विद्यार्थीलाई सकेसम्म नेपालमै पढ्न प्रेरित गर्नुपर्छ

सुप्रभात भण्डारी, अध्यक्ष, नेपाल अभिभावक महासंघ

नेपालको वर्तमान शैक्षिक परिदृश्यमा विद्यार्थीहरूको विदेश पलायन एक गम्भीर चुनौती बनेको छ । अहिलेको प्राथमिक आवश्यकता भनेको नेपाली विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउनु र नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्यका रूपमा विकास गर्नु हो । नेपालबाट वार्षिक रूपमा अरबौँ रुपैयाँ शिक्षाका नाममा बाहिरिरहेको छ । यसलाई रोक्न इक्यान जस्ता व्यावसायिक संस्थाहरूले केवल नेपाली विद्यार्थी पठाउने मात्र नभई, विदेशी विद्यार्थीलाई नेपालका कलेज र विश्वविद्यालयहरूमा आकर्षित गर्ने रणनीतिक योजना बनाउनु पर्छ । नेपालको विशिष्ट भूगोल, संस्कृति र कतिपय मौलिक विषयहरूमा अध्ययनका लागि विदेशी विद्यार्थी ल्याउन सके यसले अर्थतन्त्र र साख दुवै बढाउनेछ ।

नयाँ पुस्तामा नेपालमा अवसर छैन भन्ने मनोविज्ञान विकास भएको छ । यस्तो अवस्थामा शैक्षिक परामर्शदाताहरूको भूमिका अत्यन्तै संवेदनशील हुन्छ । उनीहरूले विद्यार्थीलाई विदेश पठाउँदा केवल नाफाका लागि मात्र नहेरी सत्य र तथ्यमा आधारित परामर्श दिनुपर्छ । जान लागेको देशको भिसा नीति, कलेजको गुणस्तर, विषयको सान्दर्भिकता र वास्तविक शुल्कका बारेमा विद्यार्थी र अभिभावकलाई प्रष्ट पार्नुपर्छ । विदेशमा रहँदा आइपर्न सक्ने कानुनी, आर्थिक र सामाजिक समस्याहरू र ती समस्या पर्दा कसरी जोगिने भन्नेबारे पूर्व–प्रस्थान जानकारी दिनु परामर्शदाताको नैतिक कर्तव्य हो । अध्ययनका लागि विदेश जानु नराम्रो होइन, तर त्यहाँ सिकेको सीप र ज्ञान आफ्नै देशको माटोमा प्रयोग हुनुपर्छ । परामर्शदाताहरूले विद्यार्थीलाई अध्ययन सकेर नेपाल फर्किन प्रेरित गर्ने खालको परामर्श दिनुपर्छ ताकि देशले दक्ष जनशक्ति प्राप्त गरोस् । शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन जरुरी छ । इक्यान जस्ता छाता संगठनहरूले आफ्ना सदस्य संस्थाहरूलाई विद्यार्थीमैत्री सेवा प्रवाह गर्न कडा निर्देशन र अनुगमन गर्नुपर्छ । जब यो क्षेत्र मर्यादित हुन्छ, तब मात्र अभिभावक र विद्यार्थीको भरोसा बढ्छ र कसैले पनि ठगिनुपर्ने अवस्था आउँदैन ।

You might also like

Comments are closed.