सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३.६३ प्रतिशतले वृद्धि

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा सामान्य वृद्धि भएको जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिका ६८ करोड ८१ लाख रुपैयाँको तुलनामा ३.६३ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ११.५८ प्रतिशत र कुल आम्दानी २.०६ प्रतिशतले बढेको छ। यस्तै, खुद बीमा दाबी ५.२९ प्रतिशत र कुल खर्च ३.३६ प्रतिशतले घटेको छ ।

नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी पनि ८९ पैसाले बढेर २५ रुपैयाँ ४१ पैसा पुगेको छ । गत असार मसान्तसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात ३३.०७ गुणा र प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ ५६ पैसा रहेको छ ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा २२ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९६ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।

You might also like

Comments are closed.