काठमाडौं । नेपालको सेयर बजार, विशेष गरी दोस्रो बजारलाई प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा.नवराज अधिकारी बताउँछन् । उनकाअनुसार ब्रोकरहरूले बजारको मेरुदण्डका रूपमा काम गर्ने भएकाले उनीहरू जति दक्ष र उत्तरदायी हुन्छन्, बजार त्यति नै सुदृढ हुन्छ ।
“दोस्रो बजारमा लगानीकर्ताका अर्डरहरू कार्यान्वयन गर्ने र उनीहरूका समस्या सुन्ने मुख्य जिम्मेवारी ब्रोकरहरूकै हुन्छ । तर, पछिल्लो समय ब्रोकरहरूको सेवालाई लिएर लगानीकर्ताहरूका विभिन्न गुनासोहरू पनि व्यापक रूपमा आउने गरेका छन्,” डा. अधिकारीले भने, “विशेष गरी कारोबार भएको टी प्लस टुको समयसीमाभित्र राफसाफ (सेटलमेन्ट) नगरेको, साना र नयाँ लगानीकर्ताका आदेशहरूलाई तुरुन्त कार्यान्वयन नगरेको र लगानीकर्ताका गुनासोप्रति खासै उत्तरदायी नभएको जस्ता आरोपहरू ब्रोकरमाथि लाग्ने गरेका छन् ।” यस्ता कमजोरी र गुनासोहरूलाई सम्बोधन गर्न धितोपत्र बोर्डले निरन्तर रूपमा निर्देशन र अनुगमन गरिरहेको जनाएको छ ।
बोर्डले ब्रोकरहरूलाई अग्र पंक्तिको नियामक निकायुका रूपमा समेत हेर्ने हुनाले उनीहरूलाई समयसमयमा अभिमुखीकरण र निर्देशन दिने कार्य भइरहेको कार्यकारी निर्देशक डा अधिकारीले जानकारी दिए । “धेरै गुनासो आउने ब्रोकरहरूको हकमा बोर्डले प्रत्यक्ष सोधपुछ गर्ने र ऐन नियम बमोजिम कानुनी कारबाही अगाडि बढाउने चेतावनी समेत दिएको छ ।”



Comments are closed.