तपाईंको कार्यकाल ऐतिहासिक रह्यो भन्ने गरिन्छ । धेरैले तपाईंलाई अध्यक्ष दोहोर्याउन आग्रह गरेको पनि सुनिन्छ । तर किन अध्यक्षमा दोहोरिने चाहना राख्नुभएन ?
नेतृत्वमा टाँसिरहनु कमजोरीको प्रतीक हो, र सही समयमा सत्ता हस्तान्तरण गर्नु लिगेसी हो । म संस्थालाई व्यक्ति प्रधान होइन, पद्धति प्रधान बनाउन चाहन्छु । मेरो बहिर्गमनले इक्यानमा नयाँ विचारको ढोका खोल्नेछ र एउटा यस्तो संस्कारको विकास गर्नेछ, जहाँ नेतृत्व लोभले होइन, त्याग र उत्तरदायित्वले चल्छ भन्ने सन्देश स्थापित हुनेछ ।
के तपाईंलाई निवर्तमान अध्यक्ष बन्दा आफ्नो शक्ति र चमक घट्छ जस्तो लाग्दैन ?
शक्ति कुर्सीमा हुँदैन, काममा हुन्छ । निबर्तमान अध्यक्ष रहँदा संस्थाको सेकेन्ड म्यान मात्र होइन, अभिभावक पनि बन्नेछु । मेरो चमक मेरो पदले होइन, मैले बसालेको पद्धतिले दिनेछ भन्ने मेरो विश्वास हो ।
तपाईंले इक्यानलाई कुन उचाईमा पुर्याएँ भन्ने अनुभूति गर्नुभएको छ ?
मैले इक्यानलाई एक व्यावसायिक संघबाट रूपान्तरण गरेर राज्यको बौद्धिक र नीतिगत साझेदार बनाएँ । हिजो राज्यले हामीलाई हेर्ने गथ्र्यो, आज हामीसँग सल्लाह लिने गर्छ । हामीले इक्यानलाई एउटा यस्तो निर्णायक शक्ति बनायौँ, जसको सहमति बिना शैक्षिक परामर्शको कुनै पनि राष्ट्रिय नीति अब पूर्ण हुन सक्दैन ।
धेरै नेताहरू पद छोड्दा दुःखी हुन्छन् । तपाईं किन यति धेरै प्रफुल्ल हुनुहुन्छ ?
किनकि, म एउटा मिशनलाई सफल बनाएर बिदा हुँदैछु । म पद छोड्दै छु, तर मैले कमाएको सयौं सदस्यहरूको विश्वास र माया मसँगै छ । त्यो नै मेरो सबैभन्दा ठूलो रिवार्ड हो ।
तपाईंको नेतृत्व शैलीलाई ‘एग्रेसिभ’ भन्ने गर्छन् । के यो सही हो ?
म मुद्दामा एग्रेसिभ थिएँ र छु, तर मान्छेमा होइन । संस्थाको हितमा सम्झौता नगर्नुलाई यदि एग्रेसिभ भनिन्छ भने म त्यो ट्यागमा गर्व गर्छु ।
अब निबर्तमान अध्यक्ष बन्दै गर्दा तपाईंको उपस्थिति वा भूमिका कस्तो रहला ?
म अब ‘फ्रन्ट–लाइन’मा होइन, ‘स्ट्रयाटेजिक–लाइन’मा देखिनेछु । मेरो उपस्थितिले नयाँ कार्यसमितिलाई आत्मविश्वास दिनेछ ।
तपाईंलाई ‘सक्सेसफुल लिडर’ भन्दा खुसी लाग्छ कि ‘सिग्निफिकेन्ट लिडर’ ?
मलाई ‘सिग्निफिकेन्ट’ (सार्थक) लिडर भन्दा खुसी लाग्छ । सफल त जो कोही हुन सक्छ, तर सार्थक त्यो हुन्छ जसले अरूको जीवनमा परिवर्तन ल्याउँछ ।
तपाईं अध्यक्षमा निर्वाचित हुँदै गर्दा इक्यानमा गुटबन्दी देखिन्थ्यो । अध्यक्ष बनेपछि तपाईंले इक्यान भित्रको ‘गुटबन्दी’ अन्त्य गर्नुभयो ?
