मेरो उम्मेदवारी हरेक महिला र युवाका लागि प्रेरणाको स्रोत होः श्रमिक जि.सी.

श्रमिक जि.सी., प्रदेश सभा स्वतन्त्र उम्मेदवार, कास्की क्षेत्र नं. २ ‘ख’

देशभर राजनीतिक दलका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरुको संख्या धेरै छ । यसैक्रममा महिला उद्यमी एवं सामाजिक अभियान्ता श्रमिक जि.सी.ले कास्की क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेकी छन् । यसैक्रममा उनीसँग उम्मेदवारी दिनुको कारण, योजना लगायत विविध विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

कास्की क्षेत्र नं. २ ‘ख’मा तपाईंको उम्मेदवारी किन ?

कास्की क्षेत्र नं. २ ‘ख’ मा मैले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । विशेष गरी पुराना राजनीतिक दलले महिला र युवालाई नेतृत्वबाट बञ्चित गराएका छन् । युवा र महिलालाई राजनीतिमा अगाडि आउन दिइएको छैन । अब हामीले युवा र महिलालाई राजनीतिमा आकर्षण गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मेरो उम्मेदवारी हरेक महिला र युवाका लागि प्रेरणाको स्रोत होस भन्ने म चाहन्छु ।

jutta mela

राजनीतिक दलबाट उम्मेदवारी नदिएर स्वतन्त्र रुपमा उम्मेदवार बन्नुको खास कारण के हो ?

पदका लागि राजनीतिक दलमा खिचातानी बढ्दो छ, जुन राजनीतिमा बढिरहेको विकृतिको उदाहरण हो । चुनाव जित्न र पदका लागि पुराना राजनीतिक दलका नेताहरु जस्तोसुकै कार्य गर्न पनि तयार हुनुहुन्छ । त्यस्तो फोहरी राजनीतिको हिस्सेदार बन्न म सकिनँ । राजनीतिमा देखिएको चरम बिकृतिले देश विकासतर्फ होइन विनासतर्फ धकेलिरहेको छ । फलस्वरुम जनतामा चरम निरासा बढिरहेको छ । देशको अस्तित्व नै गुम्ने खतरा बढिरहेको छ । यस्तो अवस्था हामी युवाहरुले देशलाई सहि दिशामा मार्गनिर्देश गर्न जरुरी छ । जसका लागि हामी राजनीतिमा होमिनुपर्ने बाध्यता आइपरेको छ । सोही कारण मैले कास्की २ ‘ख’बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी हुँ । लालटिन चुनाव चिन्ह मैले प्राप्त गरेकी छु ।

उम्मेदवार बनिरहँदा जनताबाट कस्तो खालको अपेक्षा गर्नुभएको छ ?

मैले अहिलेको चुनावमा महिला र युवा वर्गलाई अग्रस्थानमा राखेर उहाँहरुको मन र मत जित्ने विश्वास गरेको छु । जब म एउटा मिसन र भिजनसहित स्वतन्त्र रुपमा उम्मेदवार बनेँ त्यसपछि धेरै महिला तथा युवाहरुबाट मलाई समर्थन र प्रोत्साहन मिलिरहेको छु । उहाँहरुबाट प्राप्त साथ र सहयोगले मेरो मनोवल उच्च बनाएको छ र म उत्साही पनि छु ।

युवाहरु जागिर, व्यवसाय र सामाजिक संघसंस्थामा आबद्ध हुने प्रचलन बढि छ । तर, तपाईं राजनीतिमा किन होमिनुभयो ?

म पेशाले शैक्षिक क्षेत्र र धेरै सामाजिक संघसंस्थामा आबद्ध छु । तर, एउटा समृद्ध नेपालको सपना साकार पार्नका लागि सक्षम युवाहरु राजनीतिमा आबद्ध हुन आवश्यक छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै मैले पनि स्वतन्त्र उम्मेदवारी दिदै राजनीतिमा होमिएकी हुँ । युवाहरुलाई दलहरुले प्रयोग मात्रै गरे तर अबसर दिइएन । अब युवाहरु दलका नेताहरुको भर्याङ मात्रै नबनि राजनीतिक नेतृत्वमा लिएर अगाडि बढ्नुपर्छ ।

तपाईंका चुनावी प्रतिबद्धताहरु के–के छन् ?

समृद्ध प्रदेश निर्माण गर्ने, महिला हिंसालाई शून्य बनाउने, महिला र युवालाई उद्यममा प्रोत्साहन गरी लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटनको विकास, महिला सशक्तीकरण गर्ने, लैंगिक समानता कायम गर्ने, पीछडिएका वर्गको उत्थान गर्ने मेरो प्रतिबद्धता छ । सुरक्षित प्रदेश बनाउने अभियानमा म लाग्नेछु ।

You might also like

Comments are closed.