जनमानसमा बीमाको चेतना बढाउनतर्फ ध्यान दिनुपर्छ

शिव सुवेदी, कोषाध्यक्ष, निप्स पोखरा च्याप्टर

शिव सुवेदी बीगत १६ वर्षदेखि निर्जीबन बीमा क्षेत्रमा सक्रीय छन् । उनी हाल निप्स पोखरा च्याप्टर कोषाध्यक्षसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका गण्डकी प्रदेश प्रमुख भएर काम गरिरहेका छन् । यसैक्रममा निप्सका गतिविधि तथा बीमा क्षेत्रका सन्दर्भमा केन्द्रित रहेर सुवेदीसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानीः

निप्समा कोषाध्यक्ष भएर काम गरिरहनुभएको छ । कोषको अवस्था के छ ?

संस्था स्थापनाको हामी १२औं वर्षमा छौं । हाम्रो संस्थाको उद्देश्य कोषलाई बढाउने भन्दा पनि सदस्य साथीहरुको क्षमता अभिबृद्धि तथा बीमा क्षेत्रको सकारात्मक प्रवद्र्धन गर्नु हो । यद्यपि संस्था स्थापना भएपछि संस्थालाई जिबन्त बनाउन कोष एउटा महत्वपूर्ण पाटो हो । अहिले हामीसँग कोष नाफामै छ । बचत रकमलाई हामीले खर्च गरेका छैनौं, सकेसम्म बढाउने प्रयासमा छौं । कोषमा हाल ९ लाख रुपैयाँ बचत छ । बर्तमान कार्यकालमा यो रकममा थप हुनेछ ।

jutta mela

कोष व्यवस्थापनमा आगामी योजना के बनाउनुभएको छ ?

हामीले कोष बढाउनलाई प्राथमिकता दिदैनौं । तर पनि सदस्यता बृद्धि हाम्रो प्राथमिकतामा रहन्छ । हामीसँग साधारण र आजीवन गरी २ किसिमका सदस्यहरु आबद्ध छन् । सदस्यता बृद्धि अभियान सञ्चालन गर्दा कोषमा पनि केही रकम थप हुनेछ । स्मारिका प्रकाशन लगायतका गतिविधि गरेर कोषमा रकम बढाउने तयारीमा हामी छौं । बीमा कम्पनीहरुमा आबद्ध अधिकृत स्तरका कर्मचारीहरुलाई निप्समा आबद्ध हुन पनि म आग्रह गर्दछु ।

निर्जीवन बीमा क्षेत्रमा काम गरेको लामो अनुभव तपाईंसँग छ । निर्जीबन बीमाको अवस्था कस्तो छ ?

निर्जीबन बीमाको बजार दिनानुदिन बढ्दै गइरहेको छ । सरकारले कृषि, स्वास्थ्य, तेस्रो पक्ष बीमालाई प्राथमिकतामा राखेको छ । कृषिमा बीमा प्रिमियमको ८० प्रतिशतसम्म अनुदानको व्यवस्थासमेत गरेको छ । सम्पूर्ण विकास निर्माणका कार्यहरुमा बीमा गर्नुपर्ने नीति राखेको छ । बैंकबाट ऋण लिएको छ भने बीमा अनिवार्य जस्तै छ ।

बीमाको दायर बढाउन के गर्नुपर्छ भन्ने लाग्छ ?

जनमानसमा बीमाको चेतना बढाउनतर्फ ध्यान दिनुपर्छ । यसका साथै बीमा क्षेत्रमा कसरी आकर्षण गर्ने त्यसै अनुरुप कार्यक्रम अगाडि बढाई शहरमुखी भन्दा पनि घरघरमा पुगेर प्रचार प्रसारमा ध्यान दिनुपर्छ । बीमा प्राधिकरण लगायत बीमा कम्पनीहरु पनि प्रवद्र्धन अभियानमा सक्रियताका साथ लाग्न जरुरी छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

समय अनुसार हामी पनि अगाडि बढ्न सक्नुपर्छ । प्रविधिको समयमा प्रविधिमैत्री सेवालाई प्राथमिता दिने, कम्पनीका शाखा बिस्तार गरी ग्राहकको पहुँचमा पुग्ने गरी काम गर्नुपर्छ । कम्पनीको सबैभन्दा मुख्य दायित्व भनेको दावी भुक्तानी हो । दाबी भुक्तानीको प्रक्रियालाई छिटो, छरितो गर्नुपर्छ । जनमानसमा बीमा पुग्न सकेको छैन । अब यसलाई बढाउनुपर्छ ।

You might also like

Comments are closed.