इक्यान कास्कीको आयोजनामा यही भदौ २० र २१ गते पोखरामा आठौं संस्करणको इक्यान शैक्षिक मेला हुँदैछ । मेलालाई सफल बनाउन इक्यान केन्द्रले समेत साथ दिइरहेको छ । यसैक्रममा पोखरामा हुन लागेको शैक्षिक मेलाका सन्दर्भमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईसँग गरिएको संक्षिप्त कुराकानीः
इक्यान कास्की शाखाको आयोजनामा पोखरामा आठौं सस्करणको ‘इक्यान शैक्षिक मेला’ हुँदैछ । यो मेलालाई इक्यान केन्द्रले कसरी हेरिरहेको छ ?
इक्यानका शाखाहरु मध्ये इक्यान कास्की सक्रिय संस्थाका रुपमा स्थापित छ । इक्यानले केन्द्रमा शैक्षिक मेला आयोजना गर्दै आइरहेको छ भने हाम्रा शाखाहरुले पनि विविध कार्यक्रम मध्ये शैक्षिक मेला प्राथमिकताका साथ गर्दै आइरहेका छन् । यसै क्रममा इक्यान कास्कीले यही भदौ २० र २१ गते शुक्रबार र शनिबार पोखराको सिटिस्क्वायर बैंक्युटमा शैक्षिक मेला गर्दैछ । यो मेला पोखरा र यस वरपरका विद्यार्थी र अभिभावकका लागि पनि एउटा ठूलो अवसर हो । मेलामा सहभागी हुनका लागि म त्यस क्षेत्रका विद्यार्थी तथा अभिभावक समक्ष आह्वान गर्दछु ।
यो शैक्षिक मेलाको मुख्य उद्देश्य के हो र यसमा कस–कसको सहभागिता रहनेछ ?
पोखरामा हुने मेलाको मुख्य उद्देश्य भनेको विद्यार्थी र अभिभावकलाई विदेशमा उच्च शिक्षा हासिल गर्ने सन्दर्भमा सही र पर्याप्त जानकारी प्रदान गर्नु हो । यसमा विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन् । विशेष गरी अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्यान्ड, जापान, भारत लगायतका देशका विश्वविद्यालयबाट प्रतिनिधि मेलामा सहभागी हुनेछन् । ती प्रतिनिधिले विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका जिज्ञासा समाधान गर्नेछन् ।
विद्यार्थीले शैक्षिक मेलाबाट के–कस्ता लाभ लिन सक्छन् ?
यो मेला विद्यार्थीका लागि एउटा ‘वन–स्टप सोलुसन’ जस्तै हो । उनीहरूले यहाँ आएर आफूलाई मनपर्ने देश, कलेज र विषयका बारेमा सिधै विश्वविद्यालयका प्रतिनिधिहरूसँग कुरा गर्न सक्छन् । यसबाट उनीहरूले आफूलाई चाहिएको जानकारी सजिलै प्राप्त गर्न सक्छन् । यसबाहेक, उनीहरूले भिसा प्रक्रिया, आवश्यक कागजात, छात्रवृत्तिका अवसर, फाइनान्सियल प्रक्रिया लगायतको बारेमा पनि विस्तृत जानकारी पाउन सक्छन् ।
तपाईंले फाइनान्सियल च्यानको कुरा गर्नुभयो ? लाग्ने खर्च र बैंकिङ प्रक्रियाका बारेमा पनि जानकारी प्राप्त हुन्छ ?
अवश्य पनि प्राप्त हुन्छ । धेरै विद्यार्थी र अभिभावकलाई विदेशमा पढ्न लाग्ने खर्च र त्यसको व्यवस्थापनको बारेमा अन्योल हुन्छ । पोखरामा हुने मेलामा विभिन्न बैंकको पनि सहभागिता रहनेछ, जसले शैक्षिक कर्जा(Educational loan) र अन्य वित्तीय प्रक्रियाको बारेमा जानकारी दिनेछन् । यसले विद्यार्थीलाई आर्थिक योजना बनाउन सहयोग पुग्नेछ ।
पोखरामा शैक्षिक मेला आयोजना हुँदा यहाँका विद्यार्थी प्रत्यक्ष लाभान्वित होलान् ?
काठमाडौंमा यस्ता मेलाहरू धेरै हुन्छन् । तर, पोखरा लगायतका अन्य सहरहरूका विद्यार्थी र अभिभावकलाई पनि यस्तो अवसर प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो । हामी चाहन्छौं कि पोखरा क्षेत्रका विद्यार्थीले पनि काठमाडौंका विद्यार्थीले जस्तै विश्वका उत्कृष्ट शैक्षिक संस्थाका बारेमा जानकारी पाऊन् । यसले उनीहरूलाई विदेशमा पढ्न जाने निर्णय गर्न अझ सजिलो हुनेछ ।
अन्त्यमा, पोखराका विद्यार्थी र अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ ?
म सम्पूर्ण विद्यार्थी र अभिभावकलाई यो सुनौलो अवसरलाई सदुपयोग गर्न आग्रह गर्दछु । विदेशमा शिक्षाको बारेमा धेरै भ्रम र गलत जानकारीहरू पनि छन् । यो मेलामा आएर तपाईंहरूले सही र प्रमाणित जानकारी प्राप्त गर्न सक्नुहुनेछ । तपाईंको भविष्यको लागि यो एउटा महत्वपूर्ण कदम हुन सक्छ । त्यसैले, भदौ २० र २१ गते पोखराको सिटिस्क्वायर बैंक्युटमा आउनुहोस् र अन्तर्राष्ट्रिय शिक्षाको बारेमा आवश्यक सम्पूर्ण जानकारी लिनुहोस् भन्न चाहन्छु ।
Comments are closed.