अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने धितोपत्र बोर्डको चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । ।

बोर्डले आइतबार एक सूचना जारी गर्दै  वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

आइतबार जारी सूचनामा भनिएको छ, “वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान गरेको छैन, पछिल्लोसमयमा कुनै संस्था/कम्पनीबाट वस्तु विनिमय बजार सम्बन्धी कारोबार भईरहेको भन्ने जानकारीे प्राप्त भएकोले यसमा बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ । वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गराईन्छ ।”

यही असोज २ मा सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम उक्त सूचनासँग सम्बन्धित सम्पूर्ण प्रकृया यथास्थितीमा स्थगित रहेको बोर्डले सूचनामा जानकारी गराएको छ । साथै, बिनाअनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्तालाई बोर्डले आग्रह गरेको छ ।

 

 

You might also like

Comments are closed.