रेखा र सरिताको कन्सेप्ट ‘साथी फुड्स’

साथी फुड्सले जन्माएको ‘फस्ट च्वाइस’

दीपा रेग्मी/काठमाडौं

कतै भनिएको छ, ‘आफू सफल बन्ने, ठूलो हुने सपना देखिएको हुन्छ तर उक्त सपना साकार पार्न “समय” लाई सदुपयोग गर्न सक्नुपर्दछ, यसलाई व्यतित होइन लगानी गर्न सिक्नुहोस् ।’ यही भनाइलाई चरितार्थ गर्दै उद्यममा जुटेका छन्, दुई आँटिला उद्यमी –रेखा भट्टराई कँडेल र सरिता शर्मा लम्साल । उनीहरूको ‘साथी फुड्स नेपाल’ नामको मसला उद्योग छ, जुन उद्योगले गएको ५ वर्षदेखि बजारमा ल्याएको छ ‘फस्ट च्वाइस’ नामको मसला । रेखा र सरिता सफल उद्यमी बन्ने प्रयत्नका साथ फस्ट च्वाइसलाई साँच्चिकै फस्ट च्वाइस बनाउने अभियानमा लागि परेका छन् ।

उनीहरूले ५ वर्ष अगाडि काठमाडौंको टोखा नगरपालिका–४ बसुन्धारा हाइट सृजनशील टाेलमा एउटा सानो कोठाबाट मसला बनाउने व्यवसाय सुरु गरे । त्यही मसला व्यवसायले अहिले मसला उद्योगको रूपमा पहिचान बनाउन सफल भएको छ साथै रेखा र सरिताको उद्यमी पहिचान थपिएको छ । उनीहरूका आफ्नै कथा छन्, अनुभव छन् र केही गरौं भन्ने हुटहुटीका इतिहास छन् । ‘सुरुआतको समयका निकै दुःख गर्नु परेको थियो यसलाई स्थापित गर्न ,’ रेखा ती दिन सम्झिन्छिन्,‘यहाँसम्म पनि आउन सकिएला भन्ने लागेको थिएन ।’ काठमाडाैं को गुर्जुधारामा जन्मिएकी रेखा, विवाह गरेर चितवन पुगिन् । दुई सन्तानकी आमा उनी रोजगारीको शिलशिलामा कोरिया पुगिन् । ५ वर्ष कोरियामा बिताएकी उनी घर फर्किएरपछि केही गरौं भन्ने सोंच पलायो । ‘घर फर्किएपछि केही समय त निकै रमाइलो भयो केही काम नगरी बसेकी थिएँ तर विस्तारै मनमा छट्पटी हुनथाल्यो, के गर्ने होला भन्ने भयो,’ उनले भनिन् ।

रेखाका श्रीमान निशान कँडेलको मासु पसल छ– थ्री स्टार मासु पसल । निशानले रेखाको मनको छट्पटी बुझे र भने, ‘तिमी केही गर, म सहयोग गर्छु ।’ श्रीमानको त्यही आँट र भरोसाले उनलाई व्यवसायमा जोडिन प्रेरणा दियो । उनी भन्छिन्, ‘श्रीमान सफल हुनको लागि श्रीमतीको भूमिका हुन्छ भनिन्छ, त्यतिबेला मैले बुझें श्रीमतीमा आँट भरोसा भर्नको लागि पनि श्रीमानको हात हुँदो रहेछ ।’ श्रीमानले त्यो आँट नदिएको भए, आज यो ठाउँमा आउन नसक्ने उनको बुझाई छ । रेखाले बजारको संभावना खोजिन् र लाग्यो मसला उद्योग खोलुँ । त्यही बेला उनको भेट सरितासँग भयो । सरितासँग मन र योजना मिल्यो र खोले, ‘साथी फुड्स नेपाल’ र उत्पादन थाले ‘फस्ट च्वाइस् मसला’ को । उनीहरूले १० लाख रुपैयाँको लगानीमा मसला उद्योग खोलेका हुन् । सरिता भन्छिन्, ‘१० लाखको लगानी बढाएर अहिले २ करोड रुपैयाँ पुगेको छ ।’ मसला उद्योगले अहिले महीनामा २५ देखि ३० लाख रुपैयाँको कारोबार गर्दै आएको छ । उत्पादित मसललाई ट्रेडिङले देशभर सप्लाई गर्दै आएको छ भने गैंडाकोटमा आफ्नै आउटलेट पनि छ ।

