युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन

तनहुँ । ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् ।

व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए । उनका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हुँदै आएको छ । उक्त उद्योगमा उत्पादित सामग्री तनहुँ, गोरखा, लमजुङका विभिन्न बजार क्षेत्रमा बिक्री हुँदै आएको छ ।

करिब २ करोड रुपैयाँको लागतमा उद्योग सञ्चालनमा ल्याइएको हो । उनले भने, “सञ्चालनमा ल्याइएको झण्डै आठ महिनाका अवधिमा करिब २० हजार उत्पादन गरिएको छ ।” छोटो अवधिमा बजार क्षेत्र पकड लिन सकेकाले थप हौसला मिलेको उनले बताए ।

आसपास जिल्लाका व्यपारीलाई काठमाडौं, नारायणगढबाट ल्याएको भन्दा रु एक/दुई सस्तो दिँदा व्यवसायी पनि खुशी भएका छन् । टाढाबाट सामान खरिद गरी ल्याउँदा महङ्गो गाडी भाडा तिर्नुपर्ने यहाँका व्यवसायीलाई केही हदसम्म भए पनि राहतको महसुस गरिएको छ । उद्योगमा हाल छ जनशक्तिले काम गरिरहे पनि बजारको मागअनुरुप सामान उत्पादन गरी पु¥याउन गाह्रो भएको निर्देशक राउतले बताए ।

उत्पादित सामानमा कमजोरी नदेखिएको कम्पनीका सचिव दयाराज कट्टेलले बताए । राम्रो, गुणस्तर र बलियो भएका कारण सबैको मन जित्न सफल भएको महसुस गरेका छौँ”, उनले भने ।

कम्पनीले लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यावसायिक तरकारी खेती गर्नेसमेतका योजना बनाइरहेको छ । पहिलो चरणमा उद्योग सञ्चालनसँगै ६०० स्थानीय जातका कुखुरा फार्मसमेत सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष पदमबहादुर थापा मगरले बताएका छन् ।उनले भने, “केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिमलगायतका उत्पादन थप्ने योजना रहेको छ ।”

You might also like

Comments are closed.