निक्षेपमा नयाँ अवधाणा सहित ‘ग्रिन निक्षेप’ प्रोडक्ट ल्याएका हौं

श्याम अधिकारी

युबा बैंकर श्याम अधिकारीसँग बैंकिङ क्षेत्रमा करिब १७ वर्षको अनुभव छ । पछिल्लो समय उनी बिगत १० वर्षदेखि एनएमबी बैंकमा कार्यरत छन् । बैंकको प्रदेश प्रमुखदेखि केन्द्रीय कार्यालयको विभिन्न विभागमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेको अनुभव अधिकारीसँग छ । हाल एनएमबी बैंकको रिटेल डिपोजिट, ट्रान्जेक्सन बैंकिङ र डिजिटल सेल्स डिपार्टमेन्टको प्रमुख भएर उनले काम गरिरहेका छन् । यसै क्रममा अधिकारीसँग बैंकले उनको विभाग तथा सम्बन्धित क्षेत्रमा गरिरहेका कामहरु, ग्राहक सेवा, योजना तथा प्रडक्टहरु र रणनीति तथा डिजिटलाइजेशनमा नयाँ प्रयोग लगायत अन्य विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानी :

बैंकिङ क्षेत्रमा यहाँको अनुभव कस्तो छ ?

मसँग बैंकिङ क्षेत्रमा २ वटा वाणिज्य बैंकमा गरेर १७ वर्ष काम गरेको अनुभव छ । बिगत १० वर्षदेखि एनएमबी बंैकमा कार्यरत छु । यस अवधिमा बैंकिङ करियरमा मैले शाखा प्रमुख, एरिया म्यानेजर, प्रदेश प्रमुखदेखि केन्द्रीय कार्यालयमा विभिन्न विभागीय जिम्मेवारी सम्हाल्दै हाल रिटेल डिपोजिट एवं ट्रान्जेक्सन बैकिङ तथा डिजिटल सेल्स विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेको छु ।

रिटेल डिपोजिट एवं ट्रान्जेक्सन बैंकिङ तथा डिजिटल सेल्स डिपार्टमेन्टले कस्ता काम गर्दै आइरहेको छ ?

अहिलेको मेरो जिम्मेवारी अन्तर्गत बैंकका शाखाहरुमा कर्जाको कारोबार बाहेकका ग्राहकका अन्य निक्षेप तथा अन्य विभिन्न कारोबारहरु पर्दछन् । जस्तै, ग्राहकको खाता खोल्ने, कारोबार हेर्ने तथा उहाँहरुलाई आवश्यक पर्ने विभिन्न कारोबार सम्बन्धी सेवाहरु प्रदान गर्ने, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, क्यू आर सेवा, लकर सेवा, कर्पाेरेट पे, डि म्याट, प्वाई अफ सेल जस्ता कारोबार तथा सेवा सुविधाहरु प्रदान गर्ने जिम्मेवारी हाम्रो विभाग अन्तर्गत पर्दछन् । नेपाल राष्ट्र बैंकले नै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको अहिलेको अवस्थामा हामीले ग्राहकलाई डिजिटल कारोबार गर्नको लागि प्रोत्साहन गर्ने, कारोबारलाई सहज बनाउन सेवा सुुविधामा सुधार ल्याई ग्राहकको सेवा अनुभवमा सुधार ल्याउन नयाँ प्रडक्ट बनाउने, ग्राहकको अपेक्षा अनुसारको सेवा सुविधा ल्याउन सर्वेक्षण गर्ने आदि लगायतका काम हामीले गरिरहेका छौं । त्यसैगरि ग्राहकको सुविधालाई ध्यानमा राखेर प्रायोरिटी बैकिङ अन्तर्गत विदेशी संघसंस्थाहरु तथा विशेष सेवाग्राहीहरुलाई छिटो र सहज सेवा प्रदान गरिरहेका छौं भने समय र परिस्थिति अनुसार बैंकको विभिन्न प्रडक्ट तथा सेवाहरुको समिक्षा गर्ने, नयाँ प्रोडक्ट तथा सेवाहरु ल्याउने तथा भइरहेको प्रडक्ट तथा सेवाहरुमा परिवर्तन गर्ने जस्ता कार्यहरु हामीले यस विभागबाट गरिरहेका छौं ।

कस्तो खालको निक्षेपमा तपाईंहरुले प्राथमिकता दिदै आउनुभएको छ ?

