अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्न मेला सहयोगी बन्छ

फागुन २ देखि ६ सम्म घरेलु तथा साना उद्योग महासंघ र नेपाल अर्गानिक एशोसियशनले संयुक्त रुपमा ‘१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं कृषि प्राङ्गारिक मेला–२०७९’ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । आयोजकले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । मेलाको तयारी र व्यवस्थापनको सन्दर्भमा महासंघका एशोसियट उपाध्यक्ष तथा एशोसियशनका महासचिव समेत रहेकी शान्ता बाँस्कोटा कोईरालासँग आर्थिक आवाजकर्मी दीपा रेग्मीले गरेको कुराकानी :

मेलाको आयोजना गर्दै हुनुहुन्छ, तयारी पुरा भयो ?

मेलालाई नेपाल घरेलु तथा साना उद्योगले १६ अन्तर्राष्ट्रिय व्यापार मेला भनेको छ, नेपाल अर्गानिक एशोसियशनले छैटौँ प्राङ्गारिक कृषि मेला भनेका छौं । तर, मेलामा हाम्रा प्याबेलियन, स्टलहरू फरक–फरक हुन्छ । अर्गानिक प्याबेलियनको ५० वटा स्टलहरू रहनेछन् । त्यहाँ नेपालमा प्राकृति र प्रामाणि उत्पादनदेख्न पाइनेछ । जसमा चिया, कफी, हर्वलजन्य, मसलाजन्य उत्पादन रहनेछन । नेपालमा सर्टिफाइ भएका अर्गानिक उत्पादन एकदमै कम छन् । १२÷१५ वटा कम्पनीहरु मात्रै अर्गानिक सर्टिफाइ भएकोमा त्यसमा पनि कति तरकारी, फलफूल, कफीको अर्गानिक सर्टिफाइ एक्पोर्ट तयार भइसकेका र गरिरहेका व्यवसायीहरु त्यहाँ हुनुहुन्छ । अन्य प्राकृतिक रुपमा उत्पादन भएका उत्पादनहरु पनि त्यहाँ रहनेछन् । त्यस्तै, लघु उद्योगबाट उत्पादन भएका वस्तुलाई हामीले ७७ वटै जिल्लाबाट समेट्ने प्रयास गरेका छौं । घरेलुको अरु भन्दा फरक किसिमको मेला हुन्छ । त्यहाँ भएका वस्तुहरु नेपालमै उत्पादन भएका सबै हेन्डीक्राफ्टदेखि कृषि उत्पादन र साना–साना उद्यमीले उत्पादन पनि राख्दैछौं । मेलामा कुल अर्गानिकको ५० वटा र अर्को १५० जति स्टल रहन्छ ।

स्टलको मूल्य कसरी तोक्नु भएको छ ?

भृकुटी मण्डपको चार्ज एकदमै महंगो छ । प्रत्येक दिनको २ लाख ५० हजार रुपैयाँ पर्दो रहेछ । भाडा महंगो भएका कारण साना–साना उद्यमीलाई विभिन्न संस्थाबाट सहयोग खोजेर महिला उद्यमीको छुट्टै रेट राखेर सकेसम्म कम मूल्यमा उपलब्ध गराउने प्रयास हामीले गरिरहेका छौं । सामान्य रेट ५० हजारदेखि छ तर, हामीले महिला उद्यमीलाई र विभिन्न टाढाका जिल्लाबाट आउनहरुलाई कम मूल्यमा उपलब्ध गराउने प्रयास गरिरहेका छौं ।

मेलाको आयोजनामा कति खर्च लाग्ने अनुमान गर्नु भएको छ ?

महासंघबाट ८० लाख भन्दा बढी लाग्ने कुरा आइरहेको छ । यता हाम्रो अर्गानिक एसोसिएसनको २५ लाख लाग्ने अनुमान गरेका छौं ।

यो मेला आयोजनाबाट के फाइदा हुन्छ ?

