गोल्ड इटिएफ: बहुमूल्य धातुलाई पूँजीबजारसँग जोड्ने सेतु

अजय ढुङ्गाना

शीर्षक सुनको भए पनि कुरा चाँदीबाट शुरु गरौं । यसो किन गरौं भने सन् २०२६ मा प्रवेश गर्दै गर्दा, सन् २०२५ मा उत्कृष्ठ प्रतिफल दिने एसेट (सम्पत्ति) चाँदी रह्यो । २०२५ को शुरुमा चाँदी नेपाली बजारमा एक हजार सात सय पैसठ्ठी रूपैयाँ प्रतितोलामा कारोबार भएकोमा बर्षान्तमा करीब १५३ प्रतिशतले वृद्धि भई प्रतितोला चार हजार चार सय सत्तरी रूपैयाँ पुगेको छ । त्यसो त २०२५ मा सुनको मूल्य वृद्धिबाट भएको प्रतिफल पनि कम आक्न मिल्ने भने थिएन । सुनको नेपाली बजारमा एक लाख एकाउन्न हजार रूपैयाँ प्रति तोलामा कारोबार भएकोमा बर्षान्तमा दुई लाख एकसठ्ठी हजार पुगेको थियो, जुन वृद्धि झण्डै ७३ प्रतिशतको हो । सुन चाँदी जस्ता बुलियन वा मेटलमा लगानी गरेर प्रतिफल लिन खोज्ने नेपालीहरूका लागि नेपालमा व्यवस्थित वित्तीय साधनको अभाव रहेको छ । यो लेखमा म गोल्ड इटिएफले यस्तो अभाव कसरी पूरा गर्न सक्छ र यो कसरी बहुमूल्य धातुलाई पूँजीबजारसंग जोड्ने सेतु कसरी हुनसक्छ भन्ने बिषयमा केन्द्रीत हुनेछु ।

नेपाल जस्तो मुलुकमा सुन÷चाँदी केवल गहना वा विलासिताको वस्तु मात्र होइन, यो सामाजिक प्रतिष्ठा, सांस्कृतिक अभ्यास र आर्थिक सुरक्षाको प्रतीकसमेत हो । विवाह, पर्व वा कुनै उत्सव तथा भविष्यप्रतिको अनिश्चितताको भयसँगै जोडिएर नेपाली समाजमा सुन÷चाँदीले विशेष स्थान ओगटेको छ । अर्कोतिर यो औपचारिक वित्तीय प्रणाली भन्दा बाहिर रहँदै आएको प्रमुख लगानीको साधनको रूपमा रहेको छ । नेपाली समाजको सुन÷चाँदी जस्ता बहुमूल्य धातु प्रतिको आकर्षण आधुनिक वित्तीय प्रणालीसँग पर्याप्त रूपमा जोडिन नसक्दा राज्य, पूँजीबजार र लगानीकर्ता तीनै पक्षले सम्भावित लाभ गुमाइरहेका छन् ।

एक्सचेञ्ज ट्रेडेड फण्डको अवधारणा
आधुनिक वित्तीय बजारमा लगानीका नयाँ उपकरणहरूले परम्परागत लगानीका ढाँचालाई चुनौती दिइरहेका छन् । यसमध्ये एक हो एक्सचेञ्ज ट्रेडेड फण्ड (इटिएफ), यो परम्परागत सामूहिक लगानी कोषको परिस्कृत रूप हो । यसले लगानीकर्तालाई सजिलो र पारदर्शी तरिकाले विभिन्न सम्पत्तिमा एकसाथ लगानी गर्ने अवसर प्रदान गर्छ । इटिएफ मूलत एक प्रकारको लगानी कोष हो, जसले विभिन्न सम्पत्तिहरूको बास्केटमा लगानी गर्छ ।