मैले गुटबन्दीलाई ‘व्यावसायिक एजेन्डा’ले विस्थापित गरिदिएँ भन्ने लाग्छ । जब सबैको साझा लक्ष्य एउटै हुन्छ, गुटहरू आफैँ बिलिन हुन्छन् ।
तपाईंका लागि अध्यक्ष पद के थियो ?
यो मेरो लागि एउटा ‘मिसन’ थियो । एउटा यस्तो मिसन, जहाँ मलाई यो क्षेत्रको भविष्य बदल्ने जिम्मेवारी दिइएको थियो ।
परामर्श क्षेत्रका विविध विषयमा सिंहदरबारका बन्द कोठाहरूमा वार्ता गर्दा तपाईंले कस्तो ‘नेगोसिएसन’ गर्नुभयो?
मैले कहिल्यै याचना गरिनँ, मैले सधैँ दाबी गरेँ । मैले राज्यलाई यो महसुस गराएँ कि हामी समस्या होइनौँ, हामी त नेपालको शैक्षिक र आर्थिक विकासका साझेदार हौं । आत्मसम्मानसहितको वार्ता नै मेरो शैली रह्यो ।
यो दुई वर्षमा इक्यानको राजनीतिक पहुँच मात्र बढेको हो कि प्रभाव पनि ?
पहुँच अस्थायी हुन्छ, प्रभाव स्थायी । हामीले केवल मन्त्री र नेताहरूलाई भेटेनौँ, उनीहरूको सोचाइमा परिवर्तन ल्यायौँ । आज राज्यले शैक्षिक परामर्श क्षेत्रलाई हेर्ने चस्मा बदलिएको छ, यो नै हाम्रो वास्तविक प्रभाव हो ।
जसले तपाईंको बिरोध गरे, उनीहरुप्रति तपाईंको धारणा के छ ?
मेरा कुनै बिरोधी छैनन्, केवल फरक विचार राख्ने केही मित्रहरू छन् । उनीहरूको प्रश्नले नै मलाई अझ बढी काम गर्न प्रेरित ग¥यो । म उनीहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।
तपाईंको जीवनको यो दुई वर्षलाई एक शब्दमा भन्नुपर्दा ?
‘तपस्या’ । मैले इक्यानलाई आफ्नो व्यवसाय र परिवारभन्दा माथि राखेर सेवा गरेँ ।
तपाईंले इक्यानलाई ‘सेलिब्रेटी अर्गनाइजेसन’ बनाउनुभयो भन्ने पनि छन् । के भन्नुहुन्छ ?
हो, आज इक्यानको नाम सुन्नासाथ मान्छेले सम्मान गर्छन् । हामीले यसलाई राष्ट्रिय चर्चाको केन्द्रमा ल्यायौँ । यसलाई राम्रै मान्न सकिन्छ ।
तपाईंको कार्यकालमा धेरै ‘डिग्निटरिज’हरूसँगको उठबस भयो, के यसले तपाईंको धरातल परिवर्तन गर्यो ?
मानिसको उचाइ उसले भेट्ने मान्छेले होइन, उसले गर्ने व्यवहारले निर्धारण गर्छ । म मन्त्रीसँग जति सहज थिएँ, एउटा साधारण सदस्यसँग त्योभन्दा बढी विनम्र थिएँ । मेरो धरातल सधैँ इक्यानको सदस्य नै रह्यो ।
तपाईँले नेतृत्व सम्हाल्दा इक्यान कहाँ थियो र आज कहाँ छ ?
म आउँदा इक्यान रक्षात्मक अवस्थामा थियो । आज हामी आक्रामक र निर्णायक छौँ । हिजो हामी सरकारको निर्णय कुरेर बस्थ्यौँ, आज सरकारले निर्णय गर्नुअघि हाम्रो राय पर्खिन्छ । हामीले संस्थालाई ‘रिएक्टिभ’ बाट ‘प्रो–एक्टिभ’ बनाएका छौँ ।
तपाईंले ‘केन्द्र र शाखा’बीचको दूरी कसरी नजिक बनाउन सफल हुनुभयो ?
