सेयर ब्रोकरः प्रवेशद्वारबाट निगरानीकर्तासम्म

नेपालको पूँजीबजारमा सेयर ब्रोकरलाई लगानीकर्ताको पहिलो ढोका मानिन्छ । आज दुईवटा स्टक डिलरसहित ९२ वटा ब्रोकर सक्रिय छन् । धितोपत्र कारोबार ऐन २०४९ र त्यसपछिको संस्थागत विकाससँगै वि.सं २०५० सालमा नेप्से स्थापना भई सेयर कारोबारको औपचारिक सुरूवात भयो । यही चरणबाट ब्रोकर प्रणालीले बजारको सहायक एजेन्टको रूपमा भूमिका निर्वाह गर्न थाल्यो । हाल धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को छैठौं संशोधन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०८२ बाट गाइडेड छ ।

प्रारम्भिक २०५० को दशकमा करिब २५ ब्रोकर काठमाडौं केन्द्रित थिए । जस्को खुला कराह प्रणाली कागजी सेयर प्रमाणपत्र र म्यानुअल नामसारी नै मुख्य कार्य थिए । २०६० को दशकमा बैंक, बीमा र वित्तीय संस्थाको विस्तारसँगै लगानीकर्ता बढे, तर कारोबार प्रणाली अझै ढिलो र झन्झटिलो नै रह्यो । वि.सं २०७४ पछि भने ब्रोकर इतिहासले निर्णायक मोड लियो । सिडिएस एण्ड क्लियरिङ हाउस (सिडिएससी) स्थापना, डिम्याट, इडिआइएस, टि प्लस टु सेटलमेन्ट र अनलाइन टिएमएसले बजारलाई डिजिटल बनायो ।

डिजिटलाइज्ड पूँजीबजारले लगानीकर्ता घरमै बसेर कारोबार गर्न थाले र ब्रोकरहरू प्रविधिमा आधारित सेवा प्रदायकका रूपमा रूपान्तरण भए । अहिले ब्रोकरको भूमिका अर्डर कार्यान्वयनमा मात्र सीमित नभई सूचना, तालिम, विश्लेषण र बजार पहुँचसम्म फैलिएको बताउँछन्, सेयर जानकार तथा लगानीकर्ता देव गुरागाईं ।

यसका वावजुद अबको चुनौती भनेको सेवा गुणस्तर, शुल्क संरचना र विश्वास रहेको उनको भनाइ छ । सेयर जानकार गुरागाईंका अनुसार कम कमिशन, प्रतिस्पर्धी सेवा र मार्जिन लोनजस्ता सुविधा ब्रोकरमार्फत प्रवाह हुन जरुरी छ । “साथै, बजारमा हुने चलखेल र विकृत कारोबारप्रति मौन साक्षी बन्नु होइन, ब्रोकरहरूले स्वयं निगरानीकर्ता को भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । विश्वासिलो, पारदर्शी र लगानीकर्तामैत्री ब्रोकर प्रणाली बिना सुदृढ पूँजीबजार सम्भव छैन,” उनले भने ।

नेपालको पूँजीबजारको विकास र विस्तारमा धितोपत्र दलाल अर्थात ब्रोकरहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र बहुआयामिक छ । हालको डिजिटल युगमा लगानीकर्ताहरूले प्रविधिको प्रयोगमार्फत आफैँ कारोबार गर्न सक्ने भए तापनि बजारको सञ्चालन, व्यवस्थापन र लगानीकर्ताको सुरक्षाका लागि ब्रोकरहरूको उपस्थिति अपरिहार्य देखिन्छ ।

ब्रोकरहरूले मुख्य रूपमा लगानीकर्ता र बजारबीच एउटा मजबुत सेतु वा मध्यस्थकर्ताको रूपमा कार्य गर्छन् । यदि ब्रोकरहरू नहुने हो भने लगानीकर्ताहरूले हरेक कारोबारको राफसाफका लागि आफैँ बैंक धाउनुपर्ने र कागजी प्रक्रियामा अल्झिनुपर्ने झन्झट हुन सक्थ्यो । ब्रोकरहरूले सिडीएससीसँगको समन्वयमा कारोबारलाई सहज र डिजिटल बनाउन उल्लेख्य भूमिका निभाएका छन् । हालको व्यवस्था अनुसार, लगानीकर्ताहरूले कारोबार गर्नका लागि कुल रकमको २५ प्रतिशत कोल्याट्रल (धितो) राख्नुपर्ने प्रावधानलाई पनि ब्रोकरहरूले नै व्यवस्थापन गर्दै आएका छन् ।