सतहमा हेर्दा इटिएफ सामूहिक लगानी कोष जस्तै लागेता पनि यो सामूहिक लगानी कोष भन्दा भिन्न धितोपत्रको उपकरण हो । सामूहिक लगानी कोष सामान्यतया कोष व्यवस्थापकमार्फत् दैनिक रूपमा जारी हुने खुद इकाइ मूल्य  मा मात्रै खरिद बिक्री हुन्छ भने र इटिएफका इकाइहरू स्टक एक्सचेन्जमा सूचीकृत गरिएको हुन्छ र यो शेयर जस्तै शेयरजस्तै निरन्तर कारोबार गर्न मिल्छ । यसले मूल्य पारदर्शिता, तरलता र लगानीकर्तालाई तत्काल धितोपत्र बजारमा प्रवेश र सम्पत्ति विनिमेश गर्ने सुविधा प्रदान गर्छ । साथै, सामान्यतया इटिएफको व्यवस्थापन खर्च पनि तुलनात्मक रूपमा कम हुन्छ, जुन दीर्घकालीन लगानीकर्ताका लागि आकर्षक पक्ष हो । विश्वव्यापी रूपमा इटिएफको बजार आकार दश ट्रिलियन अमेरिकी डलर नाघिसकेको छ । वित्त बजारमा रोबो एडभाइजर र कृतिम बैद्धिकता (एआइ)का कारण इटिएफको बजार पूँजीकरणको वृद्धि झनै आक्रमक हुने आँकलन गरिएको छ । नेपालमा पनि स्टक एक्सचेन्जमा इटिएफको प्रवेशले लगानी वातावरणलाई थप गतिशील बनाउन सक्छ । सैद्धान्तिक रूपमा फरक भएपनि नेपालको सन्दर्भमा नेप्सेमा सूचीकृत भएका क्लोज इन्ड सामूहिक लगानी कोषहरूले केही हदसम्म इटिएफको भूमिका निर्वाह गरेका छन् ।

गोल्ड इटिएफ – गुमिरहेको अवसर
नेपालमा बहुमूल्य धातुमा लगानी गर्न चाहने लगानीकर्तालाई आफैंले यस्ता धातु भौतिक रूपमा नै खरिद गर्नुपर्ने बाध्यता छ । सामान्यतया सुन÷चाँदी जस्ता धातुहरू ठूलो परिमाणमा खरिद गर्नका विभिन्न कठिनाइ छ भने अर्कोतर्फ यस्ता धातुहरू मेटल बार वा सिक्काको रूपमा उपलब्धता ज्यादै न्यून रहने हुँदा गरगहनाका रूपमा खरिद गर्नुपर्ने बाध्यता समेत छ । गरगहनाका रूपमा खरिद गर्दा, गरगहना बनाउदा प्रयोग हुने रसायन र जर्तीका कारण यस्तो धातुको शुद्धतामा कमी आउने हुँदा यसको तरलतामा नकरात्मक प्रभाव पार्दछ । बहुमूल्य धातुको मूल्य उतार चढाबबाट फाइदा लिन चहाने क्उभअगबितयच प्रकृतिका कारोबारीले समेत भौतिक धातु खरिद गर्नु पर्दा उच्च रकम लगानी मार्फत मात्रै त्यस्तो कारोबार सम्भव हुने गर्दछ । यसका अलावा भौतिक रूपमा धातु खरिद बिक्री गर्दा कारोबार लागत समेत उच्च रहने गर्दछ । यिनै समस्याहरू समाधान गर्न वित्तीय बजारले सिर्जना गरेको उपकरण हो – गोल्ड इटिएफ ।

