काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा अनुभवी टिमले जित्ने संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताएका छन् । महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधान प्यानलको मनोनयन दर्ता हुनु अगाडि सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानको प्यानललाई भोट दिन आग्रह गरे ।
आफूले संघको नेतृत्व गर्न लागेको र अध्यक्ष भएपछि संघभित्र रहेको विकृति तथा विसंगति हटाउने बताए । प्रधानको प्यानलले चुनाव जिते राम्रो टिम बन्ने र काम गर्न सहज हुने उनले जिकिर पनि गरे ।
लामो समयसम्म आर्थिक क्षेत्रको अनुभव रहेकाले किशोर प्रधानले धेरै राम्रो काम गर्नेसमेत गोल्छाले बताएका छन् । ‘बिगतमा धरै विसंगति थिए । विकृति तथा विसंगतिका कारण काम गर्न असहज परिस्थति बनेको थियो,’ उनले भने, ‘अब महासंघमा रहेका विकृति तथा विसंगति हटाउनेछौं । त्यसका लागि मैले रोजेको प्यानललाई भोट दिनुहोस् ।’
महासंघमा राजनीतिको क्यान्सर फैलिएले उनले आरोप लगाए । ‘अबको समयमा सो क्यान्सर निकाल्न सक्नुपर्छ,’ उनले भने । उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको साझा मन्दिर रहेको बताउँदै उनले सोही मान्यता अनुसार काम गर्नुपर्ने बताए । सम्पूर्ण व्यवसायीका पक्षमा काम गर्न र निजी क्षेत्र बलियो बनाउन तथा सम्मानका लागि आफू र आफ्नो नेतृत्व लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
इतिहास कै कठिन र चुनौतिपूर्ण अवस्थामा आफूले महासंघको नेतत्व लिन लागेको स्मरण गर्दै सबैको साथ र सहयोगले चुनौति पार गर्न सहज हुने गोल्छाले बताए । महासंघको निर्वाचन मंसिर ११, १२ र १३ गते हुँदैछ ।
Comments are closed.