शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोअनुसार ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि तथा १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीका लागि ४४ हजार ४०० कित्ता छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ ।

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ ।

उक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९.०८ वर्ष बाँकी रहेको छ । आयोजनामा गरिएको लगानी साधारण हिसाबले ८.९२ वर्षमा फिर्ता हुने र डिस्काउण्ट दरमा १३.६४ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ । सो आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु भएको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.