मैले काठमाडौं केन्द्रित मानसिकतालाई तोडिदिएँ भन्ने लाग्छ । हेटौंडादेखि बुटवलसम्म र पोखरादेखि झापासम्मको यात्राले सबैलाई यो विश्वास दिलायो कि इक्यान भनेको काठमाडौँ मात्र होइन, सिंगो नेपाल हो ।
तपाईंको कार्यकालको सबैभन्दा ‘अन्डर-रेटेड’ सफलता कुन हो ?
सदस्यहरूबीचको आन्तरिक अनुशासन र मर्यादा नै हो । यो बाहिर देखिँदैन, तर यसले संस्थाको गरिमा निकै बढाएको छ ।
तपाईंले आफ्नो टिमलाई आफूभन्दा बढी ‘एक्सपोजर’ दिनुभएको हो ?
अवश्य हो । एउटा नेताको सफलता तब हुन्छ जब उसको टिमका सदस्यहरू पनि नेता बन्न सक्छन् । मैले सधैँ हामी भनेर काम गरेँ, म भनेर होइन ।
अब नेतृत्व हस्तान्तरणको तयारीमा हुनुहुन्छ । बिदाइको यो घडीमा तपाईंले आफ्नो कार्यसमितिलाई के भन्न चाहनुहुन्छ ?
तपाईंहरू बिना यो सफलता असम्भव थियो । हामी एउटा टिम मात्र होइन, एउटा परिवार बनेर काम ग¥यौँ । तपाईंहरूको साथ नै मेरो कार्यकालको सबैभन्दा ठूलो पुँजी हो ।
इक्यानको अध्यक्ष हुनु अघिको शेषराज र अहिलेको शेषराजमा के भिन्नता देख्नुहुन्छ ?
अहिले म धेरै धैर्यवान् र सन्तुलित छु । नेतृत्वले मलाई मानिसका फरक स्वभाव र सरकारी संयन्त्रको जटिलता बुझ्ने ठूलो अवसर दियो । मेरो आत्मविश्वासमा निकै वृद्धि भएको छ ।
तपाईंको सक्सेस स्टोरीको नायक को हो?
मेरो टिम र मेरा आम सदस्यहरु ।
तपाईंले इक्यानको ‘डीएनए’मा कुन नयाँ तत्व भर्नुभयो ?
व्यावसायिक स्वाभिमान ।
यदि नेतृत्व एउटा आर्ट (कला) हो भने, तपाईंको कार्यकाल कुन ‘पेन्टिङ’ जस्तो हो ?
मेरो कार्यकाल एउटा ‘मोज्याक पेन्टिङ’ जस्तो हो । जहाँ विभिन्न विचार, फरक स्वभाव र अनेक चुनौतीका रङहरू थिए । मैले ती सबैलाई मिलाएर एउटा सुन्दर र अर्थपूर्ण चित्र (नतिजा) तयार गरेँ, जसमा एकताको रङ सबैभन्दा गाढा छ ।
नेतृत्वको सबैभन्दा ठूलो ‘शत्रु’ के हो ?
नेतृत्वको ठूलो शत्रु बाहिरको विरोध होइन, बरु भित्रको ‘यथास्थितिवाद’ (क्तबतगक त्तगय) हो । ‘हिजो यस्तै चल्थ्यो, आज पनि यसै गरौँ’ भन्ने सोचलाई चिर्नु नै मेरो कार्यकालको सबैभन्दा ठूलो लडाइँ रह्यो ।
तपाईंको नेतृत्वको कुन कुराले आगामी अध्यक्षलाई दबाब दिनेछ ?
मेरो कार्यसम्पादनको गति । मैले इक्यानलाई जुन गतिमा दौडाएको छु, त्यो गति कायम राख्नु नयाँ नेतृत्वका लागि चुनौती र प्रेरणा दुवै हुनेछ ।
तपाईंको नेतृत्वको ‘ग्रेभिटी’ (गुरुत्वाकर्षण) के थियो जसले सबैलाई तानेर राख्यो ?
मेरो समान व्यवहार । ठूला व्यवसायी हुन् वा साना, मेरो कार्यकक्षमा सबैले उस्तै सम्मान र सुनुवाइ पाए ।
तपाईंलाई ‘मिडिया डार्लिङ’ पनि भनिन्छ, यसको रहस्य के हो ?