मेल प्रत्येक वर्ष हुनैपर्छ । कस्ता–कस्ता उत्पादन नेपालमा भइरहेका छन् भन्ने कुरा उपभोक्ता र सरकारले पनि जिल्ला जिल्लामा गएर हेर्न नसकिरहेको अवस्थामा एउटै स्थानमा नेपाल देशभरका उत्पादनहरु हेर्ने, छुने र खाने मौका पाइन्छ । यो सँगसँगै नेपालमा कस्ता वस्तु उत्पादन हुँदा रहेछन्, यी वस्तुहरुको हामीले कसरी प्रवद्र्धन गर्ने, कुन जिल्लामा के उत्पादन हुँदो रहेछ, कति मात्रामा उत्पादन हुँदो रहेछ भन्ने कुराको योजना बनाउन पनि मेलाले एकदमै महत्वपूर्ण भूमिका खेल्छ । त्यस्तै उद्यमीबीच प्रत्यक्ष भेट हुन्छ र कुन ठाउँमा कस्तो वस्तु उत्पादन गर्न सकिन्छ भन्ने कुराको जानकारी प्राप्त हुन्छ । त्यस्तै मार्केटमा आउनका लागि के–के रिक्वायरमेन्ट चाहिँदो रहेछ,कसरी मूल्य निर्धारणगर्ने, कसरी लेभलिङ गर्ने, अरुको उत्पादन र मेरो उत्पादनमा के फरक छ भन्ने सम्पूर्ण कुराहरुको पनि जाँच गर्ने मौका मिल्छ । यसका साथै हामी कसरी अर्गानिकमा जाने, अर्गानिकको मापदण्ड के होे, अर्गानिकलाई किन प्रवद्र्धन गर्ने विषयमा पनि हामीले मेलामा अन्तरक्रिया कार्यक्रम पनि गर्छौ । त्यसले उद्यमीलाई सहयोग हुन्छ ।

यहाँहरूले अभियान चलाउनु भएको त अर्गानिक तर्फ आकर्षण कम देखिन्छ नि ?

मान्छेको सोचाइमा अर्गानिक खेतीमा उत्पादन घट्छ भन्ने छ तर, रिसर्चले त्यो देखाएको छैन । माटो बिग्रिएको कारण ३ वर्षसम्म भने उत्पादन कम हुन्छ पक्कै हो तर, ३ वर्षपछि भने राम्रो हुन्छ । अर्गानिकको माग छ, बजार छ, गुणस्तरीय उत्पादन गर्न सक्यो भने हामीले निर्यात पनि गर्न सक्छौं भन्ने कुरा उहाँहरुले सिक्ने अनि बुझ्ने अवसर मेलामा पाइन्छ । कम्तीमा पनि एकदेखि पाँच वर्षसम्म धैर्य, संयमता र आत्मविश्वासका साथ व्यवसायलाई अगाडि बढाउन एकदमै जरुरी छ । कसैले भनेको सुनेको भरमा त्यसैको पछि लाग्नु भएन । कुनै व्यवसाय गर्नु अघि त्यसका पछाडिका पाटाहरु थुप्रै बुझ्न जरुरी हुन्छ । सँगसँगै व्यवसाय गर्नेले कहिले पनि हरेस खानु भएन । एकैचोटी ठूलो गर्न सकिन्न । सानो–सानोबाट ठूलो गर्न अवश्य सकिन्छ । कुनै पनि व्यवसायलाई सानो ठूलो नभनी लाग्ने,धैर्यता र अत्मविश्वासका साथ अगाडि बढ्नुभयो भने पक्कै पनि व्यवसायमा सफल भइन्छ । अर्को कुरा सरकारले साना उद्योगी र महिलाहरुलाई महिलामैत्री, लघु तथा उद्यमी क्षेत्रमैत्री नीति नियम र कार्यविधि नल्याएसम्म व्यवसाय सुधार हुन सक्दैन ।

 

 

 

You might also like

Comments are closed.