इक्यानको अध्यक्षमा शेषराजको उम्मेदवारी घोषणा, संस्थाको गरिमा उच्च बनाउने प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । इक्यानको निर्वाचन असार ३० गते हुँदैछ ।

अर्बिट इन्टरनेशनल एजुकेसनका सञ्चालक शेषराज भट्टराई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को बर्तमान कार्यसमितिमा उपाध्यक्ष भएर काम गरिरहेका छन् । यस अगाडि महासचिव भएर काम गरिसकेका भट्टराई व्यवसायीहरुमाझ लोकप्रिय छन् । भट्टराईले असार ३० गते हुने इक्यानको आगामी अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसैक्रममा भट्टराईसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत छः

इक्यानमा कसरी प्रवेश गर्नुभयो ?

इक्यानमा विभागीय कामबाट मैले प्रवेश गरेको हुँ । अर्बिट इन्टरनेशनल एजुकेसन इक्यानको पहिलो नम्वरको संस्था हो । अर्बिट इन्टरनेशनल अहिले २२औं वर्षमा छ । अर्विटमा मेरो उपस्थिति भनेको करिव १४ वर्ष पहिलादेखि हो । संस्थागत रुपमा हेर्ने हो भने पनि हाम्रो संस्थापक संचालक इक्यानको उपाध्यक्ष बनिसक्नुभएको छ । मेरो उपस्थिति इक्यान कार्यसमितिमा महासचिवबाट शुरु भएको हो । अहिले म इक्यानको उपाध्यक्ष भएर काम गरिरहेको छु । इक्यान शैक्षिक परामर्शदातृ संस्थाहरुको छाता संस्था भएपनि सरोकारवाला निकायमा यसबारे नकारात्मक सोचाई थियो । हामीले स्मार्ट इक्यानको अवधारणा ल्यायौं । इक्यानप्रतिको धारणामा पनि परिवर्तन आएको छ ।

इक्यानको आगामी अधिवेशनमा अध्यक्षमा उम्मेदवार बन्ने तयारी गर्नुभएको छ । किन अध्यक्ष बन्नुपर्छ भन्ने लाग्यो ?

शैक्षिक पारमर्श व्यवसाय तथा इक्यानका बारेमा उठेका विषयवस्तुलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि मेरो उम्मेदवारी अध्यक्षमा हुनुपर्छ भन्ने लागेर नै उम्मेदवारी घोषणा गरेको हु्ँ । आइटिपी विरुद्धको हाम्रो लडाईं थियो जुन समयमा म महासचिव थिएँ । यसमा म आफै प्रतिवादी भएर अदालत पुगेँ । विभिन्न विषय परिवेशसँगै आजका दिनमा धरौटीका प्रसंग आएका छन् जुन कुनै तरिकाबाट पनि जायज छैन । आगामी दिनमा इक्यानलाई व्यवसायीमैत्री बनाउँदै यस क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालीन समाधान खोज्ने अभियानमा लाग्ने सोच पनि मेरो छ । सम्पूर्ण व्यवसायीहरुको मनको भावना बुझेर नै मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।

इक्यानको अध्यक्ष भएपछि तपाईंको प्राथमिकताका क्षेत्र के रहन्छन् ?

इक्यानमा एउटा यस्तो नेताको खाचो छ, जसले सरोकारवाला निकाय, सरकारी निकाय, कुटनैतिक निकाय, विदेशका कलेज तथा युनिभर्सिटीसँग करस्पन्डेन्ट गर्न सक्ने हुनुपर्छ । इक्यानका शाखा विभिन्न स्थानमा छन् । ती शाखासँगको समन्वयमा कमि छ । ती शाखासँग समन्वय गरेर अगाडि बढ्नु आवश्यक छ । मेरो ध्यानमा यसमा हुनेछ । सरोकारवाला सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने र इक्यानको गरिमालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिदैछु ।

शैक्षिक परामर्शका क्षेत्रमा विभिन्न संस्था सक्रिय छन् । इक्यान अरु संस्था भन्दा कसरी फरक छ ?