मैले मिडियालाई सूचना मात्र दिइनँ, उनीहरूलाई यस क्षेत्रको सच्चा मुद्धा बुझाएँ ।
तपाईंको कार्यकालमा महिला नेतृत्वलाई स्थापित गर्न कसरी भूमिका खेल्नुभयो ?
इक्यानमा महिलाहरुको संख्या कम भएपनि त्यो अर्थपूर्ण र जिम्मेवारीपूर्ण सहभागिता थियो । हामीले महिला सदस्यहरूलाई निर्णायक तहमा ल्याएर उहाँहरूको क्षमतालाई संस्थाको मुख्य धारमा जोड्न सफल भयौं ।
तपाईंको २ वर्षे कार्यकालमा शिक्षा मन्त्रालयको दैलो कति पटक ढकढक्याउनुभयो ?
मन्त्रालय धाउनु मेरो रहर होइन, बाध्यता र जिम्मेवारी थियो । शिशीर खनाल, सुमना श्रेष्ठ, विद्या भट्टराई, रघु पन्त, महाबिर पुन शिक्षा मन्त्रीहरूसँग मैले १५ पटकभन्दा बढी औपचारिक र निर्णायक भेटघाट गरेँ । यी भेटहरू केवल फोटो खिचाउन थिएनन्, बरु शैक्षिक परामर्श क्षेत्रको नीतिगत परिवर्तन र व्यवसायीको हकहितका लागि भएका ‘ब्याटल’हरू थिए ।
के शिक्षा मन्त्रालयले अब इक्यानलाई आफ्नो अनिवार्य साझेदार मान्छ ?
पक्कै पनि । हिजो मन्त्रालयले हाम्रा लागि नियम बनाउँथ्यो, आज हामीसँग बसेर नियम बनाउँछ । यो ‘पोलिसि सिफ्ट’ नै मेरो कार्यकालको सबैभन्दा ठूलो लिगेसी हो । हामीले राज्यलाई बुझायौँ कि हामी बिना गुणस्तरीय शैक्षिक परामर्शको परिकल्पना सम्भव छैन ।
तपाईंको नेतृत्वको ‘भिजीबिलीटी’ मन्त्रालयका उच्च अधिकारीहरूका बीच कस्तो रह्यो ?
मन्त्रालयका सचिवदेखि मन्त्रीसम्मका लागि शेषराज भट्टराई भनेको त्यस्तो व्यक्ति बन्यो जो केवल समस्या लिएर आउँदैन, समाधान र डेटा बोकेर आउँछ । हाम्रो उपस्थिति निर्णायक र सम्मानजनक रह्यो ।
के तपाईं अब राष्ट्रिय राजनीतिमा होमिनुहुन्छ ?
मेरो पहिलो प्राथमिकता शिक्षा र परामर्श क्षेत्र नै हो । तर यदि राष्ट्रलाई मेरो अनुभव र क्षमताको आवश्यकता पर्यो भने, म कहिल्यै पछि हट्ने छैन ।
तपाईंलाई ‘सेलिब्रेटी प्रेसिडेन्ट’ भनिन्छ, के यो पदको गरिमा सुहाउँदो उपमा हो ?
नेतृत्व पर्दा पछाडि लुकेर बस्नु हुँदैन । यदि मेरो उपस्थिति र भिजिविलिटीले संस्थाको मुद्दा राष्ट्रिय बहसको विषय बन्छ भने, म त्यो उपमालाई सहर्ष स्वीकार गर्छु । तर म सेलिब्रेटी होइन, एक सक्रिय इक्यान मेम्बर हुँ ।
महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बन्दाको फाइदा के भयो ?
मैले संस्थाको ‘डीएनए’ बुझ्ने मौका पाएँ । मलाई थाहा थियो कुन नट ढिलो छ र कुनलाई कस्नुपर्छ । जगदेखि नै काम गरेर आएकाले मलाई ठूला निर्णय लिन कहिल्यै डर लागेन ।
‘Educlave’ लाई किन एउटा ब्राण्ड बनाउनुभयो?