हामीले साना साना निक्षेपहरुमा ध्यान दिदै आइरहेका छौं । यस्ता साना साना निक्षेपहरुद्वारा धेरै भन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरेर निक्षेप संकलन गर्ने नै हाम्रो प्राथमिकता छ । किनभने यस्ता निक्षेप स्थिर र दिर्घकालीन हुने भएकाले बैंकको लागि यस्ता निक्षेपको स्रोत भरपर्दाे मानिन्छ । यसको लागि हामीले डिजिटल माध्यम भिडियो केवाईसीबाट खाता खोल्न सक्ने व्यवस्था गर्नुको साथै डिजिटल माध्यमबाट कारोबार गराउने सिकाउने र प्रोत्साहन गराउने काम पनि गरिरहेका छौ ।ं जसद्वारा ग्राहकको समय पनि बचत हुनुको साथै बैंकमा नै आएर कारोबार गर्नुपर्ने झन्झटबाट पनि मुक्ति पाउनुभएको छ । यस अन्तर्गत हामीले मोबाइल एप, एटिएम कार्ड, अनलाइन कारोबार, लगायतका सेवा लिन बैंकको विभिन्न सामाजिक सञ्जालको साथै बैंकको २०२ वटै शाखाबाट कर्मचारीले ग्राहकलाई सिकाउनुको साथै समय समयमा डिजिटल साक्षरता कार्यक्रमहरु आयोजना गरेर पनि सिकाइरहेका छौं ।

निक्षेपमा तपाईंहरुले ‘ग्रिन निक्षेप योजना’ ल्याउनुभएको छ । यो कस्तो प्रोडक्ट हो ?

उत्तरदायी तथा दिगो बैंकिङ गर्नुपर्छ भन्ने उद्देश्यका साथ गठन गरिएको विश्वव्यापी संगठन ‘ग्लोबल एलाएन्स फर भ्यालु बेस बैंकिङ’को लागि नेपालबाट पहिलो सदस्य बनेको बैंक एनएमबि बैंक भएकाले हामीले ग्रिन निक्षेप स्किम ल्याएका हौं । ग्रिन निक्षेप अन्तर्गत हामीले संकलन गर्ने निक्षेपलाई वातावरणमैत्री परियोजनाहरुमा लगानी गर्छाैं । जस्तै, स्वच्छ उर्जा, दिगो कृषि, फोहर व्यवस्थापन, जल संरक्षण आदि । यो निक्षेप खाता अन्तर्गत साधारण बचतकर्ताको साथै संस्थागत ग्राहक सबैले खाता खोल्न सक्छन् । साधारण बचतकर्ताहरुले गो ग्रिन खाता अन्तर्गत बचत तथा मुद्दती खाता खोल्न सक्छन् भने संस्थागत ग्राहकले चल्ती, कल तथा मुद्दती खाता खोलेर रकम जम्मा गर्नसक्छन् । यी निक्षेप खातामा जम्मा भएको रकम कुन कुन ठाउँमा प्रयोग भयो भनेर हामीले प्रकाशित पनि गर्छौं । जसले ग्राहकलाई उनीहरुका निक्षेपको रकम एकदमै आवश्यकीय क्षेत्रमा लगानी भइरहेको छ भन्ने अनुभूति हुनुको साथै जिम्मेवारी समेत महशुस गराउने हाम्रो विश्वास छ ।

‘ग्रिन निक्षेप’बाट कस्तो खालको प्रतिक्रिया पाउनुभएको छ ?

यो निक्षेप ल्याएको ३ महिनामा नै हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । ग्रिन निक्षेप खातामा ग्राहकले तुलनात्मक रुपमा बढि ब्याज पाउनुको साथै उनीहरुको निक्षेप वातावरणमैत्री परियोजनाहरुमा लगानी गर्ने सुनिश्चितता भएर दिगो लगानी प्रवद्र्धनमा सघाउ पुग्ने भएकाले यसले ग्राहकलाई आकर्षण गर्न सफल भएको देखिन्छ । बैंकमा पहिला नै ग्राहकको खाता छ भने पनि ती खाताहरुलाई ग्रिन खातामा परिवर्तन गर्ने सुविधा पनि हामीले दिएका छौं । दिगो बैंकिङ, दिगो लगानीलाई प्रोत्साहन गर्न ग्रिन निक्षेपले प्रभावकारी भूमिका निर्वाह गर्ने हामीलाई विश्वास छ ।

अन्य के कस्ता प्रोडक्ट अहिले संचालनमा छन् ?

