सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दरबारमार्ग प्रहरी वृत्तलाई आवश्यक उपकरण सहयोग गरेको छ ।

केही दिन अघिको आन्दोलनमा भएको आगजनीका कारण प्रहरी वृत्तको संरचना र उपकरणमा ठूलो क्षति पुगेपछि कार्यालय सञ्चालन सहज बनाउन बैंकले दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री–इन–वान मेसिन) हस्तान्तरण गरेको हो ।

सहयोग सामग्री सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मंगलबार प्रहरी वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सहयोग ग्रहण गर्दै इन्चार्ज श्रेष्ठले यसले दैनिक कार्य सञ्चालनमा सहजता पुगेको भए पनि क्षति ठूलो भएकाले अझै थप सहयोग आवश्यक रहेको बताए ।

आम नागरिकको विश्वास र भरोसालाई आधार बनाउँदै सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास गर्दै आएको बैंकले आगामी दिनमा सेवा तथा शाखा विस्तारलाई निरन्तरता दिने जनाएको छ ।

You might also like

Comments are closed.