गोल्ड इटिएफको आधारभूत सम्पत्ति सुन चाँदी जस्ता बहुमूल्य धातु हुने गर्दछ । लगानीकर्तासंग संकलन गरिएको पैसाबाट भौतिक रूपमा यस्ता धातु खरिद गरी सुरक्षित रूपमा भण्डारण गरि सम्पत्तिको बास्केट निर्माण गरिएको हुन्छ । यसमा लगानीकर्ताले धातुको मूल्य ट्रेस गर्ने इकाई खरिद गर्छन्, तर धातु भौतिक रूपमा लगानीकर्ता आफैले होल्ड गर्नु पर्दैन । अर्थात् लगानीकर्ताले आफैले यस्ता धातु नकिनिकनै यस्ता धातुको मूल्यमा हुने परिवर्तनबाट लाभ वा क्षति व्यहोर्न सक्छन् । गोल्ड इटिएफमा हुने जोखिम कम्पनी विशेषको वित्तीय उपलब्धिसंग सरोकार नराखी मुख्यतः बास्केटमा राखिएका मूल्यवान धातुको अन्तर्राष्ट्रिय मूल्य र विनिमय दरको प्रभावसंग मात्रै हुने गर्दछ । उदाहरणका लागि सन् २०२४ को अन्त्यमा एउटा लगानी कोषले रू एक अर्ब रूपैयाँ लगानीकर्ताहरूबाट सम्पूर्ण प्रकृया पूरा गरी जम्मा गर्यो । उक्त कोषले रू १० अंकित दश करोड इकाइहरू बनायो । मानौं उक्त एक अर्बको चालिस प्रतिशत सुनमा, चालिस प्रतिशत चाँदीमा र बाँकी बिस प्रतिशत वार्षिक ८ प्रतिशत व्याज प्राप्त हुने मुद्दती खातामा २०२५ को पहिलो दिनमा कोषले लगानी गर्यो । २०२५ को अन्त्यमा आइपुग्दा रू १० अंकित उक्त एक इकाइको सम्पत्तिको मूल्य १९ रूपैयाँ भन्दा बढी भइसकेको हुने थियो । लगानीकर्ताले १० रूपैयाँको लगानीको इकाइ १९ रूपैयाँमा बिक्री गरी लाभ लिन सक्छद भने सरकारले लाभ रकमबाट लाभकर प्राप्त गर्दछ ।

गोल्ड इटिएफका फाइदाहरू
गोल्ड इटिएफले लगानीकर्तालाई पोर्टफोलियो विविधीकरणको राम्रो अवसर प्रदान गर्छ । परम्परागत रूपमा लगानीकर्ताहरू शेयर, ऋणपत्र, मुद्दती खाता वा रियल इस्टेटमा सीमित रहन्छन् । ऋणपत्र वा मुद्दती खाता कम जोखिम बोक्ने फिक्स इनकम एसेट भयता पनि नेपाल जस्तो अर्थतन्त्रमा लगानीको ठूलो हिस्सा शेयर बजारले ओगटेको छ, जसले धितोपत्र बजारको उतारचढावमा ठूलो जोखिम बोक्छ । लगानी विविधीकरणका उपकरणहरू अत्यन्तै न्यून भएको हाम्रो जस्तो वित्तीय बजारमा गोल्ड इटिएफले लगानीकर्तालाई सानो रकमबाटै लगानी विविधीकरणको उपयुक्त अवसर सृजना गरिदिन्छ । यसरी सृजित अवसरबाट पूँजीबजारमा सानो सानो रकम लगानी गर्न चाहने लगानीकर्ताहरूको जोखिम कम गर्न सहयोग गर्छ । सुन चाँदी जस्ता धातुहरूले लगानीकर्ताको पोर्टफोलियोलाई सन्तुलित बनाउँछन् किनकि सामान्यतया सुनको मूल्य शेयर बजारसँग विपरित दिशामा हिड्ने गरेको पाइन्छ । उदाहरणका लागि, आर्थिक मन्दीमा शेयर बजार घट्दा सुनको मूल्य बढ्ने गरेको देखिन्छ ।