मार्जिन कारोबार र वित्तीय पहुँच
पछिल्लो समयमा ब्रोकरमार्फत ऋण लिने अर्थात मार्जिन कारोबारको विषयले निकै प्राथमिकता पाएको छ । वाणिज्य बैंकहरूको तुलनामा ब्रोकरहरूबाट ऋण लिनु प्रक्रियागत रूपमा छिटो र सहज हुन सक्छ । यद्यपि, ब्रोकरहरूले अन्य वित्तीय संस्थाहरूबाट कोष ल्याएर परिचालन गर्ने हुँदा ब्याजदर केही महँगो पर्न सक्ने सम्भावना रहे तापनि, आफ्ना नियमित ग्राहकहरूका लागि यो एउटा सरल र प्रभावकारी विकल्प बन्न सक्छ । यसले बजारमा तरलता बढाउन समेत मद्दत पुग्ने देखिन्छ ।

ब्रोकर कम्पनीहरूको कारोबार विश्लेषण
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्याङ्क अनुसार बजारमा ब्रोकर र स्टक डिलरहरू सदस्यका रूपमा कार्यरत छन् । बजारमा ब्रोकरहरूको संख्या र उनीहरूको शाखा विस्तारले गर्दा देशभरका लगानीकर्ताहरूको पहुँच पूँजीबजारमा पुग्न सफल भएको छ । ब्रोकरहरूको मासिक कारोबार विवरणले उनीहरूले बजारलाई कति चलायमान बनाएका छन र पूँजी परिचालनमा कस्तो योगदान दिएका छन् भन्ने कुरालाई स्पष्ट रूपमा पुष्टि गर्दछ । नेप्सेको पछिल्लो महिनाको ब्रोकर कारोबार रिपोर्ट अनुसार बजारमा ब्रोकर कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेप्सेमा उपलब्ध तथ्याङ्कअनुसार नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) ले कुल १४ अर्ब २४ करोड ६१ लाख ९० हजार ४७६ रुपैयाँ बराबरको कारोबार गर्दै अन्य सबै ब्रोकरहरूलाई निकै पछाडि पारेको छ । नासाले ७ अर्ब ५३ करोडभन्दा बढीको शेयर बिक्री र ६ अर्ब ७१ करोडभन्दा बढीको शेयर खरिद गरेको देखिन्छ ।

उच्च कारोबार गर्ने प्रमुख ब्रोकरहरू बजारको कुल कारोबार रकमका आधारमा नासा पछि अन्य केही ब्रोकरहरूले पनि अर्बौंको कारोबार गरेका छन् । भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) ले ७ अर्ब २ करोड ५२ लाख रुपैयाँको कुल कारोबार गरेको छ । त्यसैगरी, इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) ले ६ अर्ब २३ करोड २७ लाख र सानी सेक्युरिटिज (ब्रोकर नं. ४२) ले ६ अर्ब १८ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेका छन् । अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९) ले ६ अर्ब १२ करोड ६३ लाख र त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८) ले ६ अर्ब ४ करोड ४४ लाख रुपैयाँको कारोबार गर्दै शीर्ष स्थानमा पर्न सफल भएका छन् ।

कारोबार संख्यामा देखिएको सक्रियता शेयर किनबेचको संख्याका आधारमा पनि केही ब्रोकरहरू निकै सक्रिय देखिएका छन् । सबैभन्दा बढी कारोबार संख्या सानी सेक्युरिटिजको छ, जसले १ लाख २३ हजार २५५ पटक कारोबार गरेको छ । यसपछि अनलाइन सेक्युरिटिजले १ लाख २२ हजार १६९ पटक, इम्पेरियल सेक्युरिटिज ले १ लाख ११ हजार ३०६ पटक र भिजन सेक्युरिटिज ले १ लाख ६ हजार ९५८ पटक कारोबार सम्पन्न गरेका छन् । नासा सेक्युरिटिजको कारोबार संख्या २ लाख ६५ हजार ३२५ छ, जुन अन्यको तुलनामा निकै धेरै हो ।
बिक्री र खरिदको प्रवृत्तिलाई हेर्दा धेरैजसो ठूला ब्रोकरहरूको खरिद र बिक्री सन्तुलित देखिए पनि केहीमा भने भिन्नता पाइएको छ ।

उदाहरणका लागि, एबीसी सेक्युरिटिज (ब्रोकर नं. १७) ले २ अर्ब ३० करोडको बिक्री गर्दा २ अर्ब १२ करोडको मात्र खरिद गरेको छ । अर्कोतर्फ, प्रिमियर सेक्युरिटिज (ब्रोकर नं. ३२) मा भने बिक्री (१ अर्ब ९१ करोड) को तुलनामा खरिद (२ अर्ब २ करोड) बढी देखिएको छ ।
न्यून कारोबार गर्ने ब्रोकरहरू बजारमा केही नयाँ वा साना ब्रोकरहरूको उपस्थिति र कारोबार भने तुलनात्मक रूपमा न्यून देखिएको छ । मनि वल्र्ड शेयर एक्सचेन्ज (ब्रोकर नं. ७३) ले जम्मा ९ लाख ४ हजार ९२४ रुपैयाँको मात्र कारोबार गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तै, पाही इन्भेस्टमेन्ट (ब्रोकर नं. ७९) को कुल कारोबार पनि १ करोड ९३ लाख रुपैयाँमा सीमित छ । समग्रमा उक्त तथ्यांकले नेप्सेको यो तथ्यांकले नेपालको पूँजीबजारमा केही सीमित ठूला ब्रोकर कम्पनीहरूको बलियो पकड रहेको र लगानीकर्ताहरूको आकर्षण पनि तिनै कम्पनीहरूमा बढी रहेको संकेत गर्दछ ।