परामर्श क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न एउटा प्राज्ञिक मञ्च चाहिन्थ्यो । एडुक्लेभले हामीलाई एजेन्टबाट एजुकेशन कन्सल्टेन्टको वास्तविक पहिचानमा स्थापित ग¥यो ।
के तपाईंले इक्यानलाई ‘आर्थिक रूपमा सबल’ बनाउनुभयो ?
हो, हामीले कोषलाई सुरक्षित र उत्पादनमूलक बनाएका छौँ । अब इक्यान आर्थिक रूपमा कसैसँग झुक्नु पर्दैन ।
तपाईं अध्यक्ष बन्दा ६ वटा शाखाहरू थिए, आज कार्यकाल सकिँदा यो संख्या कहाँ पुगेको छ ?
म अध्यक्ष हुँदा इक्यानका ६ वटा शाखाहरू मात्र क्रियाशील थिए । तर आज मेरो कार्यकालको अन्त्यमा काभ्रे, मकवानपुर र सुदूरपश्चिम गरी ३ नयाँ शाखाहरू थपिएर सक्रिय छन् ।
नयाँ शाखाहरू स्थापना गर्नुको पछाडि तपाईंको मुख्य रणनीतिक उद्देश्य के थियो ?
मेरो उद्देश्य ‘बिकेन्द्रीकृत नेतृत्व’ (Decentralized Leadership) थियो । काठमाडौँमा बसेर मात्र देशभरका व्यवसायीका समस्या बुझ्न सकिँदैन । काभ्रे, मकवानपुर र सुदूरपश्चिम जस्ता क्षेत्रमा शाखा खोल्नुको अर्थ त्यहाँका स्थानीय व्यवसायीलाई इक्यानको मूलधारमा जोड्नु र उनीहरूलाई राज्यका स्थानीय निकायसँग संवाद गर्न सक्षम बनाउनु हो ।
शाखा विस्तार गर्दा तपाईंले गुणस्तर र संख्याबीच कसरी सन्तुलन मिलाउनुभयो ?
हामीले शाखा खोल्नका लागि मात्र अनुमति दिएनौँ । हामीले त्यहाँका व्यवसायीहरूको व्यावसायिकता, उनीहरूको आचरण र इक्यानको विधानप्रतिको प्रतिबद्धतालाई हेरेर मात्र स्वीकृति दियौँ । हाम्रो मन्त्र स्पष्ट छ, ‘शाखा थोरै भए पनि उत्कृष्ट हुनुपर्छ, र धेरै भए झन् प्रभावकारी हुनुपर्छ ।’
नयाँ स्थापना भएका ३ र पुराना ६ शाखाहरूलाई तपाईं कार्यकाल सक्दै गर्दा के सन्देश दिनुहुन्छ ?
तपाईंहरू इक्यानका पिलर हुनुहुन्छ । काठमाडौँको केन्द्रले दिशा देखाउला, तर संगठनलाई गति दिने काम तपाईंहरूकै हो । नयाँ शाखाहरूले जुन उत्साह देखाउनुभएको छ र पुरानाले जुन अनुभव बोक्नुभएको छ, यो दुवैको मिश्रण नै इक्यानको भविष्य हो । निबर्तमान अध्यक्षको रूपमा म तपाईंहरू सबैको साथमा सधैँ रहनेछु ।
‘स्टडी इन नेपाल’को नारा केवल भाषण मात्रै हो कि सम्भावना पनि ?
यो एउटा रणनीतिक प्रस्थान विन्दु हो । हामीले विश्व बजारमा नेपालको शिक्षालाई पनि बेच्न सक्छौँ भन्ने आँट ग¥यौँ । यसको नतिजा आउन समय लाग्ला, तर जग हामीले नै बसाएका हौँ ।
विपत्तिका बेला इक्यान किन सधैँ अगाडि देखिन्छ ?
हामी समाजकै हिस्सा हौँ । बाढी-पहिरो होस् वा अन्य संकट, हामीले देखाएको सक्रियताले इक्यान केवल पैसा कमाउनेहरूको समूह होइन, मानवीय भावना भएको संस्था हो भन्ने सन्देश दियो ।
तपाईंको नेतृत्वको ‘सग्नेचर स्टाइल’ के हो ?