विभिन्न अध्ययनहरूको निश्कर्षका आधारमा हेर्ने हो भने लगानीकर्ताले पोर्टफोलियोमा १० प्रतिशतसम्म सुन/ चाँदी समावेश गर्दा वार्षिक प्रतिफल २ प्रतिशतसम्मले बढ्न सक्दछ । गोल्ड इटिएफ मार्फत लगानीकर्ताहरू शेयर जसरी डिजिटल रूपमा सुन खरिद गर्न सक्ने भए पश्चात यसले सुनको कालोबजारी र तस्करी समेत कम गर्दै वैध आयात बढाउन सहयोग गर्छ । नेपालमा वार्षिक करिब २०–३० टन सुन वैधानिक स्रोतबाट आयात हुने गरेको तथ्याङ्क छ, तर अध्ययनहरूले अनौपचारिक रूपमा समेत सुन भित्रने गरेको देखाएको छ । गोल्ड इटिएफले गर्दा सुनमा लगानी गर्न चाहने लगानीकर्तालाई भौतिक रूपमा सुन खरिद गर्नुपर्ने बाध्यता हटाउछ । सुन÷चाँदी जस्ता बहुमूल्य धातुमा आधारित दोस्रो बजारको विकास विस्तार हुनुका साथै यस्ता धातुमा हुने लगानीलाई नियमन गर्दै र पूँजीगत लाभकर प्रकृतिको राजस्व वृद्धि गर्न सहयोग गर्छ । यस्तै यस प्रकारको उपकरणको विकासले स्टक एक्सचेञ्जमा कारोबार रकममा समेत उल्लेख्य रूपमा वृद्धि गर्छ, जसले रोजगारी र थप लगानी आकर्षित गर्न भूमिका खेल्छ । भारतमा सन् २००७ देखि शुरु भएको गोल्ड इटिएफले ५००० करोड रुपैयाँभन्दा बढी लगानी जुटाएको छ, जसले वित्त बजारलाई थप मजबुत बनाएको छ ।

अबको बाटो
नेपालमा गोल्ड इटिएफ सुरु गर्न विद्यमान धितोपत्र ऐन र सामूहिक लगानी कोष सम्बन्धी नियमावलीमा केही संशोधन वा स्पष्ट व्याख्या गरिनु पर्दछ । सामूहिक लगानी कोष नियमावलीको संसोधन मार्फत इटिएफ शुरुवात गर्न सक्ने प्रावधानहरू थप गर्दै, बास्केटमा राखिने सम्पत्तिमा बहुमूल्य धातु समेत राख्न सक्ने व्यवस्था आवश्यक पर्दछ । राष्ट्रका लागि आवश्यक सुनको आयात राष्ट्र बैंकमार्फत हुँदै आएको हुँदा गोल्ड इटिएफ संचालनका लागि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र सम्भावित सुरक्षणकर्ता (ऋगकतयमष्बल) संस्थाबीच स्पष्ट भूमिका बाँडफाँड हुनुपर्छ । लगानीकर्ताको हकहित कायम राख्न तथा पूँजीबजार प्रतिको विश्वसनियता जोगाइराख्न बहुमूल्य धातुको भण्डारण, मूल्यांकन र लेखापरीक्षणसम्बन्धी मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुसार तय गर्नुपर्छ । गोल्ड इटिएफ केवल नयाँ वित्तीय उपकरण मात्र होइन, यो बहुमूल्य धातु प्रतिको हाम्रो परम्परागत सोच र आधुनिक पूँजीबजारलाई जोड्ने सेतु हो । यसका लागि सरकारले नीतिगत लचकताका साथै कर प्रोत्साहन, नियामकले प्राविधिक सहजताका र लगानीकर्ता शिक्षा तथा प्राज्ञिक क्षेत्रले गर्ने सार्वजनिक बहसले यसप्रति विश्वास निर्माण गर्न मद्दत पु¥याउँछ । दीर्घकालमा यो कदमले पूँजीबजारको गहिराइ, वित्तीय समावेशिता र अर्थतन्त्रको स्थायित्व बढाउने गरी परिणाम दिन सक्दछ ।
(ढुंगाना नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक हुन् ।)

 

You might also like

Comments are closed.