जेन–जी प्रदर्शनपछि बन्द भएको शेयर बजार बुधबारदेखि खुल्ने

काठमाडौं । जेन–जी प्रदर्शनका कारण भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आउने बुधबारदेखि पुनः खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंका अनुसार बुधबारदेखि कारोबार सुरु गर्ने तयारी गरिएको छ, तर अन्तिम निर्णयका लागि धितोपत्र बोर्डको निर्देशन अझै पर्खिनुपर्ने अवस्था छ ।

यसअघि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले शेयर कारोबार बन्द गरेको थियो । भदौ २४ र २५ गते दुई दिनका लागि कारोबार रोकिए पनि पछि थप एक साताको लागि असोज २ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो । यो निर्णय धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा (१) खण्ड (घ) मा आधारित थियो, जसअनुसार बढीमा पाँच दिनसम्मका लागि बजार बन्द गर्न सकिने व्यवस्था छ ।

तर अहिले अवस्था सहज हुँदै गएकाले शेयर बजार खोल्न लागिएको नेप्सेले जनाएको छ । दसैं नजिकिँदै गर्दा लगानीकर्ताको दबाब पनि बढेको छ । बजार बन्द रहँदा दसैंका लागि शेयर बिक्री गर्नेहरूले रकम लिन पाएका छैनन् । यस कारण दसैं खर्च जुटाउन चाहने लगानीकर्ताले बोर्डलाई दबाब दिएका थिए ।

अब अवस्था सामान्य हुँदै गएपछि बुधबारदेखि शेयर बजार खोल्ने तयारी गरिएको र यससम्बन्धी अन्तिम निर्णय चाँडै सार्वजनिक हुने नेप्सेले स्पष्ट पारेको छ ।

You might also like

Comments are closed.