सेयर बजारमा ६ दिनपछि भारी गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । लगातार ६ दिनसम्मको उकालो यात्रापछि सोमबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २३.१९ अंकले घटेर २,६८३.१७ बिन्दुमा झरेको छ।

नेप्से परिसूचकको गिरावटसँगै कारोबार रकम पनि घटेको छ। आज ३१० कम्पनीको १ करोड ७९ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब ६६ करोड ४२ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ।

अघिल्लो दिन आइतबार ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच भई ९ अर्ब ५० करोड ३ हजार रुपैयाँको कारोबार भएको थियो।

समूहगत सूचकमा पनि नकारात्मक प्रभाव परेको छ। आज होटल तथा टुरिजम र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक घटेको छ। फाइनान्स समूह सबैभन्दा धेरै ३.६९ प्रतिशतले घटेको छ।

त्यस्तै, विकास बैंक समूह १.३१ प्रतिशत, व्यापार समूह १.२४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.११ प्रतिशतले घटेका छन्।

You might also like
Ram Tulasi Palpa

Comments are closed.