निर्णायक र निर्भीक । म निर्णय लिन डराउँदिनँ र लिएको निर्णयमा अडिग रहन्छु ।
यो दुई वर्षमा तपाईंले व्यक्तिगत रूपमा के गुमाउनुभयो र के पाउनुभयो ?
मैले मेरो निजी व्यवसाय र परिवारलाई दिने समय गुमाएँ । तर, हजारौँ व्यवसायीको सम्मान र इक्यानको गौरवशाली इतिहासमा एउटा बलियो अध्याय लेख्ने अवसर पाएँ ।
के तपाईंको कार्यकाललाई इक्यानको ‘गोल्डेन इरा’ भन्न सकिन्छ ?
त्यो इतिहासले मूल्यांकन गर्ला । तर म यति भन्न सक्छु, हामीले यस्तो मानक स्थापित गरेका छौँ, जसलाई कसैले नजरअन्दाज गर्न सक्ने छैन ।
शेषराज भट्टराईलाई भविष्यले कुन रूपमा सम्झियोस् भन्ने चाहनुहुन्छ ?
एउटा यस्तो सारथि, जसले संकटको बेला संस्थाको डुङ्गालाई किनारा लगायो र आफ्नो स्वार्थभन्दा माथि उठेर समुदायको लागि लड्यो ।
सरकारले अचानक नीति परिवर्तन गर्दा तपाईंको पहिलो प्रतिक्रिया के हुन्थ्यो ?
म आक्रोशमा आउँदिनँ, म विश्लेषणमा लाग्छु । म तुरुन्तै विज्ञ टोली र कार्यसमितिलाई बोलाएर त्यसको इम्प्याक्ट एसेसमेन्ट गर्छु र तुरुन्तै काउन्टर-रणनीति तयार पार्छु ।

नेतृत्वको तनावमा पनि तपाईंको अनुहारको मुस्कानको रहस्य के हो ?
जब नियत सफा हुन्छ, अनुहारमा चमक आफैँ आउँछ । मलाई थाहा छ, मैले जे गरेँ, कसैको अहितका लागि गरिनँ ।
तपाईंलाई विदाईको दिन ‘दुःखी’ हुनेहरूलाई के भन्नुहुन्छ ?
म जाँदै छैन, म त झन् बलियो भएर तपाईंहरूकै पछाडि उभिन पद मात्र परिवर्तन गर्दैछु ।
शेषराज भट्टराईलाई कुन कुराले सबैभन्दा बढी रिस उठाउँछ ?
कार्यक्षमतामा हेलचेक्र्याइँ र झूट । मलाई काममा ढिलासुस्ती र पारदर्शिताको अभाव कत्ति पनि मन पर्दैन ।
शेषराज भट्टराईको दोस्रो इनिङ कस्तो हुनेछ ?
पहिलो इनिङ भन्दा अझ बढी परिपक्व, सन्तुलित र संस्थाको जगलाई अझ बलियो बनाउने ‘अभिभावकीय’ इनिङ हुनेछ ।
के परामर्श क्षेत्रलाई ‘हुन्डी’ र ‘पुँजी पलायन’को आरोपबाट पूर्ण रूपमा मुक्त गर्न सकिन्छ ?
हामीले राज्यलाई बुझाइसकेका छौँ कि यो पुँजी पलायन होइन, यो मानव पुँजीमा लगानी हो । हामीले बैंकिङ च्यानलबाट हुने कारोबारलाई कडाइका साथ प्रोत्साहन गरेका छौँ । अब आरोप लगाउनेहरूले पनि सोच्ने बेला आएको छ ।
तपाईंको कार्यकालको अधुरो काम केही छ ?
एउटा शक्तिशाली ‘परामर्श ऐन’ ल्याउने मेरो ठूलो चाहना थियो । आगामी नेतृत्वले यसलाई पूर्णता दिनेछ भन्ने मेरो विश्वास छ ।
नेतृत्वबाट बाहिरिँदै गर्दा सबैभन्दा बढी कसलाई मिस गर्नुहुनेछ ?
