व्युटीपार्लर आउँदा लुकेर आउनुपर्ने अवस्था थियो 

शान्ता थापा, सञ्चालक, शान्ताज व्युटी सैलून एण्ड एकेडेमी

सौन्दर्य व्यवसायका क्षेत्रमा निरन्तर सक्रिय रहने व्यक्तिहरु मध्येमा अग्रणी महिला उद्यमी हुन् शान्ता थापा । ३५ वर्ष अगाडि सौन्दर्य व्यवसायमा लगानी गरेकी उनले यसबीच धेरै अनुभव सँगालेकी छन् । काठमाडौंमा ७ वटा शाखामार्फत उनले सेवा प्रदान गरिरहेकी छन् । एकेडेमीमा पनि सौन्दर्य कला सिक्नेहरुको आकर्षण छ । उनै थापासँग सौन्दर्य व्यवसायमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

कहिलेदेखि सौन्दर्य व्यवसायमा आवद्ध हुनुभयो ? 

म बिगत ३५ वर्षदेखि सौन्दर्य पेशामा आवद्ध छु । एसएलसी दिएपछि म यस पेशामा आवद्ध भएको हुँ । रहर तथा कर दुवै कारण म यस पेशामा आएको हुँ ।

jutta mela

३५ वर्ष अगाडिको सौन्दर्य व्यवसायलाई कसरी सम्झनुहुन्छ ?

३५ वर्ष पहिला देशभर ५/६ वटा मात्र ब्युटी सैलुन तथा ब्युटी पार्लर थिए । त्यतिवेलाको समयमा महिलाले कपाल काट्छन् भनेपछि नराम्रो सोच्ने चलन थियो । नराम्रोको पछाडि राम्रो पनि थियो । सम्भ्रान्त, राजा, शाह, राणा परिवारलगायत उच्च परिवारका सदस्य जो विदेश जाने आउने गर्नुहुन्थ्यो उहाँहरुले प्रायः पार्लरमा कपाल काट्नुहन्थ्यो । उहाँहरुलाई देखेर कतिपयले पार्लरलाई हाइ प्रोफाइलका महिलाहरु जाने ठाउँ हो भन्ने पनि सोच थियो । राम्रो हुन मन लाग्ने अन्य महिलाहरु पनि लुकेर भएपनि पार्लर आउने चलन भने शुरुवात भइसकेको थियो ।

पार्लरको शुरुवात कसरी गर्नुभयो ?

म दिल्ली, थाइल्याण्ड लगायतका ठाउँमा सिप सिक्न पनि गएँ । त्यो समयमा एक जना महिला केही कुरा सिक्न विदेश जानु भनेको एकदम नराम्रो मान्ने चलन थियो । मेरो बुवा आमा शिक्षित भएकाले नै मलाई सहज भएको हो । नेपालको सबैभन्दा ठूलो सैलुन खोल्छु, धेरै जनालाई सिप सिकाएर आत्मनिर्भर बनाउँछु र देश तथा विदेशमा नाम कमाउँछु भन्ने सोच थियो । त्यही सोचका साथ मैले यो पार्लरको सुरुवात गरेको हुँ । जुन पेशामा म निरन्तर सक्रिय छु ।

व्यवसायका लागि अन्य धेरै क्षेत्र थिए । सौन्दर्य पेशा नै किन रोज्नुभयो ? 

म आर्थिक रुपमा सम्पन्न परिवार कै छोरी हुँ । मलाई भने पढाईसँगै केही काम गर्नुपर्छ र नाम कमाउनुपर्छ भन्ने सोच आयो । पहिलेदेखि नै मलाई ठूलो विचार राख्नुपर्छ भन्ने लाग्थ्यो । यही पेशा गर्छु र यही पेशालाई उत्कृष्ट बनाएर नाम कमाउँछु भन्ने लाग्यो । भारतमा फिल्म तथा मोडलिङको स्तर राम्रो थियो । नेपालमा भने फिल्म तथा मोडलिङको स्तर पनि खास थिएन । यसलाई स्तरीय बनाउन पनि यो पेशा आवश्यक छ भन्ने लाग्यो । यस क्षेत्रमा मैले चासो पनि धेरै राख्ने गर्दथेँ । देश विदेश घुमेर नयाँ नयाँ कुरा सिकेर आउने भएर पनि होला ट्रेनिङ लिन शान्ताजमा नै जानुपर्छ भन्ने सोच विकास हुँदै गइरहेको छ ।

सानो आकारमा सुरु भएको शान्ताज व्युटी सैलून एण्ड एकेडेमीलाई आजको बृहत आकारमा कसरी ल्याउन सफल हुनुभयो ?

