देशमै काम गर्न कोरियाबाट फर्किएका श्रेष्ठको जेन्जी आन्दोलनमा गुम्यो ज्यान

काठमाडौं । सौरन किशोर श्रेष्ठ आफ्नै देशमा केही उद्यम तथा व्यवसाय गर्न चाहन्थे । आफ्नै देशमा केही काम गरौं भन्ने सोचेर नै उनले कोरियाको जागिर छाडेर स्वदेश फर्किए । उनै सौरनको जेन्जी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको छ ।

काठमाडौं ढुङ्गोधाराामा बस्दै आएका ३८ वर्षीय श्रेष्ठको छातीमा गोली लागेपछि तत्कालै सिभिल अस्पताल लगिएको थियो । तर, अवस्था गम्भीर भएपछि उनलाई काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका छन् ।

सौरनको काकाका छोरा शैशब किशोर श्रेष्ठका अनुसार मृतक श्रेष्ठको छातीमा गोली लागेको र दुई वटा प्वाल देखिएको थियो । शौरनका बुबा आमा अमेरिकामा रहेका कारण समाचार सुनाउन पनि गाह्रो भएको किशोरले बताए ।

दक्षिण कोरियामा पाँच वर्ष काम गरेर नेपाल फर्किएका सौरनले यहीँ बसेर काम गर्ने योजना बनाएका थिए । तर यहाँको अवस्थाप्रति असन्तुष्ट हुँदै उनले फेरि विदेशमा रोजगारी खोज्ने तयारीसमेत थालेका थिए । तर उनको सबै सपना अपूर्ण बनेको छ । जेन जी आन्दोलनसँगै उनको सपनाको पनि अन्त्य भएको छ ।

सौरनसँगै उनकी पत्नी र पाँच वर्षीया छोरा काठमाडौं बस्दै आएका थिए । अहिले सौरनको निधनसँगै पत्नी र परिवार भावविह्वल बनेको छ । उनीहरुको साहरा गुमेको छ ।

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या हालसम्म सौरनसँगै ५१ पुगेको छ ।

You might also like

Comments are closed.