धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन २० दिन पुग्यो, प्रशासनिक कामकाज ठप्प

काठमाडौं । अर्थ मन्त्रालयको निर्देशनविरुद्ध नेपाल धितोपत्र बोर्डका कर्मचारीले सुरु गरेको आन्दोलन आज २० दिन पूरा भएको छ । कर्मचारीहरूले बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने र दिनभर पेन डाउन गरेर काम ठप्प राखिरहेका छन् । यसले बोर्डको दैनिक प्रशासनिक कामकाज ठप्प पार्दै निष्कासन अनुमति समेत अवरुद्ध बनाएको छ ।

अर्थ मन्त्रालयले असोज ३ गते बोर्डलाई धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो । साथै, प्रचलित कानुन विपरीत भएको आधारमा विगतमा कोषबाट भुक्तानी भएको रकम सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल गर्न तत्काल कार्य प्रक्रिया सुरु गर्न भनिएको थियो ।

तर, उक्त निर्देशन हालसम्म बोर्डमा पेश हुन सकेको छैन । बोर्ड बैठक नबसेको कारण पत्र बोर्डमा पेश हुन सकेको थिएन । बोर्डका एक सञ्चालकका अनुसार आइतबार बोर्ड बैठक बस्ने छ, जसमा नयाँ सञ्चालकलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । यसअघि अर्थ मन्त्रालय प्रतिनिधि रहेका महेश बरालको ठाउँमा सिनियर सहसचिव उत्तर खत्री बोर्ड सञ्चालक बनेका छन् ।

सो बैठकमा कर्मचारी आन्दोलन र अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी विषयमा छलफल हुने छ । साथै, पूँजीबजार सुधार कार्यदलले दिएको सुझावअनुसार समयसीमित कार्य योजना पनि बोर्डमा प्रस्तुत गरिने बुझिएको छ ।

You might also like

Comments are closed.