मैले २०४७ सालबाट पार्लरको शुरुवात गरेको हुँ । करिव २० हजार लगानीमा मैले व्यवसाय शुरु गरेको थिएँ । अहिले करिव १३ करोड रुपैयाँ लगानी भइसकेको छ । समय क्रमसँगै व्यवसाय बिस्तार तथा सेवा सुविधा थप गर्नुपर्छ भन्ने मेरो मान्यता रह्यो । र सोही अनुसार लगानी बिस्तार तथा शाखा विस्तारमा जोड दिएँ । काठमाडौंको बागबजार, स्वयम्भु, सुकेधारा, बौद्ध, जोरपाटी लगायत ७ ठाउँमा हाम्रो शाखा छन् । हालसम्म यहाँबाट यो व्यवसाय सिकेर आत्मनिर्भर बन्नुभएका व्यवसायीहरु र हाम्रो पार्लरमार्फत ६० हजार जना भन्दा धेरैले रोजगारी पाउनुभएको छ । २०५२ बाट एकेडेमी सञ्चालमा ल्याएको हुँ । आफूले सिकाएका विद्यार्थीले अहिले यही पेशामा लागेर आत्मनिर्भर भएको देख्दा धेरै खुसी लाग्छ । करिव ३० हजारभन्दा धेरैले नेपालमा सैलुन सञ्चालन गर्नुभएको छ । कतिपय विदेश हुनुहुन्छ र विदेशमा पनि सैलुन तथा पार्लर सञ्चालन गर्नुभएको छ ।

पहिला र अहिले यो पेशालाई हेर्ने मानिसहरुको दृष्टिकोण कस्तो छ ?

सौन्दर्य व्यवसायलाई पहिला र अहिले तुलना गर्ने हो भने धेरै परिवर्तन भएको छ । व्युटीपार्लर आउँदा लुकेर आउनुपर्ने अवस्था थियो । पार्लर गएको थाहा भएमा नराम्रो सोच्ने चलन थियो । अहिले हेल्थ र व्युटीमा कसैले कम्प्रोमाइज गर्दैनन् । आफ्नो स्वास्थ्य र सौन्दर्यका लागि खर्च गर्ने प्रचलन बढेको छ । अहिले यो पेशाप्रति आकर्षण पनि बढिरहेको छ भने पार्लर तथा सैलुन जाने ट्रेण्ड पनि बढेकोे छ । सौन्दर्य भन्ने कुरा स्वास्थ्यसँग जोडिएर आउँछ । स्वास्थ्य र सौन्दर्यलाई सँगै लानुपर्छ । हाम्रो पेशा चलेको पनि यही भएर हो । स्वास्थ्य राम्रो भएमा सौन्दर्य पनि राम्रो बनाउन सकिन्छ । सौन्दर्य राम्रो हुनका लागि खानपानको पनि विशेष महत्व हुन्छ । शरिरमा पानीको मात्रा पुग्नुपर्यो, स्वस्थ खाना खानुपर्यो, दैनिक जीवनयापनमा पनि ख्याल गर्नुपर्छ । घाममा हिड्नुपर्छ भने छाता ओड्नुपर्यो, क्याप लगाउनु पर्यो ।

यो व्यवसायमा सम्भावना तथा भविष्य कस्तो छ ?

यो व्यवसायलाई राम्रोसँग नियाल्ने हो भने अहिले पनि करिव १ लाख युवालाई रोजगारी दिन सकिन्छ । राज्यले यस क्षेत्रमा केही गरेको छैन । कपाल काट्ने कामका लागि प्रायः भारतीय नागरिक आएको पाइन्छ । नेपालीले पनि गर्ने हो भने रोजगारी यही पाइन्छ । हामीले अहिले पुरुषलाई पनि काम सिकाउन शुरु गरेका छौं । अहिले १ लाख रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिन्छ । सिप सिकेर नेपालमा नै काम गर्न म युवालाई आग्रह गर्दछु । यो व्यवसायको भविष्य राम्रो छ ।

भावी योजना के छ ? 

सौन्दर्यका सामग्री पनि नेपालमा नै उत्पादन गर्न सकियो भने धेरै फाइदा हुन्छ । विभिन्न प्रडक्ट उत्पादन गर्ने सोचमा हामी छौं । नेपालकै नम्वर वान हुने गरेर प्रडक्ट उत्पादन गर्नेछौं जुन प्रडक्ट विदेश पनि निर्यात गर्न सकियोस । रक्तचन्दन, यार्सागुम्वा, लगायतबाट विभिन्न प्रडक्ट बनाउन सकिन्छ । दैनिक जीवनमा प्रयोग हुने मन्जन, सावुन, फेसवास लगायतका सामान उत्पादनमा सरकारले पनि ध्यान दिनु आवश्यक छ । यस्ता सामानमा नेपालको पुँजी धेरै पलायन भएको छ । यसतर्फ राज्यले ध्यान दिनुपर्छ ।

You might also like

Comments are closed.