अर्गानिक भनेको राम्रो रहेछ । अर्गानिक खानुपर्दो रहेछ भन्ने सोचाइ मान्छेमा आएको थियो । तर, कोभिड पछि स्वास्थ्य कति महत्वपूर्ण रहेछ भन्ने कुराको अनुभव गरिसके । १० वर्ष अगाडि कोही बिरामी भएर ग्रीन टी खायो भने राम्रो हुन्छ भन्ने हिसाबले मात्रै नेपाली चिया खान्थे । त्यतिबेला र अहिले फरक छ । अहिले अर्गानिक चियाबारे धेरै बुझिसेका छन् । त्यतिबेला बुझाउन सकिएन त्यसमा हाम्रो पनि कमजोरी थियो होला । अहिले हामीले बुझाउन नसकेको भनेको अर्गानिक के हो र अर्गानिक कसरी हुन्छ । बोलेकै आधारमा अर्गानिक हुँदैन । त्यसका लागि धेरै मापदण्डहरु छन् ।

lcci
You might also like

Comments are closed.