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सत्य तथ्य जानकारी तथा परामर्श दिने कन्सल्टेन्सीहरु आवद्ध रहेको संस्था हो इक्यान । अध्ययनका लागि विदेश जादा आइपर्ने समस्या समाधानमा पनि कन्सल्टेन्सी लाग्ने गरेका छन् । कन्सल्टेन्सी भनेको शिक्षासँग सम्वन्धित क्षेत्र तथा शिक्षासँग सरोकार राख्ने निकाय हो । हरेक हिसाबले हेर्ने हो भने कन्सल्टेन्सी क्षेत्रमा अग्रणी संस्था इक्यान हो । २६ वर्षको छुट््टै इतिहास यसले रचेको छ । शुरुका दिनमा विदेश अध्ययन गर्न जाने भनेको हुने खानेले मात्र हो भन्ने थियो । अहिले आएर यसमा परिवर्तन भएको छ । मिडल क्लासका विद्यार्थी पनि वैदेशिक अध्ययनमा जाने अवस्था बनेको छ । प्रोफेसनल संस्थाहरु तथा कन्सल्टेन्टका कारणले नै यो सम्भव भएको हो ।

इक्यानबाट आगामी दिनमा के–कस्ता काम गर्न आवश्यक देख्नुहुन्छ ?

इक्यानले गर्नुपर्ने धेरै काम बाँकी छन् । अझैपनि अध्ययनका लागि विदेश पठाउन हँुदैन भन्ने मानसिकता देखिन्छ । यो राम्रो होइन । अध्ययनका लागि गएका विद्यार्थीलाई नेपाल कसरी भित्र्याउने भन्ने कुरामा बहस गर्नु आवश्यक छ । यसमा हामीले पनि पहलकदमी गरिरहेका छौं । हामीले काठमाडौं विश्वविद्यालयसँग सहकार्य पनि गरिरहेका छौं ।

इक्यानका मेम्वर भनेर गर्वका साथ भन्न पाउने अवस्था सृजना गर्नुपर्छ । कन्सल्ट्यान्टलाई जुन तरिकाले हेरिन्छ त्यसमा परिवर्तन ल्याउन आवश्यक छ । विदेशमा रहेका कलेज तथा युनिभर्सिटी एकथरी मेम्वरको एप्रोचमा मात्र रहेका छन् त्यसलाई सबैको पहुँच पुग्ने बनाउनुपर्छ । सदस्यका लागि लिडरसिप ट्रेनिङ तथा विभिन्न कार्यक्रम गर्नु आवश्यक छ ।

इक्यानमा महासचिव र उपाध्यक्ष भएर काम गरेको अनुभव तपाईंसँग छ, अध्यक्ष बन्नुभयो भने संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ?

पछिल्लो समय कन्सल्टेन्सीका विभिन्न विषयवस्तु उठिरहेका छन् ती विषयवस्तुलाई बलियो लिगेसीबाट तार्किक निष्कर्षमा पुर्याउनका लागि मेरो उम्मेदवारी अध्यक्षमा हो । मैले महासचिव हुँदादेखि नै स्मार्ट इक्यानको परिकल्पना गरेको हो । संस्थागत हितका काममा लागेको छु । अहिले म उपाध्यक्ष छु । महासचिव तथा उपाध्यक्ष भएपछि अध्यक्ष भएर काम गर्न मन लाग्नु स्वभाविक पनि हो । म त्यसै अनुशार तयारीमा लागेको छु । अध्यक्ष भएर संस्थाको हितमा काम गर्नेछु ।

अन्त्यमा, के भन्नुहुन्छ ?

शैक्षिक परामर्श व्यवसायका क्षेत्रमा आबद्ध व्यवसायीहरुको हकहितका लागि स्थापना भएको संस्था इक्यान हो । संस्थाको गरिमालाई आगामी दिनमा अझै उचो बनाउने गरी मैले अध्यक्ष भएर काम गर्ने सोच बनाएको छु । इक्यानको आगामी निर्वाचनमा मलाई सम्पूर्ण इक्यान साथीहरुको साथ रहनेछ भन्नेमा म विश्वस्त छु । मेरो विस्तृत कार्ययोजना छिट्टै सार्वजनिक गर्नेछु ।

lcci
You might also like

Comments are closed.