मेरा कार्यसमितिका साथीहरू र ती देशभरका सदस्यहरू जसले मलाई अध्यक्ष ज्यू, अगाडि बढ्नुस् हामी साथमा छौँ भनेर ऊर्जा दिन्थे ।
के तपाईं अब विश्राम लिनुहुन्छ ?
पदबाट विश्राम हुन्छ, तर सामाजिक र व्यावसायिक उत्तरदायित्वबाट कहिल्यै विश्राम हुँदैन । म इक्यानको एक सिपाहीको रूपमा सधैँ उपलब्ध हुनेछु ।
विरासत (लिगेसी) शब्दलाई तपाईं कसरी बुझ्नुहुन्छ ?
विरासत त्यो होइन जुन तपाईंले आफ्नो लागि बनाउनुहुन्छ; विरासत त त्यो हो जुन तपाईंले अरूका लागि छोडेर जानुहुन्छ। मैले एउटा बलियो प्रणाली छोडेर जाँदैछु ।
राजनीति र व्यावसायिक संघको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
संघ राजनीतिक दलको शाखा हुनु हुँदैन । हामीले राजनीतिक नेतृत्वसँग सहकार्य ग¥यौँ, तर कहिल्यै कसैको छाया बनेनौँ । इक्यानको आफ्नै स्वतन्त्र र शक्तिशाली अस्तित्व छ ।
के नेतृत्वले तपाईंलाई एक फरक मान्छे बनायो ?
पक्कै पनि । यो दुई वर्षमा मैले जति मानिस पढेँ र जति परिस्थितिसँग जुधेँ, त्यसले मलाई थप विनम्र, धैर्यवान् र दूरदर्शी बनाएको छ । म पदमा आउँदाको शेषराज र अहिले बिदा हुँदै गरेको शेषराजमा धेरै भिन्नता छ ।
तपाईंलाई लाग्छ, तपाईंले आफ्नो क्षमताको पूर्ण उपयोग गर्न पाउनुभयो ?
समय र परिस्थिति सधैँ अनुकूल हुँदैनन् । तर जति समय पाएँ, त्यसको अधिकतम सदुपयोग गरेर मैले एउटा नयाँ मानक (बेन्चमार्क) सेट गरेको छु ।
अबको १० वर्षपछि इक्यानलाई कहाँ देख्न चाहनुहुन्छ ?
म इक्यानलाई दक्षिण एसियाकै सबैभन्दा शक्तिशाली र मर्यादित शैक्षिक परामर्श संघको रूपमा देख्न चाहन्छु, जसले विश्व बजारमा नेपाली प्रतिभाको नेतृत्व गरोस् ।
तपाईंको बिदाइको क्षणमा सबैभन्दा बढी कसलाई धन्यवाद दिनुहुन्छ ?
बिदाइको यो घडीमा मेरो मन कृतज्ञताले भरिएको छ । म सबैभन्दा पहिले निवर्तमान अध्यक्ष प्रकाश पाण्डे ज्यूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले मलाई एउटा बलियो जग हस्तान्तरण गर्नुभयो ।
मेरो सफलताको मुख्य पिलरका रूपमा रहेको केन्द्रीय कार्यसमितिका सम्पूर्ण साथीहरू, जसले दिनरात नभनी मेरो भिजनलाई सफल बनाउन पसिना बगाउनुभयो, उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ । संस्थाको इतिहास कोर्ने पूर्व अध्यक्षहरू र सल्लाहकार ज्यूहरू, जसको अनुभव र मार्गदर्शनले मलाई कठिन मोडहरूमा सही दिशा देखाउन मद्दत ग¥यो, उहाँहरूप्रति म नतमस्तक छु ।
हाम्रो संगठनको मेरुदण्डका रूपमा रहेका शाखाका नेतृत्वहरू र देशभरका सम्पूर्ण सदस्य साथीहरू, जसले मलाई हरेक जिल्ला र शहरमा न्यानो आतिथ्यता र अटुट विश्वास दिनुभयो, उहाँहरू बिना यो दुई वर्षे यात्रा सम्भव थिएन । मेरो सचिवालयको सम्पूर्ण टिम र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैलाई म हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु । यो सफलता मेरो एक्लो होइन, हामी सम्पूर्ण इक्यान परिवारको साझा विजय हो ।




Comments are closed.