हामीले यदि कुनै संस्थाले आफ्ना कर्मचारीहरुको तलबी हाम्रो बैंकमा खोलेको छ भने त्यस संस्थाको निश्चित वर्गका कर्मचारीहरुलाई बैंकको नियम अनुसार बिना धितो प्रोफेशलनल कर्जाको साथै बिमा सुविधाको साथै मोबाइल, ल्यापटप, होम अप्लायन्सेस लिनका लागि क्रेडिट कार्डमार्फत किस्तावन्दीमा समेत उपलब्ध गराइराखेका छौं । यस्ता तलबी खाता सञ्चालन गर्ने संस्थाका कर्मचारीहरुलाई बिमा, मोबाइल बैंकिङ र डेबिट कार्ड लगायत विभिन्न खालका सुविधाहरु निश्चित अवधिसम्म निःशुल्क उपलब्ध गराइराखेका छौं । त्यसैगरी विभिन्न वर्गमा ग्राहकलाई सेवा दिनको लागि हामीले महिला बचत खाता, ज्येष्ठ नागरिक बचत खाता, स्टुडेन्ट सेभिङ एकाउण्ट, ऊज्यालो पेन्सन बचत खाता, कर्मठ युवा बचत खाताको साथै रेमिटेन्टको लागि एनएमबी जन्मभूमि बचत खाता जस्ता बचत खाताका प्रडक्टहरु छन् ।

बैंकमा व्याजदरको अवस्था कस्तो छ ?

अहिले समग्र नेपालको बैंकिङ क्षेत्रको कर्जा निक्षेप अनुपात ८० प्रतिशत भन्दा तल रहेको र बजारमा अधिक तरलता भएको कारणले समग्र बैंकहरुको निक्षेपको ब्याजदर नै न्यून बिन्दुमा रहेको अवस्था छ । त्यसैले हाम्रो ब्याजदर पनि सरदर नै छ । बिगत डेढ वर्षदेखि व्याजदर घट्ने क्रममा रहेको र निक्षेप संकलनको तुलनामा कर्जाको माग कम भएकाले यस्तो अवस्था आएको भएतापनि हामीले गो ग्रिन निक्षेपमा अन्य निक्षपमा भन्दा बढि ब्याज दिएका छौं ।

डिजिटल कारोबारमार्फत हुने ठगीको बारेमा ग्राहकलाई कसरी सचेत गराउनुभएको छ ?

विश्वब्यापी कोरोना महामारी पछि विश्वभर नै डिजिटल बैंकिङ कारोबारमा एउटा ठुलो क्रान्ति नै आयो । नेपालमा पनि यसले ठुलै फड्को मार्न सफल भएको छ । तर, यो फड्कोसंगसंगै यस्ता डिजिटल कारोबारबाट हुने ठगी पनि बढिरहेकाले हामीले आफ्ना ग्राहक यस्ता कारोबारहरुबाट हुने ठगीबाट जोगिउन भन्ने हेतुले उनीहरुलाई सजग बनाउन विभिन्न माध्ययमहरुबाट सचेतनाका कार्यक्रमहरु गरिरहेका छौं । हामीले स्कुल, कलेज लगायतका विभिन्न स्थानमा मोबाइल बैंकिङ, डिजिटल बैंकिङको माध्यमबाट कारोबार गर्दा अपनाउनुपर्ने सावधानीहरुको बारेमा जानकारी गराउनको साथै बैंकको विभिन्न सामाजिक सञ्जालहरुमार्फत जानकारी गराइरहेका छौं । साथै बैंकका २०२ वटा शाखाका कर्मचारीहरुले पनि हाम्रा सेवाग्राहीलाई शिक्षा प्रदान गर्दै आउनुभएको छ । हाम्रा ग्राहक भइसकेका व्यक्तिहरुलाई समेत जानकारी गराउन विभिन्न समूहहरुलाई भेला गराएर यस सम्बन्धी शिक्षा कार्यक्रम आयोजना गर्दै आउनुको साथै विभिन्न अनलाइन मिडिया तथा पत्रपत्रिकाहरुमा समेत यस्ता चेतनामूलक सन्देशहरु प्रकाशित गर्दै आइराखेका छौं ।

