काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले राजधानी काठमाडौंमा एकैपटक ५ वटा शाखा सञ्चालनमा ल्याएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले नयाँ बानेश्वर, न्युरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा एकैपटक शाखा सञ्जाल विस्तार गरेको हो ।
बैंकले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै शाखा विस्तारको घोषणा गरेको हो । राजधानीमा एकैपटक ५ वटा शाखा विस्तारको घोषणा गर्दै बैंकका अध्यक्ष धानेश्वर पौडेलले संघीय राजधानीसँग जोडिदै राष्ट्रियस्तरमा सेवा प्रदान गर्न बैंक सफल भएको बताए ।
१२ वर्ष अगाडि स्थापना भएको बैंकले राष्ट्रियस्तरमा कारोबार शुभारम्भ गरेको हो । बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ र जगेडा पुँजीसहित कुल पुँजी कोष ४ अर्ब रुपैयाँ छ । निक्षेप संकलन ३३ अर्ब ५० करोड रुपैयाँ र कर्जा लगानी ३० अर्ब ७० करोड रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
Comments are closed.