रसुवामा भीषण बाढी, २३० मेगावाट बराबरका जलविद्युत आयोजना ठप्प

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण २३० मेगावाट क्षमताका विभिन्न जलविद्युत् आयोजना सञ्चालनमा आउन सकेका छैनन्।

सबैभन्दा ठूलो, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पूर्ण रूपमा बन्द भएको छ। साथै, ६० मेगावाट क्षमताको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको बेनीघाट जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।

बाढीले ती आयोजनासँग सम्बन्धित प्रसारण लाइनसमेत अवरुद्ध बनाएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढीको हेडबक्सको गेट बगाएको छ र पुलमा समेत क्षति पुगेको छ। पुल चर्किएपछि आवतजावत बन्द भएको छ, तर पावरहाउस भने सुरक्षित रहेको बताइएको छ।

अहिले त्रिशूली नदी आसपासका सबै आयोजना बन्द छन्। देवीघाटस्थित त्रिशूली आयोजना चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ भने चिलिमे आयोजनालाई लेदो हटाएपछि सञ्चालन गर्न सकिने अनुमान गरिएको छ। रसुवागढी र त्रिशूली–३ ए लाई भने पुनः सञ्चालनमा ल्याउन केही दिन लाग्ने बताइएको छ।

त्रिशूली–३ ए आयोजनाको एउटा गेट बगाएको र भवनमा बाढी पसेको प्राधिकरणले जनाएको छ। क्षतिको यथार्थ मूल्यांकन बाढी घटेपछि मात्र गर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.