नेपाल धितोपत्र बोर्डका कर्मचारी २१ दिनदेखि आन्दोलनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) का कर्मचारीहरूले अर्थ मन्त्रालयको निर्देशनविरुद्ध सुरु गरेको आन्दोलन आज २१ दिन पुगेको छ। मन्त्रालयले धितोपत्र बोर्डका दुई कार्यविधि खारेज गर्न र विगतमा भुक्तानी भएको रकम असुल गर्न दिएको निर्देशनका कारण कर्मचारी आन्दोलित बनेका हुन् ।

स्मरण रहोस्, असोज ३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्डको कर्मचारी कल्याण कोष कार्यविधि, २०७१कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो। मन्त्रालयले यी कार्यविधिहरू प्रचलित कानुन विपरीत बनेको भन्दै, ती आधारमा विगतमा भुक्तानी भएका रकम सरकारी बाँकी सरह असुल गर्न आदेश दिएको थियो ।

मन्त्रालयको उक्त निर्देशन गत आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकमा पेस गरिएको थियो । तर, सो बैठकले तत्काल कुनै निर्णय नगरी “थप अध्ययन आवश्यक” भन्दै अर्को बैठकमा पुनः पेस गर्ने निर्णय गरेको थियो। सोही कारण कर्मचारीहरूले आफ्नो विरोधलाई निरन्तरता दिएका छन् ।

कर्मचारीहरूले बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने र दिनभर पेन डाउन (काम न गर्ने) गर्दै आएका छन्। यस आन्दोलनका कारण धितोपत्र बोर्डको दैनिक प्रशासनिक कामकाज ठप्प भएको छ ।

पेन डाउनका कारण नयाँ निष्कासन अनुमति, कागजी प्रक्रिया, र अन्य नियामक कामहरू प्रभावित भएका छन् । यसले बजार नियमनमा समेत असर परेको भन्दै लगानीकर्ताले शीघ्र समाधानको माग गरेका छन् ।

कर्मचारी संघका अनुसार उनीहरू कानुन विपरीत निर्णय कार्यान्वयन हुन नदिन र कर्मचारी अधिकार सुरक्षित गर्न प्रतिबद्ध छन् ।उनीहरूले मन्त्रालयले दिएको निर्देशन फिर्ता लिएर वार्ताको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्।

You might also like

Comments are closed.