डिजिटल बैंकिङ हाम्रो प्राथमिकतामा रहेकाले मोबाइल चलाउन सक्ने ग्राहकलाई हामी डिजिटल बैकिङ प्रयोग गर्न अनुरोध गर्छाैं । साना साना कारोबार गर्न बैंकसम्म धाउने झन्झट भएन भने ठुला कारोबार पनि सुरक्षित रुपमा गर्न सकिन्छ भन्ने कुरा बुझाउने प्रयास गर्छाैं र यस्तो बैकिङ कारोबार गर्न केके कुरामा ध्यान दिने, कस्ता खालका ठगी हुनसक्छन् भनेर सचेत गराउछौं ।

बैंकमा बचतकर्ताको संख्या कति छ ?

हाम्रो बैंकमा २०२ वटा शाखामा करिव २२ लाख निक्षेप ग्राहक छन् । सबै ब्रान्चबाट हामीले छिटो, छरितो र आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिरहेका छौं । शाखाका कर्मचारीद्वारा ग्राहकलाई हाम्रो सेवा सुुविधाहरुको बारेमा जानकारी गराउँछौं । ग्राहकको मन जितेर बढि भन्दा बढि ग्राहक बनाउन कर्मचारीलाई उचित तालिम तथा विकासका कार्यक्रमहरु आयोजना गरिरहेका छौं । कर्मचारीलाई शाखा वरपर ग्राहकको घरदैलो पुगेर खाता खोल्न तथा कारोबार गर्न प्रोत्साहित गरिरहेका छौं । शाखाको सम्भावना र त्यहाँका ग्राहकलाई आवश्यक्ता अनुसार बैंकका विभिन्न सेवा तथा प्रडक्टहरुलाई प्राथमिकता दिएर अगाडि बढिरहेका छौं ।

तपाईंहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कस्ता कस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिनुभएको छ

राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रहेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा आवश्यक शिक्षा, स्वास्थ, वातावरण संरक्षण, गरीबी निवारण, समुदायको विकास तथा दिगो विकासका अन्य विभिन्न लक्ष्यहरुमा पर्ने समुदायको विकासका विभिन्न क्षेत्रहरुमा बैंकले काम गरिरहेका छ ।

यस्ता कार्यक्रमहरुमा सबै प्रदेशको सहभागिता होस् भन्ने उद्देश्यले हामीले गर्ने संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा अधिकांश शाखाहरुका विभिन्न ठाउँहरुमा अति आवश्यक र प्रभावकारी कार्यक्रमहरु आयोजना गरिराखेका छौं, जसमा हाम्रो कर्मचारीहरुको पनि अत्याधिक उपस्थिति गराउदै आएका छौं ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले मुलत सेवामा इमान्दारी, कर्मचारीहरुको बोलीमा मिठासलाई नै ग्राहक सन्तुष्टिको मुख्य आधार मानेका छौं । ग्राहकलाई सेवा दिनु केवल काम होइन, उनीहरुको विश्वास जित्ने अवसर पनि हो भन्ने मन्त्रको साथ बैंकलाई ग्राहकको हितमा केन्द्रित गराइराखेका छौं । ग्राहकको बचतलाई अधिकतम सदुपयोग गर्दै ग्रिन निक्षेपद्वारा दिगो लगानीलाई प्रवर्द्धन समेत गर्दै आइरहेका छौं ।

बैंकलाई समावेशी पनि बनाउने लक्ष्यका साथ महिला कर्मचारीहरुको व्यवस्थापन तहमा सहभागिता बढाउँदै लैजाने कार्यलाई बैंकले प्राथमिकता दिंदै आएको छ । यस कार्यमा पनि विभागले उनीहरुको क्षमता बृद्धि गराउन मानव संसाधन विभागसंग समन्वय गरेर विभिन्न खालका तालिमका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छौं ।

हामीलाई आजसम्म हामीलाई विश्वास गरी कारोबार गरेर सेवा गर्ने मौका दिनुहुने सम्पूर्ण ग्राहकलाई धन्यवाद दिदै भविष्यमा हाम्रो सेवाको गुणस्तर अझै बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं । हामीलाई बेला बखतमा सल्लाह सुझाव दिनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछु ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.