पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६औँ महाधिवेशन आउँदो भदौ २० र २१ गते हुने भएको छ। आज बसेको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ।

यसै क्रममा संघको इतिहासमै पहिलो महिला महासचिव बन्न सफल वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव सँगालेकी गौतमले संस्थागत विकास र व्यवसायीहरूको हकहितका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै महासचिव गौतमले पदभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व आजको आवश्यकता रहेको बताइन् । ूमेरो मूल मन्त्र सधैं एउटै रह्यो— पदभन्दा काम ठूलो हुन्छ, उनले भनेकी छन्, ‘जिम्मेवारीलाई अवसरका रूपमा होइन, सेवाका रूपमा ग्रहण गर्दै संस्था र व्यवसायीहरूको हितमा इमानदारी, निष्ठा र समर्पणका साथ निरन्तर काम गरेकी छु। नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ।’

गौतमले संघको इतिहासमा हालसम्म कुनै पनि महिलाले नेतृत्व सम्हाल्ने अवसर नपाएको स्मरण गराउँदै आफ्नो उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा मात्र नभएको प्रष्ट पारिन् । उनले भनिन्, ‘आजसम्म पोखरा उद्योग वाणिज्य संघको इतिहासमा कुनै पनि महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छैन। त्यसैले मेरो उम्मेदवारी अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको सामूहिक विश्वासको अभियान हो।’

आफूलाई उद्योगी–व्यवसायीकै ुछोरी–चेलीु का रूपमा प्रस्तुत गर्दै गौतमले भनिन् ‘सुख–दुःख, चुनौती र अवसरका प्रत्येक यात्रामा यहाँहरूले ममाथि देखाउनुभएको विश्वासलाई अब अध्यक्षका रूपमा अझ ठूलो जिम्मेवारी र समर्पणका साथ सार्थक बनाउनेछु।’

आफ्नो कार्यशैली अनुभव, पारदर्शिता, उत्तरदायित्व, सुशासन र सबैलाई साथमा लिएर हिँड्ने खालको हुने प्रतिबद्धता उनको छ । ‘विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो हुनेछ। आउनुहोस्, हामी सबै मिलेर कामलाई प्राथमिकता दिने नेतृत्व, बलियो संस्था र समृद्ध व्यवसायको नयाँ अध्याय सुरु गरौँ,’ उनले भनिन् ।

गौतमले केही समयपछि आफू सक्षम, समावेशी र प्रतिबद्ध टिमसहित औपचारिक रूपमा उद्योगी–व्यवसायीमाझ उपस्थित हुने जानकारी दिइन् । ‘त्यस अवसरमा हाम्रो साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजनाहरू पनि सार्वजनिक गर्नेछौँ,’ उनले थपिन् ।

पोखराको निजी क्षेत्रको जेठो र प्रतिष्ठित संस्था भएकाले पोखरा उद्योग वाणिज्य संघको यो महाधिवेशन र गौतमको उम्मेदवारीलाई पोखराका व्यवसायीहरूले निकै चासोका साथ हेरेका छन्।

 

You might also like

Comments are closed.