काठमाडौं । लगातार दोस्रो दिन मंगलबार पनि सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ९.९३ अंकले बढेर २,६४९.३० बिन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । मंगलबार ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर खरिद–बिक्री हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । समूहगत रूपमा हेर्दा यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहका सेयर मूल्य घटेका छन् भने बाँकी सबै समूहका सेयर मूल्य बढेका छन् । तीमध्ये फाइनान्स समूह सर्वाधिक २.८७ प्रतिशतले बढेको छ ।
यस दिन १४८ कम्पनीका सेयर मूल्य वृद्धि भएको छ । तीमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र थ्रीस्टार हाइड्रोपावरको ९.५४ प्रतिशतले वृद्धि भएको छ ।



Comments are closed.