४८ दिनपछि सेबोनका कर्मचारी कार्यालय फर्किए

काठमाडौं । आन्दोलनमा रहेर ४८ दिनदेखि काम ठप्प पारेका नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारी डेढ महिनाभन्दा बढी समयपछि काममा फर्किएका छन् ।

गत असोज २ गते अर्थ मन्त्रालयले सेबोन कर्मचारीले पाउँदै आएको सेवासुविधा कटौती गर्न निर्देशनसहित पत्र पठाएपछि कर्मचारीहरू विरोधमा उत्रिएका थिए । आन्दोलनका कारण सेबोनको सेवा सुविधा र दैनन्दिन कामकाज लामो समय प्रभावित भयो ।

सेबोन कर्मचारीहरूले संस्थाको स्वायत्तता जोगाउन, सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय फिर्ता लिन माग गर्दै आएका थिए। अर्थ मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि कर्मचारीहरूले आन्दोलन स्थगित गरेको सेबोन कर्मचारी युनियनले जनाएको छ ।

सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाका अनुसार आइतबार भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिवहरूले कात्तिक मसान्तभित्र माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको हो ।

You might also like

Comments are closed.