jutta mela

हरेकका भान्सामा ‘फस्ट च्वाइस’को मसला अर्थात उत्पादित वस्तु पु¥याउने लक्ष्य रहेको उनीहरू बताउँछन् । ‘सबैको रोजाइमा फस्ट च्वाइसलाई बनाउनको लागि धरै मेहेनत गरेका छौं । सुरुआतको कुरा गर्दा हामीले यसलाई एउटा ब्राण्ड बनाउन धरै मेहेनत गर्नु परेको छ, ’ सरिता सम्झिन्छिन्, ‘कुनै स्टाफ राखेका थिएनौं, आफै मसला बनाउनको लागि चाहिने समान ल्याउथ्यौं, सफा गथ्र्यौं, मेसिनमा राखेर पिन्थ्यौं, प्याक गथ्र्यौं, बजारमा लैजान्थ्यौं ।’

सुरुमा त उनीहरूलाई यस्तो पनि गर्ने काम हो र भन्ने पनि नलागेको होइन् । उनीहरूले बीचमै रोकेर योजनाबाट पछाडि फर्कन मन नलागेको पनि होइन । ‘बहिर हिँड्दा पनि मसला गन्ध आउथ्यो, एक दिन त बैंकमा पैसा राख्न गएका थियौं । सबैले हामीलाई हेरेको जस्तो लाग्ने, सबैलाई हाम्रो कपडामा लागेको मसला गन्ध आएको छ कि भन्ने लाग्ने, ’ रेखाले भनिन् । विस्तारै उनीहरूमा काम प्रति लगाव र आकर्षण बढ्दै गयो । दुई लगानीकर्ता आफै कामदार भएर सुरु भएको व्यवसायमा अहिले १७ जना कामदारले काम पाएका छन् । सरितालाई अहिले लाग्छ, ‘काममा मेहेनत र धैर्यता भयो भने जुनसुकै काममा पनि सफल भइन्छ ।’

त्यसो त उनीहरूको व्यवसाय माथि उठ्नुमा उनीहरू साझेदारीमा बढेको विस्वासले पनि हो । परिवारको भरपुर साथ पाएको बताउने उनीहरू आपसमा एकदमै मिल्छन् पनि । यसभन्दा अगाडि मनीट्रान्सफरको व्यवसाय गरेर बसेकी सरिता पनि श्रीमानको साथ र विश्वासले यो उचाइमा पुगेको बताउँछिन् । उनका श्रीमान सुनिल लम्साल पनि उनीहरूको व्यवसायमा एमडीको रूपमा कार्यरत छन् । पहिले ससेज फ्याक्ट्रीको लागि खोलेको सानो मसला उद्योग अहिले देशको विभिन्न ठाँउमा पुुगेको छ । त्यति मात्र होइन एक चोटी प्रयोग गर्नेले अर्को पटक फस्ट च्वाइस नै खोज्ने उनीहरूको भनाइ छ । धेरै विदेशतिर बस्दै आएका ले पनि मसला लैजाने गरेका छन् । रेखा टिकटकमा पनि निकै भाइरल छिन् । उनको टिकटक हेरेर मानिसहरूले ‘तपाई मसलावाली होइन् त ?’ सोध्ने गर्छन् । रेखालाई त्यही पहिचानमा गर्व लाग्छ । समाजमा पनि उद्यमी महिला भने पछि व्यवहारमा सकारात्मक परिर्वतन आएकोले गर्दा खुशी लाग्ने गरेको उनीहरू बताउँछन् ।

मसला उद्योगमा लगानी र नयाँ नयाँ प्रविधि थप्दै जाने उनीरूको योजना छ । अहिले उनीहरूले उद्योगबाट १०० प्रकारका मसला उत्पादन गरेर विक्री गर्ने गर्दै आएका छन् । त्यसमा पनि बढी माग चिकेन मसला, मटन मसला , मोमो मसला, टिमुरको छोप लागयतका अरू मसलाको पनि बजारमा धेरै माग रहेको उनीहरू बताउँछन् ।

You might also like

Comments are closed.