सुनको मूल्यबढेपछि चाँदीमा लगानीकर्ताको आकर्षण बढ्दो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालमा २२ अर्ब ३४ करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ। उक्त अवधिमा कुल १२ लाख २० हजार ६३२ ग्राम सुन आयात भएको तथ्यांकले देखाएको छ।

उक्त परिमाणको सुन आयात हुँदा सरकारले २ अर्ब २३ करोड ५४ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी सोही अवधिमा २४ अर्ब ९१ लाख ८९ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ। तथ्यांकअनुसार ८ करोड २४ लाख ७ हजार ६८९ ग्राम चाँदी आयात भएको हो। चाँदी आयातबाट सरकारले २ अर्ब ४० करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

व्यवसायीका अनुसार पछिल्लो समय सुनको मूल्य उच्च हुनु र सुनमा लगानीसम्बन्धी विभिन्न प्रतिबन्ध रहनुका कारण धेरै लगानीकर्ता चाँदीतर्फ आकर्षित हुन थालेका छन्।

चाँदीको मूल्यमा भइरहेको तीव्र वृद्धि र आगामी दिनमा अझै बढ्ने अनुमानका कारण पनि यसलाई लगानीको आकर्षक माध्यमका रूपमा हेरिन थालेको व्यवसायी बताउँछन्। उनीहरूका अनुसार अहिले चाँदीको प्रयोग भाँडाकुँडाभन्दा बढी लगानीका लागि ढिक्काको कारोबारका रूपमा हुन थालेको छ। यसले चाँदीको माग र आयात दुवै बढ्दै गएको देखिन्छ।

You might also like

Comments are closed.