काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ बिन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से परिसूचक १०.२९ अंकले घट्दै २६१०.६३ बिन्दुमा झरेको थियो ।
आज कारोबार भएका सबै समूहका सूचकहरू हरियाली देखिएका छन् । तीमध्ये उत्पादन तथा प्रशोधन समूह ३.०५ प्रतिशतले बढ्दा विकास बैंक समूह २.७० प्रतिशत र होटल तथा पर्यटन समूह २.५३ प्रतिशतले उकालो लागेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
हिजो भने ३२३ कम्पनीको १ करोड २ लाख कित्ता सेयर ५ अर्ब १ करोड रुपैयाँमा कारोबार भएको थियो । आजको कारोबारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केवल कार र रू–रू जलविद्युत परियोजनाको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी बाराही हाइड्रोपावर र दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य क्रमशः ९.९८ र ९.५४ प्रतिशतले वृद्धि भएको छ ।




Comments are closed.