काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । २०८२ साल पुस ७ गते सोमबार काठमाडौँमा सम्पन्न साधारण सभाले बैंकका सेयरधनीहरूलाई नगद तथा बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजी रू. ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको ५.३५८३ प्रतिशत अर्थात् रू. १९ करोड ५ लाख ५३ हजार ६२६ रुपैयाँ ३० पैसाबराबरको नगद लाभांश (करसहित) तथा ५ प्रतिशत अर्थात् रू. १७ करोड ७८ लाख १२ हजार ७८५ रुपैयाँ ९८ पैसाबराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ । साधारण सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक वित्तीय विवरण स्वीकृत गर्नुका साथै लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ ।
आम नागरिकको विश्वास र भरोसालाई आधार बनाउँदै सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ वटा शाखा कार्यालय तथा ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तर अवलम्बन गर्दै आएको बैंकले आगामी दिनमा सेवा सञ्जाल अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।





Comments are closed.