ब्रोकरको प्रविधि र कार्यशैलीमा परिवर्तन
सन सेक्युरिटिज प्राइभेट लिमिटेड ब्रोकर नम्बर ६४ का कार्यकारी अध्यक्ष कृष्ण गिरी नेपालको पूँजीबजारलाई वर्तमान अवस्थासम्म ल्याइपु¥याउन धितोपत्र दलाल (ब्रोकर) हरूले महत्वपूर्ण र मुख्य भूमिका निर्वाह गरेको बताउँछन् । नेपाल स्टक एक्सचेन्जको स्थापनासँगै ब्रोकरहरूको पनि प्रादुर्भाव भएको उल्लेख गर्दै उनले बजारको विकासमा यस क्षेत्रको योगदान अतुलनीय रहेको स्पष्ट पारे ।
गिरीका अनुसार नेपालमा २०५० सालमा नेप्सेको स्थापना भएदेखि नै ब्रोकरहरूले सेवा दिन थाले, सुरुवाती दिनहरूमा ओपन आउट क्राइ विधिबाट कारोबार हुने समयमा पनि ब्रोकरहरूले नै सहजीकरण गरेका थिए । “सुरुका वर्षहरूमा ब्रोकर सेवा व्यक्तिगत नाममा सञ्चालन हुने गर्दथ्यो । तर, व्यक्तिको मृत्युपछि कारोबारमा उत्पन्न हुने विवाद र जिम्मेवारीको अन्योलतालाई मध्यनजर गर्दै पछि यसलाई संस्थागत बनाइएको थियो,” उनी भन्छन्, “तत्कालीन समयमा न्यूनतम २ लाख रुपैयाँ चुक्ता पूँजी राखेर कम्पनी दर्ता गरी ब्रोकर सेवालाई संस्थागत रूपमा अगाडि बढाइएको थियो ।”

विगत र वर्तमानको प्रविधि र कार्यशैलीमा ठूलो परिवर्तन आएको उनी बताउँछन् । “पहिला आफ्ना भाइ–भतिज र अलिकति चिनजान भएका मानिसहरूलाई राखेर काम चलाउने गरिन्थ्यो, तर अहिले न्यूनतम शैक्षिक योग्यता, अनुभव र पोजिसन अनुसारको जनशक्ति परिचालन गरिन्छ,” उनले भने । प्रविधिको प्रयोग र कार्यक्षमतामा आएको सुधारले गर्दा अहिलेको ब्रोकर सेवा पहिलेको तुलनामा धेरै नै परिष्कृत भएको उनको दाबी छ ।

लगानीकर्ताहरूले समयमा भुक्तानी (सेटलमेन्ट) नपाउने गरेको गुनासोका सम्बन्धमा बोल्दै उनले यसमा नीतिगत स्पष्टताको अभाव रहेको औँल्याए । वि.सं. २०७५ मा संशोधित नियमावलीले ल्याएको व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यास बीचको खाडलका कारण केही समस्या देखिएको उनले बताए । उनका अनुसार कारोबार राफसाफ भइसकेपछि लगानीकर्ताले रकम माग गरेको खण्डमा दिनुपर्ने व्यवस्था भए तापनि नियमावलीमा कतिपय कुरा स्पष्ट छैनन् । “अन्तर्राष्ट्रिय अभ्यास अनुसार लगानीकर्ताले मागेको खण्डमा तुरुन्तै भुक्तानी दिइनुपर्छ, तर नेपालमा नीतिगत अन्योलताले गर्दा विवाद देखिने गरेको छ,” उनले थपे । यद्यपि, ब्रोकरहरूले लगानीकर्ता सचेतना र बजार पहुँच विस्तारमा ठूलो भूमिका खेलेको र लगानीको वातावरण सहज बनाउँदै लगेको उनले उल्लेख गरे ।

समग्रमा पूँजीबजारको पारिस्थितिक प्रणालीमा ब्रोकरहरू केवल कारोबार गराउने माध्यम मात्र नभई बजारलाई अनुशासित र प्रविधिमैत्री बनाउने संवाहक पनि हुन् । उनीहरूले प्रदान गर्ने सेवा, तथ्याङ्कीय विश्लेषण र सहजीकरणले गर्दा नै साधारण लगानीकर्ताहरूले ढुक्क भएर सेयर बजारमा लगानी गर्ने वातावरण बनेको छ । तसर्थ, पूँजीबजारको दिगो विकासका लागि ब्रोकरहरूको भूमिकालाई थप सकारात्मक र व्यावसायिक बनाउँदै लैजानु आजको आवश्यकता भएको सरोकारवालाहरू जोड दिन्छन् ।

You might also like

Comments are closed.